नेतृत्वमा महिला, पारदर्शी बने स्थानीय संरचना

पछिल्लो समय सुर्खेतमा महिला नेतृत्व सवल बन्दै गएको छ । कुनैबेला घरायसी काममा मात्र व्यस्त हुने यहाँका महिलाहरू हिजोआज
स्थानीय संरचनाहरूमा नेतृत्व लिन हानथाप गर्न थालेका छन् । महिलाहरूले नेतृत्व सम्हाल्न थालेपछि ती संरचनाहरूमा आर्थिक पारदर्शीता कायम भएको हो ।

स्थानीय संरचनाहरू (विद्यालय, सामुदायिक वन, स्वास्थ्यचौकी, उपभोक्ता समिति र गाउँ परिषद्) को नेतृत्वमा कुनै चासो नदिने महिलाहरू अहिले भने खुला प्रतिस्पर्धा गर्न थालेका छन् । आत्मविश्वास र नेतृत्व लिने साहसका कारण स्थानीय संरचनामा महिलाको सहभागिता बढ्दै गएको छ । जसको कारण विगतमा पुरुषहरूको नेतृत्व हुँदा आर्थिक रूपमा धरासायी बनेका ग्रामीण क्षेत्रका संरचनाहरू पारदर्शी बनेका हुन् । महिलाले नेतृत्व लिन थालेपछि ती संरचनाहरू गतिशील बनेका छन् ।

छिन्चुको भल्लेनी सिँचाइ आयोजनामा गत वर्ष दुई लाख रूपैयाँ बजेट आयो । तर १७ हजार रूपैयाँ खर्चमा नदेखिएपछि स्थानीय महिलाहरूले त्यसको खोजी गरे । त्यसपछि सिँचाइ निर्माण उपभोक्ता समितिमा महिलालाई पनि सहभागी गराइयो र काम सफल भयो । छिन्चु निवासी चम्पाकली वलीलाई कुनैबेला घर बाहेक बाहिरको काम के र कसरी गर्छन् भन्नेसम्म थाहा थिएन । घरबाट श्रीमान्ले उनलाई बाहिर कतै जान समेत दिँदैनथे । उनले भनिन्, ‘पहिला त मेरो श्रीमान्ले कुरा बुझ्नु भएन, गाउँकै दाजुभाइसँग हिँड्दासमेत शंका गर्नु हुन्थ्यो ।’ जब उनी सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) ले सञ्चालन गरेको महिला नेतृत्व विकास परियोजना अन्तर्गत लालीगुराँस सामुदायिक छलफल केन्द्रमा सहभागी भइन्, तब उनको जीवनले नयाँ मोड नै लियो ।

पहिले हरेक काम गर्दा उनलाई श्रीमान्को सहमति माग्नुपर्ने अवस्था थियो । तर अहिले उनी घरको काम सकेर सामाजिक काममा जुट्छिन् । स्थानीय नेराप्राविको व्यवस्थापन समितिको अध्यक्ष, कालीदमार सिँचाइ कुलो आयोजनाको अध्यक्ष र छिन्चु– चिमिरे खानेपानी आयोजनाको कोषाध्यक्षको जिम्मेवारी सम्हालिरहेकी छन् । उनी भन्छिन्, ‘पहिला त मलाई कसैले पत्याएनन्, मेरो मेहेनत र काम देखेपछि अहिले भने सबैले सम्मान गर्छन् ।’ चम्पाकली जस्तै भेरीगंगा नगरपालिका–८ की पवित्रा बराल सामुदायिक छलफल कक्षामा सहभागी भएपछि स्थानीय संरचनामा हिसाब–किताब खोज्न थालेकी छन् । उनी अहिले मध्यवर्ती सामुदायिक वनको उपाध्यक्ष भएर काम गरिरहेकी छन् । उनले भनिन्, ‘हाम्रो गाउँमा पहिला खानेपानीको धारा थिएन, धेरै टाढा पानी लिन जानुपथ्र्याे, अहिले हामी सबै दिदीबहिनी मिलेर गाउँ नजिकै धारा बनाएका छौं ।’

त्यस्तै मैनतडा–४ की ओमकला बुढाले भनिन्, ‘हामी महिला घरको काममा मात्र सीमित हुन्थ्यांै, बाहिर निस्कनु हुँदैन भन्ने लाग्थ्यो ।’ तर अहिले उनी वडा नागरिक मञ्चको संयोजकको रूपमा रहेर काम गरिरहेकी छिन् । त्यति मात्र होइन, उनी चिसापानी खल्दुगैरा सामुदायिक वनको सदस्य तथा जनजाति डोरडोरे खोला खानेपानी निर्माण समितिको अध्यक्ष पनि छिन् । स्थानीय महिलाहरूले गाउँमा मदिरा सेवन गर्न नदिन घरदैलो अभियानसमेत सञ्चालन गरेका छन् । कुनैबेला महिलाले घर बाहिर निस्कनु हुँदैन भन्ने पुरुष पनि हिजोआज महिलाहरूको कामको प्रशंसा गर्न थालेका छन् । महिलाहरूले नेतृत्व गरेका संरचनाहरू आर्थिक रूपमा पारदर्शी र सवल बन्न थालेपछि अहिले पुरुषहरूले समेत महिलाको नेतृत्व स्वीकार गर्न थालेका हुन् ।

पहिला पुरुषहरूको नेतृत्व र निर्णयलाई स्वीकार गर्दै आएका महिलाहरू अहिले भने आफूहरूको निर्णय कार्यान्वयन गराउन थालेका छन् । गाउँमा आउने बजेटको बारेमा समेत चासो दिन थालेका छन् । यसले पुरुषहरूलाई समेत सचेत भएर काम गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । महिलाको सहभागितामा नै पुरुषहरूले हरेक निर्णय गर्न थालेका छन् । छलफल कक्षामा सहभागी भएपछि स्थानीय महिलाहरूले गाउँमा हुने विकृति, बालविवाह, बहुविवाह जस्ता घटनालाईसमेत रोक्न सफल भएका छन् ।