अमरज्योतिका ८४ विद्यार्थीलाई छात्रवृत्ति

सुर्खेत: वीरेन्द्रनगर–१२ मा रहेको अमरज्योति नमुना माध्यमिक विद्यालयले शहिद दिवसको सन्दर्भ पारेर ८४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । अक्षयकोष समितिको निर्णयअनुसार विद्यालयले यस वर्षको छात्रवृत्ति सोमवार औपचारिक कार्यक्रमकाबीच वितरण गरेको हो । अक्षयकोष छात्रवृत्ति वितरण तथा अक्षयकोष दाताहरूको भेला कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले विद्यालयले वार्षिक रूपमा वितरण गर्ने छात्रवृत्तिले विद्यार्थीको पढाइमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरिन् । सोही विद्यालयकी पूर्व विद्यार्थीसमेत रहेकी उनले शिक्षाका लागि लगानी गर्नु प्रशंसनीय कार्य भएको भन्दै अक्षकोषदाताहरूलाई धन्यवाद दिइन् ।

विद्यालयले यो वर्ष एक लाख ७१ हजार बराबरको छात्रवृत्ति कक्षा एकदेखि १२ सम्म छनोट भएका विद्यार्थीलाई वितरण गरेको छ । विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाका अनुसार हालसम्म पाँच सय ४४ विद्यार्थीले विद्यालयले स्थापना गरेको अक्षकोषमार्फत छात्रवृत्ति पाएका छन् । ती विद्यार्थीहरूलाई १० लाख ९८ हजार सात सय रूपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको छ । विद्यालयले चन्दादाताहरूले दिएको रकम अक्षयकोषमा राखी सोहीबाट वार्षिक रूपमा प्राप्त हुने ब्याजबाट छात्रवृत्ति वितरण गर्दै आएको छ । कक्षा एकदेखि पाँचसम्मका छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई एक हजार पाँच सय, कक्षा ६ देखि आठसम्मका विद्यार्थीलाई दुई हजार र कक्षा ९ देखि १२ का विद्यार्थीलाई तीन हजारका दरले छात्रवृति दिने गरिएको छ । जेहेन्दार, टुहुरा, दलित, अपाङ्गता भएका, गरिब तथा अतिविपन्न परिवारका विद्यार्थीलाई पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले छात्रवृत्ति दिँइदै आएको प्रधानाध्यापक थापाले बताए ।

छात्रवृत्ति अक्षयकोषमा २३ जना चन्दादाताले जम्मा गरेको २६ लाख रकम रहेको विद्यालयले जनाएको छ । अमरज्योतिमा अहिले झन्डै तीन हजार विद्यार्थी अध्यनरत छन् । अक्षयकोष बढाएर थप जेहेन्दार तथा विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने लक्ष्य लिइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रसाद पौडेलले बताए । हाल केही विद्यार्थीले छात्रवृत्ति पाए पनि विपन्न, सीमान्तकृत, अनाथ र जेहेन्दार विद्यार्थीको सख्याअनुसार सबैलाई समेट्न नसकिएको बताइएको छ ।

प्रकाशित मितिः   १७ माघ २०७९, मंगलवार ०५:०१