वीरेन्द्रनगरको विकास खर्च निराशाजनक

६ महिनामा १२ प्रतिशत पुँजीगत बजेटमात्रै कार्यान्वयन

सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को यो अवधिसम्म न्यून विकास बजेट कार्यान्वयन गरेको छ । नगरले साउनदेखि पुस मसान्त ६ महिनामा १२ प्रतिशतमात्रै पुँजीगत खर्च गरेको हो । चालु र पुुँजीगत गरी नगरपालिकाले ४० प्रतिशत बजेट कार्यान्वयन गरेको छ । यो वर्षका लागि वीरेन्द्रनगर नगरपालिकाले कूल एक अरब ९४ करोड बजेट विनियोजन गरेको छ । जसमध्ये पुँजीगततर्फ ५० करोड बजेट विनियोजन भएकोमा त्यसको १२ प्रतिशत खर्च भएको हो । नगरले चालुतर्फ एक अरब ४५ करोड बजेट विनियोजन गरेकोमा ६ महिनामा ३८ प्रतिशत खर्च गरेको छ ।

यो अवधिसम्मको तथ्याङ्क हेर्दा वीरेन्द्रनगरको समग्र वित्तीय प्रगति नै कमजोर देखिएको छ । नगरले विकास बजेट खर्चमात्र नभइ राजस्व संकलनमा पनि सुधार गर्न सकेको छैन । यो पालिकामा आन्तरिक आम्दानीको मुख्य स्रोत राजस्व संकलनसमेत निकै कम छ । चालु वर्षमा २८ करोड राजस्व उठाउने लक्ष्य राखेको नगरपालिकाले अहिलेसम्म नौ करोडमात्र संकलन गरेको छ । आर्थिक वर्षको मध्यअवधिसम्म पनि नगरले लक्ष्यको आधाभन्दा निकै कम राजस्व उठाएको हो । पालिकामा वित्तीय क्रियाकलाप न्यून भएकाले अपेक्षित राजस्व संकलन हुन नसकेको नगरपालिकाका लेखा अधिकृत हरिबहादुर क्षेत्रीले बताए । उनका अनुसार राजस्व कम संकलन हुनुमा जग्गा रजिष्ट्रेशन कर नउठ्नु, बाँडफाँट अन्तर्गतको राजस्व प्रदेशबाट प्राप्त नहुनु र तोकिएका लक्ष्यमा राजस्व कम हुनुले अपेक्षित उपलब्धी हासिल नभएको हो ।

प्रकाशित मितिः   १६ माघ २०७९, सोमबार ०५:०१