‘परिणाम देखिनेगरी काम गर्नेछौँ’
सुर्खेत: नेकपा (एमाले)बाट कर्णाली प्रदेश सरकारमा सहभागी नवनियुक्त तीन मन्त्रीले कर्णालीको समग्र विकासमा परिणाम देखिनेगरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटीले शुक्रवार वीरेन्द्रनगरमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनीहरूले अहिले नै धेरै बोल्नुभन्दा काम गरेर देखाउने हुटहुटी रहेको बताएका हुन् । कर्णाली सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले प्रदेशको आन्तरिक आम्दानीको स्रोत कमजोर रहेको भन्दै त्यसलाई बढाउन ठोस योजना बनाएर कार्यान्वयन गरिने बताए । उनले पुँजीगत खर्चको अवस्था निराशाजनक रहेकाले खर्च प्रणालीमा देखिनेगरी सुधार गर्नु आफ्नो प्राथमिकता रहेको दाबी गरे । ‘आम्दानी वृद्धि र खर्च प्रणाली सुधार गर्नैपर्ने अवस्था छ,’ उनले भने, ‘त्यसका लागि विषयगत विज्ञ तथा सरोकारवाला निकायको सुझाव लिइरहेका छौँ, निश्चित कार्ययोजना बनाइ छिटै कार्यान्वयनमा लगिने गरिनेछ ।’ एमाले कर्णाली प्रदेश कमिटी अध्यक्षसमेत रहेका शाहले कर्णाली सरकारले संघीय सरकारबाट अनुदान प्राप्त रकम पनि खर्च गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै वित्तीय प्रगतिका लागि विभिन्न योजना बनाएर अघि बढिने बताएका हुन् ।
सोही कार्यक्रममा धारणा राख्दै सामाजिक विकासमन्त्री टेकराज पछाईले कर्णालीमा भौतिक पूर्वाधार मात्र नभइ सामाजिक विकासमा पनि जोड दिइनुपर्ने बताए । आफूले सामाजिक सुरक्षा, सामाजिक न्याय, समानता, शिक्षा, स्वास्थ्य र रोजगारीका सवालमा प्रदेशवासीले अनुभूति गर्नेगरी काम गर्ने जनाए । मन्त्री पछाईले भने, ‘भर्खरै कार्यभार सम्हालिएको छ, सामाजिक अवस्थाको सुक्ष्मरूपमा अध्ययन गरी ठोस नीति र कार्यक्रमका साथ कामहरू गरिनेछ । उनले प्रदेशका नागरिकले केही समयभित्रै परिवर्तनको अनुभव गर्नेगरी काम गरिने दाबी गरे । यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्लले थोरै बोलेर धेरै काम गर्नुपर्ने बेला आएको बताए । मन्त्री मल्लले कर्णालीको अनेकन विविधताले भरिपूर्ण भएको भन्दै त्यसको समुचित प्रयोग, प्रवद्र्धन र विकासमा आफूले योगदान गर्ने बताए । प्रदेशको जैविक विविधता, पर्यटकीय, ऐतिहासिक र उद्योगीक क्षेत्रको विकास र प्रवद्र्धनका लागि प्रभावकारी योजनाका साथ काम गरिने जिकिर गरे । मन्त्रीहरूले विकास निर्माणका कामहरू तोकिएकै समयमा सम्पन्न नहुँदा नागरिकमा निरासा बढेको भन्दै समयमै आयोजना सम्पन्न गराउनतर्फ आफूहरूको ध्यान केन्द्रित हुनेसमेत बताएका छन् । कर्णालीमा उपलब्ध स्रोत साधनको अधिकतम् उपयोग गरेर नागरिकको जीवनस्तर माथि उकास्न सबैसँग हातेमालो गरिने उनीहरूको भनाइ छ ।
प्रकाशित मितिः १४ माघ २०७९, शनिबार ०५:०२
साझा बिसौनी ।