दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुर्खेत: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुखसहित दुई जनाविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ । अख्तियारले जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन प्रमुख अंगदबहादुर शाही र तत्कालीन स्टोरकिपर गोविन्द खनालविरुद्ध बिहीवार भ्रष्टाचार मुद्दा दायर गरेको हो । सामान नल्याइ मिलेमतोमा फर्जी खरिद तथा दाखिला आदेश तयार गरी बिलमात्र खरिद गरी कार्यालय सञ्चालन बजेट खर्च गरेको भन्दै उनीहरू उपर विशेष अदालतमा मुद्दा दायर गरिएको छ । तत्कालीन कार्यालय प्रमुख शाही र तत्कालीन स्टोरकिपर खनालले फार्मेसीबाट युटुलिटी ग्लोभ्ससमेतका मेडिकल सामग्रीहरू खरिद नै नगरेको अवस्थामा मेडिकल सामग्रीहरू खरिद गरेको तथा झुट्टा बिल भरपाई कागजात तयार गरी भुक्तानी लिनेदिने कार्य गरेको अभियोग–पत्रमा उल्लेख छ ।

कार्यालय प्रमुख शाही र स्टोरकिपर खनालले ८१ हजार एक सय २२ रूपैयाँ भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानबाट खुलेको जनाइएको छ । त्यसका साथै, शाहीले कार्यालयको खर्चबाट खरिद गरेको सात हजार सात सय सात रूपैयाँ बराबर रकमको औषधि आफ्नो व्यक्तिगत प्रयोजनका लागि खरिद गरी भुक्तानीसमेत लिइ सरकारी सम्पत्तिलाई निजी प्रयोगमा लगाइ हानि–नोक्सानी पु¥याएको देखिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । औषधि स्टोर दाखिलासमेत गरेको देखिएकाले स्टोरकिपर गोविन्द खनालविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले अभियोग पत्रमा उल्लेख गरेको छ ।

प्रकाशित मितिः   १३ माघ २०७९, शुक्रबार ०५:०१