हिमाली जिल्लामा हिमपात

जनजीवन कष्टकर, किसान उत्साहित

जुम्ला: कर्णालीका हिमाली जिल्लामा हिउँ पर्न सुरु भएको छ । माघ मध्यान्तरसम्म पनि हिउँ नपर्दा चिन्तित किसान अहिले बाक्लो हिउँ पर्न थालेपछि हर्षित भएका छन् ।

हिमाली जिल्ला जुम्लासहित मुगु, हुम्ला र डोल्पामा वर्षात्सँगै हिमपात भइरहेको छ । जुम्लामा मंगलवार बिहानदेखि हिउँ पर्न थालेको हो । लेकाली भेगमा बाक्लो हिउँजमे पनि बेसीमा हिउँ परिरहेको छ । हिउँ कुरिरहेका कर्णालीका किसान मंगलवार बिहानैदेखि हिउँ पर्दा उत्साहित छन् । जुम्लाका स्याउ किसान सरोज शाही भन्छन्, ‘केही दिन हिउँ निरन्तर आउनुपर्छ, अनिमात्र बालीनाली सप्रिन्छ, उत्पादन बढ्छ । हिउँदे बाली जौँ, गहुँलाई राहत हुनुका साथै बगैँचा व्यवस्थापनमा सहज हुन्छ ।’

हिमपातले विशेषगरी कृषि क्षेत्रलाई राहत पुग्ने कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताए । हिउँ नपरेर बाली सुक्न थालेको थियो । उनले भने, ‘बाली सुक्ने, उत्पादन घट्ने चिन्तामा किसान थिए । अहिलेको हिउँले बाली सप्रिने र स्याउ उत्पादन वृद्धिमा मद्दत पुग्छ ।’

हुम्लामा सोमवार रातिबाट लगातार हिमपात भइरहेको छ । हुम्लामा यो दोस्रो र ठूलो हिमपात हो । जिल्ला भरि नै हिमपात भएपछि हुम्लाका दक्षिणी भेगका केही बस्ती बाहेक पूरै हुम्लाका गाउँ बस्ती नै सेताम्य देखिएका छन् । हिउँ आउने क्रमजारी छ । हिमपातले गर्दा हुम्लाको एक मात्र हवाई यातायात सेवा पनि अवरुद्ध भएको छ । लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको लिमी, यारी, मुचु चालाका स्थानीयलाई कष्टकर बनेको छ भने आवतजावतमा समस्या भएको हुम्लाका नागरिक अगुवा बसन्त रोकायाले बताए । हिमपातसँगै चिसो बढेपछि सरकारी कार्यालयका कर्मचारी आगो तापेर काम गरिरहेका छन् ।

हिमपात हुँदा हिमालपारिको गाउँ लिमीका चौरीसहित अन्य पशु उच्च जोखिममा परेका छन् । हिमपातले वनमा भएको घाँस पुरिँदा गाउँमा घाँसकोे अभाव छ । जसबाट हजार चौरीसहित गाउँका अन्य पशु उच्च जोखिममा परेका हुन् । घाँस अभावले पशु जोगाउन कठिन भएको लिमीका पशुपालक किसानहरूले बताएका छन् । यस वर्ष हिउँले घाँस छोपिएपछि पशु पाल्न कठिन भएको छ । घाँस नहुँदा भएको पशुसमेत जोगाउन धौधौ भएको स्थानीय पशु पालक किसानले बताएका छन् ।

हिमपातसँगै बढेको चिसोले कर्णालीको जनजीवन भने प्रभावित भएको छ । महिला, बालबालिका, दिर्घरोगी, सडक मानव चिसाले प्रभावित भएका हुन् । चिसोले भाइरल ज्वरो आउन सक्ने भएकोले अत्यावश्यक कामबाहेक बाहिर नआउन र झोलिला पर्दाथ खान चिकित्सकको सुझाव छ । हिमपातले कर्णालीका हिमाली जिल्लाको हवाई तथा सडक यातायात पनि ठप्प भएको छ । जुम्ला नेपालगञ्जको उडानसँगै मुगु, हुम्ला र डोल्पाको हवाई उडान ठप्प भएको हो ।

सडक यातायात कर्णाली राजमार्ग, नाग्म–गमगढी सडकको यात्रा पनि रोकिएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले हिमपातपछि राहत उद्धार तथा पुनस्र्थापनाको पूर्वतयारी मजबुद बनाइएको बताए । उनका अनुसार तीनै सुरक्षा निकाय तैनाथ अवस्थामा रहेका छन् ।

प्रकाशित मितिः   ११ माघ २०७९, बुधबार ०५:०४