सार्वजनिक सेवामा ‘टाइम कार्ड’ लागू

सुर्खेत: सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउन ‘टाइम कार्ड’ लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सोमवारदेखि प्रशासनबाट सेवा लिनेहरूका लागि ‘टाइम कार्ड’ उपलब्ध गराउन सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बराहताल–५ की जयकला बलामीलाई पहिलो ‘टाइम कार्ड’ प्रदान गरेर सेवाको प्रारम्भ गरेका हुन् । बलामी नागरिकताको प्रतिलिपि लिन प्रशासन कार्यालय आएकी थिइन् । उनलाई दिइएको ‘टाइम कार्ड’ अनुसार नागरिकताको प्रतिलिपि सेवा एक घण्टाभित्रमा लिन सकिने उल्लेख छ ।

प्रशासनले विभिन्न पाँच वटा शाखामार्फत सम्पादन हुने सेवाको समय निर्धारण गरेर सोहीअनुसार ‘टाइम कार्ड’ दिन थालेको हो । उक्त ‘कार्ड’मा सेवा लिँदा लाग्ने समय तोकिएको छ । प्रशासन कार्यालयले संघ–संस्था नवीकरण, राहदानी, राष्ट्रिय परिचय–पत्र नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि र मुद्दा फाँटबाट प्रदान गरिने सेवाहरूमा ‘टाइम कार्ड’ लागू गरेको हो ।

प्रशासन कार्यालयका अनुसार संस्था नवीकरणका लागि सबै कागजात पुगेको अवस्थामा राजस्व बुझाएपछि ३० मिनेटभित्र काम सम्पन्न हुनेछ । त्यस्तै, नयाँ राहदानी बनाउन एक घण्टा र विभागबाट प्राप्त राहदानी विवरणका लागि १५ मिनेट समय तोकिएको छ । प्रशासनले नागरिकता प्राप्तिका लागि सबै कागजात पुगेको अवस्थामा एक घण्टाभित्र काम सम्पन्न हुने गरी ‘टाइम कार्ड’ वितरण थालेको छ । नाबालिकको परिचयपत्र र सबैखाले सिफारिसहरू एक घण्टाभित्र, हातहतियार नवीकरण ३० मिनेट, पेशी र तारेख दिने काम १५ मिनेटमा हुने जनाइएको छ । सेवाग्राहीले छिटो, सहज र सुलभ तरिकाले सेवा पाउन भन्ने उद्देश्यले ‘टाइम कार्ड’ लागू गरिएको प्रजिअ रिजालले बताए । उनका अनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तलाई सेवा प्रवाहमा प्राथमिकता दिइनेछ ।

प्रकाशित मितिः   १० माघ २०७९, मंगलवार ०५:०२