संघर्ष गर्दै संसद्सम्म
कर्णालीको राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय नाम हो, कल्याणी खड्का । रुकुम–पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ मा सामान्य परिवारमा जन्मिएकी खड्काले जीवनको धेरै समय राजनीति र सामाजिक क्षेत्रमा सुम्पिइन् । राजनीतिमा होस् वा सामाजिक क्षेत्रमा इमान्दारिताका साथ आफ्नो भूमिका निर्वाह गरिन् । विद्यार्थी छँदै राजनीतिमा लागिन्, सामाजिक क्षेत्रमा सक्रिय भइन् ।
राजनीति होस् वा सामाजिक, जुनसुकै क्षेत्रमा काम गर्न महिलालाई सहज छैन । पाइलैपिच्छे चुनौतीका तगारा छिचोल्नुपर्छ । खड्काले पनि यस्ता थुप्रै चुनौती छिचोलेकी छिन् । संघर्ष गरेकी छिन् ।
लुकेर विद्यालय
पाँच बहिनी र दुई दाजुभाइ । परिवार ठूलो थियो तर आर्थिक अवस्था कमजोर । खानलाउनकै समस्या थियो । कल्याणीले सजिलै पढ्ने वातावरणसमेत पाइनन् । दिदी–भाइबहिनीको धरालो थिइन् । कल्याणी गाइ–भैसीको गोठालो बनिन् ।
उनका दाजु भने विद्यालय जान्थे । दाजु विद्यालय गएको देख्दा उनलाई पनि जान मन लाग्थ्यो । तर घरपरिवारले पढ्न पठाएनन् । कल्याणी हरेक दिन गोठालो जान्थिन् । पढ्ने हुट्हुटीले गोठाला गएकै बेला भागेर विद्यालय जान थालिन् । १३ वर्षको हुँदा पहिलो पटक विद्यालय गएकी थिइन् । त्यसअघि घरमै हुँदा अक्षर चिन्न थालिसकेकी थिइन् ।
कल्याणी भागेर विद्यालय जान थालेपछि गोठालो गरिदिने अर्को मान्छे भएन । दाजुले विद्यालय गएकी भनेर कुटे । ‘तर त्यो दिन कुटाई खाएको भन्दा पनि विद्यालय जान पाएकोमा एकदम खुसी थिएँ’ उनी सम्झिन्छिन् ।
पछि उनी कक्षा ५ मा भर्ना भइन् । घरमै पनि अक्षर चिन्न सिकिसकेको देखेर शिक्षकहरूले सिधै ५ कक्षामा भर्ना गरिदिए । बिहान र साँझ घरको काम सकेर दिउँसो विद्यालय जान थालिन् । आफ्नो भागमा परेको काम सकेपछि मात्रै पढ्ने समय हुन्थ्यो ।
उनले २०५७ सालमा एसएलसी उत्तीर्ण गरिन् । परिवारको कमजोर आर्थिक अवस्थाका कारण पढाइ बिचमै रोक्नु प¥यो । उनकै कारण भाइबहिनीले पनि पढ्ने अवसर पाए ।
केही समय शिक्षण पेसा पनि गरिन् । २०६८ सालमा आएर मात्र उनले स्नात्तक तह उत्तीर्ण गरिन् । अहिले उनी महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा एलएलबी अध्ययनरत छिन् ।
विद्यार्थी छँदै राजनीति
विद्यार्थीकालदेखि नै उनी राजनीतिमा लागिन् । कक्षा पाँचमा पढ्दै गर्दा अनेरास्वयूको प्रारम्भिक कमिटीको अध्यक्ष भएकी थिइन् । अन्यायविरुद्ध लड्नुपर्छ भन्ने उनको स्वभाव थियो । कसैमाथि अन्याय भएको देखे त्यसविरुद्ध बोलिहाल्थिन् । उनी विद्यालय गएपछि साथीहरू पनि ढुक्क हुन्थे । कक्षाको मनिटरको समेत जिम्मेवारी उनलाई नै दिइन्थ्यो ।
२०४९ सालदेखि उनी राजनीतिमा सक्रिय छिन् । कोटजाहार निम्न माध्यमिक विद्यालयमा अनेरास्वयूको प्रारम्भिक कमिटीको अध्यक्ष भइन् । २०५१ सालमा अनेमसंघको सदस्य । २०५३ मा युवासंघको कोषाध्यक्ष भइन् । जनसाँस्कृतिक महासंघको कोषाध्यक्ष भइन् । २०५८ सालमा अनेमसंघको सचिव, उपाध्यक्ष हुँदै जिल्ला अध्यक्ष भइन् । पार्टीतर्फ टोल कमिटीको अध्यक्ष, वडा कमिटीको अध्यक्ष, गाउँ कमिटीको अध्यक्ष हुँदै इकाकाको संयोजक, क्षेत्रीय कमिटीको सदस्य हुँदै जिल्ला कमिटीको सदस्य भइन् । नेकपा (एमाले)ले विभाजनपछि उनी एकिकृत समाजवादीमा लागिन् । अहिले उनी पार्टीको जिल्ला उपाध्यक्ष छिन् ।
राजनीतिमा आउन उनले परिवारको ठूलो साथ पाइन् । उनका दाइले राजनीतिमा आउन प्रोत्साहन गरे । उनका बुबा नेपाली कांग्रेसका कार्यकर्ता थिए । ‘बुवा कांग्रेस निकट हुनुहुन्थ्यो, दाइ र म एमाले थियौँ । चुनावमा बुवा उठ्दासमेत हामीले भोट हालेनौँ । राजनीतिमा लाग्न दाइको ठूलो योगदान छ ।’
उनको अनुभवमा राजनीति गर्ने कुरा सहज छैन । अझ महिलालाई । पुरातन सोच, मान्छेपिच्छेका फरक–फरक दृष्टिकोणले सहज नभए पनि सहजता आफै गराउनुपर्नेमा भने उनी जोड दिन्छिन् । ‘राजनीति गर्न हिजो पनि सहज थिएन । आज पनि छैन र भोलि पनि हुँदैन । सहजता हामी आफैले गराउने हो । पुरातन सोच र मान्छेपिच्छे दृष्टिकोण हुन्छन् । त्यो दृष्टिकोणलाई सकारात्मकतर्फ लैजाने वातावरण बनाउनुपर्छ’ उनी भन्छिन् ।
कर्णालीमा महिलाको अवस्था सोचेअनुसार नफेरिए पनि केही फरक भएको कल्याणी बताउँछिन् । स्थानीय तहदेखि संसद्सम्म महिलाहरू पुगेका छन् । यसले सकारात्मक संकेत दिएको छ । तर नेतृत्व तहमा महिलालाई पु¥याउन अझै जोड दिनुपर्नेमा उनको मत छ ।
सामाजिक अभियानदेखि संसद्सम्म
उनले सामाजिक र राजनीतिक क्षेत्रमा रहेर समाज परिवर्तन, रूपमान्तरण र विकासमा लामो समय बिताइन् । विद्यालय पढ्न थालेपछि सामाजिक कामहरू पनि सुरु गरिन् । त्यतिबेला गाउँगाउँमा मदिरा बिक्री–वितरणमा रोक लगाउन अभियान चलाएर हिँडिन् । कर्णालीमा अझै पनि महिलामाथि हुने हिंसा मदिरा र यहाँको कुसंस्कारका कारण हुने गरेको उनको बुझाइ छ । जसले गर्दा वर्षौंदेखि महिला उत्पीडनमा पर्दै आएका छन् । उनले द्वन्द्वकालमा यौन हिंसामा परेका महिलाहरूको क्षेत्रमा न्याय सम्वादाताको रूपमा रहेर काम गरिन् । पछि परेको वर्गको उत्थानका लागि काम गरिन् ।
खड्का सिँचाइ महासंघको केन्द्रीय सदस्य, पोखरा सामुदायिक वनको अध्यक्ष, पुष्पाञ्जली बहुउद्देश्यीय सहकारीको अध्यक्ष, महिला मानव अधिकार रक्षक सञ्जालमा भएर काम गरिन् । उनी यसअघि रुकुम–पश्चिमको जिल्ला समन्वय समितिको उपाध्यक्ष पनि हुन् । यसरी विभिन्न क्षेत्रको नेतृत्व गर्दै आएकी खड्का यसपटक कर्णाली प्रदेश संसद्मा पुगेकी छिन् । नेकपा(एकीकृत समाजवादी)ले उनलाई समानुपातिकतर्फबाट सांसद बनाएको छ ।
पहिलो पटक प्रदेश सभामा निर्वाचित भएकी खड्का प्रदेशसभा भवन आउँदै गर्दा गर्वको महशुस भएको सुनाउँछिन् । उनी भन्छिन्, ‘मैले समाजमा रहेर धेरै काम गरेँ । गहन जिम्मेवारीसहित जनताको आवाज बनेर प्रदेश सभामा आएकी छु ।’
प्रकाशित मितिः ७ माघ २०७९, शनिबार ०५:०६
मुना हमाल ।