मुख्यमन्त्री शर्मालाई विश्वासको मत

मत विभाजनमा सहभागि ३९ जना प्रदेशसभा सदस्यमध्ये मुख्यमन्त्री शर्माको पक्षमा २५ मत र विपक्षमा १४ मत परेको छ ।

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रवार बसेको प्रदेशसभाको बैठकबाट शर्माले विश्वासको मत आर्जन गरेका हुन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार शर्माले विश्वासको मत लिएका छन् । उनी चार दलको समर्थनमा पुस २७ गते कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

विश्वासको मतको प्रस्तावमा गरिएको मत विभाजनमा सहभागी ३९ जना प्रदेशसभा सदस्यमध्ये मुख्यमन्त्री शर्माको पक्षमा २५ मत र विपक्षमा १४ मत परेको थियो । सभामुख नन्दा गुरुङले मतविभाजन प्रक्रियामा सहभागी ३९ सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा बहुमत सांसदले समर्थन गरेकाले उक्त प्रस्ताव पारित भएको घोषणा गरेकी थिइन् । ४० सदस्यीय कर्णाली प्रदेशसभामा पाँच दलको प्रतिनिधित्व छ । शर्मालाई नेपाली कांग्रेसबाहेक चार दल र एक स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका छन् । शर्मालाई उनको दल नेकपा (माओवादी केन्द्र) नेकपा ‐एमाले), नेकपा ‐एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहेको हो । उनले स्वतन्त्र प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीको पनि विश्वासको मत पाएका छन् । प्रदेशसभामा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १० र राष्ट्रिय प्रजातन्त्र पार्टी तथा एकीकृत समाजवादीका एक–एक जना सांसद छन् । मुख्यमन्त्री शर्मालाई सत्ता गठबन्धनका २४ र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुुन् । मुख्यमन्त्रीले संविधानको धारा १६८ (४) बमोजिम प्रदेशसभामा विश्वासको मत मागेका थिए । कांग्रेस भने शर्मा नेतृत्वको सरकारलाई संकटमा साथ दिने बाचा गर्दै प्रतिपक्षमा बसेको छ । विश्वासको मत प्राप्त गरेसँगै अब मुख्यमन्त्री शर्माविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने संवैधानिक प्रावधान छ ।
मुख्यमन्त्री शर्माले विश्वासको मत आर्जन गरेपछि संसद्लाई सम्बोधन गर्दै प्रतिवर्ष १० हजार जनालाई रोजगारी दिने, तुइन विस्थापन गर्ने र सामाजिक आर्थिक सूचकाङ्कहरूमा सुधार गरी समृद्ध कर्णाली बनाउने प्रतिवद्धता जनाए । उनले यसका लागि सिँगो संसद्को साथ र समर्थन आवश्यक पर्ने बताए । शर्माले कतिपय अधिकारहरू प्रदेशमा हस्तान्तर नहुनुले व्यवस्थापकीय पक्षमा चुनौती हुनसक्ने भन्दै जनअपेक्षाअनुसार विकासको गति अगाडि बढ्न आफूले समन्वय र सहकार्यमा जोड दिने बताए । दीर्घकालीन सोच र योजनाका साथ कर्णाली समृद्धिको अभियान सुरु गरिने उनको दाबी छ ।

मुख्यमन्त्री शर्माको प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रतिपक्षी दल कांगे्रसका नेता जीवनबहादुर शाहीले आफूलाई मत हाल्ने मन भएपनि सत्ता गठबन्धनसँग पर्याप्त बहुमत रहेकाले प्रतिपक्षमा बस्ने बाध्यता भएको बताए । नेता शाहीले भने, ‘सरकारलाई विश्वासको संकट आइलागे आगामी दिनमा मत दिन तयार छौँ, अहिले सरकारलाई बहुमत ठिक्क छ, योभन्दा बढी भए गिलासबाट पानी पोखिएजस्तै होला ।’ कर्णालीका निवर्तमान मुख्यमन्त्रीसमेत रहेका शाहीले सरकारलाई सधैँ रचनात्मक सुझाव दिने बताए । उनले कर्णालीको गरिबी हटाउन प्रतिपक्षमा रहेर सरकारलाई हरपल सहयोग गर्ने प्रतिवद्धता जनाए । प्रदेश सरकार गठन र विस्तारमा केन्द्रकै मुख ताक्ने परिपाटीले संघीयता बलियो नहुने उनको टिप्पणी थियो ।

त्यस्तै, एमाले संसदीय दलका नेता यामलाल कँडेलले यतिबेला कर्णाली प्रदेश बनाउने अभिभारा प्रमुख रहेको बताए । उनले संसद् र सरकार कर्णाली समृद्ध बनाउनतर्फ लाग्नुपर्ने जनाए । विश्वासको मत दिएपछि उनले मुख्यमन्त्री शर्मालाई लक्षित गर्दै भने, ‘अहिले कर्णाली प्रदेश बनाउने प्रमुख अभिभारा हो, बनाउने कुरा हो भने सहयोग पाइन्छ, आफू बन्ने कुरातिर मात्रै नलाग्नु होला ।’ नेता कँडेलले सबै दलका फरक–फरक भूमिका भएपनि कर्णालीलाई समृद्ध बनाउने सवालमा एकतावद्ध हुनुपर्ने औंल्याए । मुख्यमन्त्रीलाई फोटो टाँस्नमा सीमित नभइ केही गरेर देखाउन उनको आग्रह छ । ‘यसका लागि सरकारले प्राथमिकताको छनोट गरी नीति तथा कार्यक्रम तय गरोस्,’ कँडेलले भने ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य बिन्दमान विष्टले कर्णालीको विकास र समृद्धिका लागि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले खासगरी संघीयता कर्णालीलाई चाहिएको बताउँदै प्रदेश संरचनालाई बलियो बनाउन सबै लाग्नुपर्ने बताए । ‘प्रादेशिक संरचना चाहिएको कर्णालीलाई हो, संघले प्रदेशलाई हेर्ने फरक दृष्टिकोणहरू छन्,’ उनले भने, ‘संविधानमा लेखिएका अधिकार पनि कार्यान्वयन गर्न नपाइएको अवस्था छ ।’ एकीकृत समाजवादीकी प्रदेशसभा सदस्य कल्याणी खड्काले कर्णालीको विकास र समृद्धिका लागि एकता हुन आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘रोग, भोग, शोक र हरेक दृष्टिकोणले पछि परेको कर्णालीको विकासका लागि एकजुट हुनुको विकल्प छैन ।’ सबैले सहकार्य गरेर अघि बढेमात्रै प्रदेशको विकास र समृद्धि सम्भव हुने उनको भनाइ थियो । स्वतन्त्र प्रदेशसभा सदस्य शाहीले कर्णालीको विकास र समृद्धिका लागि मुख्यमन्त्री शर्मालाई आफूले विश्वासको मत दिएको जनाए । कर्णाली बनाउनका लागि मुख्यमन्त्री सही कालिगढ बन्न आवश्यक रहेको उनले बताए ।

प्रकाशित मितिः   ७ माघ २०७९, शनिबार ०५:०९