फोहोर विसर्जनमा हेलचक्य्राइँ गरेको आरोप

सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाले फोहोर व्यवस्थापनमा हेलचक्य्राइँ गरेको आरोप लागेको छ । नगर क्षेत्रबाट संकलित फोहोरको उचित व्यवस्थापन नगर्दा छिमेकी पालिका बराहतालमा असर परेको बताइएको हो । वीरेन्द्रनगरले वडा नं. १ स्थित तारेभिर नजिकै फोहोर बिर्सजन गर्दै आएको छ । उक्त ठाउँ बराहताल वडा नंं. १० को पूर्व सीमानासँग जोडिएको छ । बस्ती नजिकै फोहोर जलाउँदा स्थानीयको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै विरोध भएको छ । फोहोर व्यवस्थापनमा ध्यान नदिँदा दुई पालिकाबीच लामो समयदेखि द्वन्द्व छ ।

प्रभावित क्षेत्र बराहताल–१० का वडा अध्यक्ष हरिलाल सलामीले वीरेन्द्रनगरको फोहोर आफूहरूको क्षेत्रमा जथाभावी फाल्ने गर्दा स्थानीयवासीको जनस्वास्थ्यमा असर परेको बताए । उनी भन्छन्, ‘फोहोर व्यवस्थापनका सवालमा पटक–पटक सचेत गराउँदा पनि वीरेन्द्रनगरका जनप्रतिनिधिले दम्ब देखाए, स्थानीय प्रशासनको समेत धेरै पटक ध्यानाकर्षण गरिसकियो, तर कतैबाट पनि यसलाई गम्भीरतापूर्वक लिइएन ।’ वीरेन्द्रनगर नगरपालिकाले हेपाह प्रवृत्ति देखाएकाले अब नागरिकहरूले आन्दोलन गर्नुबाहेकको विकल्प नरहेको उनी बताउँछन् ।

वीरेन्द्रनगर नगरपालिका फोहोर व्यवस्थापन गर्नुभन्दा पहुुँमार्ग निर्माणमा लागेको भन्दै पुलामीले आक्रोश पोखे । स्वास्थ्यलाई ध्यान दिनुपर्ने बेला बाटो निर्माण गरेर जनस्वास्थ्यजस्तो गम्भीर विषयलाई विकाससँग साट्न खोजिएको उनको आरोप छ । वीरेन्द्रनगर–१ को पश्चिम र बराहताल–१० को पूर्व सीमाना सटेको छ । वीरेन्द्रनगरको फोहोर लिएर बराहतालको क्षेत्रमा फाल्ने गरिएको आरोप लगाइँदै आएको छ । अर्काको भूमिमा विना अनुमति फोहोर फालिरहेको वीरेन्द्रनगरले यो विषयलाई गम्भीर रूपमा नलिएको वडा अध्यक्ष सलामीको भनाइ छ । बराहताल–१० का स्थानीय यामबहादुर पुलामीले वीरेन्द्रनगर नगरपालिकाले नागरिकको स्वास्थ्यमा खेलवाड गरेको भन्दै समस्या समाधानमा तत्काल ध्यान नदिए आफूहरू आन्दोलित हुने बताए । उनले भने, ‘बेला–बेला यो विषयमा जिल्ला प्रशासन र नगरपालिकाको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ भएन, जथाभावी फोहोर फाल्दा हिँड्डूल गर्नसमेत निकै सास्ती भइरहेको छ ।’

मनपरी ढङ्गले फोहोर फाल्दा आफ्नो क्षेत्र प्रभावित भएको भन्दै बराहताल गाउँपालिकाको वडा नं. १० वासीले आपत्ती जनाएका हुन् । वीरेन्द्रनगरले फोहोर फाल्ने गरेको आधा भू–भाग आफ्नो क्षेत्रमा पर्ने बराहतालको दाबी छ । सहमति र सहकार्यविना मनपरी फोहोर फाल्ने र जलाउने गर्दा ठाउँ नै प्रदुषित भइरहेको उनीहरूले बताएका छन् । उक्त स्थानमा दैनिक रूपमा प्लाष्टिकजन्य फोहोर जलाउँदा त्यसको धँुुवाले नजिकैका बस्तीहरूमा असर पर्ने गरेको हो । फोहोर व्यवस्थापनमा ध्यान नदिँदा जंगलका बोट विरुवासमेत मासिएको स्थानीयको आरोप छ । बराहतालको सिमलचौर, पाती, धुम्के, फौजापानी लगायतका क्षेत्र फोहोरका कारण बढी प्रभावित भएको बताइएको छ । आफ्नो जमिनमा जथाभावी फोहोर नफाल्न त्यहाँका स्थानीयले वीरेन्द्रनगर नगरपालिकालाई आग्रह गर्दै आएका छन् ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले फोहोर विसर्जन भइरहेको ठाउँ वीरेन्द्रनगरको क्षेत्राअधिकारभित्र पर्ने भएकोले छलफलबाट विवाद सुल्झाउन समन्वय गरिएको बताए । ‘फोहोर विर्सजन अव्यवस्थित भएको कुरा आएको थियो, वीरेन्द्रनगरलाई यसबारे हेरफेर गर्न सुझाइएको छ,’ उनले भने । बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले एउटा पालिकाको फोहोर अर्को पालिकामा गैरजिम्मेवार तरिकाले छरपष्ट फालिँदा नैतिकताको प्रश्न उब्जिएको जनाए । उनी भन्छन्, ‘हाम्रो क्षेत्रमा फोहोर नफाल्न धेरै पटक आग्रह गर्दा पनि वीरेन्दनगर नगरपालिकाले बेवास्ता गरेको छ, जसले गर्दा स्थानीयको स्वास्थ्यमा असर परिरहेको छ ।’ छलफल र संवादका माध्यमबाट प्रक्रियागत रूपमा समस्या समाधानतर्फ आफूले पहल थालेको भण्डारीले बताए । वनक्षेत्रमा पर्ने उक्त ठाउँको सीमासमेत यकिन नभएकाले नापजाँच गर्नुपर्ने देखिएको उनको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले फोहोर व्यवस्थापनमा आफूहरू गम्भीर रहेको दाबी गरे । अहिले देखिएको समस्या सुल्झाउन प्रक्रियागत रूपमा काम नगरिने उनको बताए । दिशाजन्य फोहोरको उचित व्यवस्थापन भइरहेको र वातावरण दूषित भएको कुरालाई ध्यानमा राखी प्लाष्टिकजन्य फोहोर जलाउन बन्देज गरिएको नगरपालिकाको दाबी छ । वीन्द्रनगरले दिशाजन्य लेदो प्रशोधनका लागि ल्याण्डफिल साइटमा फाल्ने गरेको जनाएको छ । पहिलेको भन्दा फोहोर व्यवस्थापन प्रभावकारी बन्दै गएको नगरपालिकाको जिकिर छ ।

प्रकाशित मितिः   ६ माघ २०७९, शुक्रबार ०५:०१