जसले हाँक्नेछन् संसद्
सुर्खेत: कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालका लागि सभामुख र उपसभामुख दुवै पदमा महिला चयन भएका छन् । सभामुखमा सुर्खेतकी नन्दा गुरुङ र उपसभामुखमा कालीकोेटकी यशोदा न्यौपाने चुनिएका हुन् । समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेशसभामा प्रवेश पाएका यी दुवैले आगामी पाँच वर्ष कर्णालीको संसद् हाँक्नेछन् । सभामुख र उपसभामुख दुवै पदको जिम्मेवारी महिलाको काँधमा आएको हो । यसले समावेशीताको सकारात्मक सन्देश प्रवाह भएको बताइएको छ ।
कर्णालीले सभामुख र उपसभामुख महिला मात्रै पाएको छैन प्रदेशसभाको इतिहासमै नयाँ ‘रेकर्ड’ पनि कायम गरेको छ । सभामुख गुरुङ प्रदेशसभामा सभामुख बन्ने पहिलो महिलासमेत भएकी छिन् । अघिल्लो कार्यकालमा सातवटै प्रदेशमा पुरुष सभामुख थिए । कर्णालीले अर्को ‘रेकर्ड’ पनि बनाउने सम्भावना बलियो छ, सम्भवतः सभामुख र उपसभामुख दुवै पदमा महिला चयन हुने प्रदेश पनि कर्णाली नै हुनेछ । प्रदेशसभाको गएको कार्यकालमा सबैजसो प्रदेशमा महिलालाई उपसभामुखमा मात्रै सीमित गरिएको थियो । यसपटक पनि अन्य प्रदेशमा त्यही अभ्यासको पुनरावृत्ति भएको देखिन्छ ।
सत्तारुढ गठबन्धनमा कर्णालीको सभामुख नेकपा (एमाले) र उपसभामुख नेकपा (माओवादी केन्द्र) ले लिने सहमति थियो । सोही समझदारीमा टेकेर एमालेले सभामुखका लागि महिलालाई अघि बढायो भने माओवादीले पनि उपसभामुखमा महिलालाई नै अगाडि सा¥यो । दुवै दलले सभामुख र उपसभामुखमा महिलालाई सिफारिस गरेपछि गुरुङ र न्यौपानेलाई संसद्को नेतृत्वमा पुग्न सहज भएको हो । यहाँका सत्तारुढ दलले महिला प्रतिनिधित्वको सवालमा खेलेको सकारात्मक भूमिकाले समावेशी अभ्यासमा कर्णालीलाई नै अब्बल रूपमा चिनाउने वातावरण बनेको राजनीतिक क्षेत्रका जानकारहरू बताउँछन् ।
राजनीतिक पृष्ठभूमि लामो भएता पनि सभामुख र उपसभामुखको जिम्मेवारी सम्हालेका दुवै जना संसद्का लागि भने नयाँ अनुहार हुन् । पहिलो पटक संसद् छिरेका गुरुङ र न्यौपानेले सुरुमै महŒवपूर्ण जिम्मेवारी प्राप्त गरेका हुन् । उनीहरूले संविधानले दिएको भूमिका र जिम्मेवारीमा रहेर प्रदेशसभामा सबैको साझा बन्ने प्रतिबद्धता जनाइसकेका छन् । सभामुख बनेकी गुरुङले एमाले र न्यौपानेले माओवादी केन्द्रबाट संसद्मा प्रतिनिधित्व गरेकी थिइन् । अब भने उनीहरू संसद्मा तटस्थ भूमिकामा रहनुपर्ने छ । गुरुङ आइतवार कर्णाली प्रदेशसभाको सभामुख चयन भएकी हुन भने न्यौपाने बुधवार उपसभामुखमा चुनिएकी छिन् । सत्तारुढ गठबन्धनकी उम्मेदवार दुवैले समान २४ मत प्रात गरेका छन् ।
४० सदस्यीय प्रदेशसभामा सभामुख र उपसभामुखको मत विभाजनमा ३८ सांसद् सहभागी थिए । प्रतिपक्षी दल कांग्रेसले सभामुखमा पुरुष र उपसभामुखमा महिला उम्मेदवारलाई अघि बढाएको थियो । कांग्रेसबाट सभामुखका उम्मेदवार खड्गबहादुर पोख्रेल र उपसभामुखका उम्मेदवार इन्द्राकुमारी शाहीले समान १४ मत पाएका थिए । प्रदेशसभामा सत्तारुढ गठबन्धनसँग २५ सांसद छन् । प्रदेशसभामा कांग्रेसका १४ र स्वतन्त्र एक जना सांसद छन् । कर्णालीको हालको सत्ता गठबन्धनमा माओवादी केन्द्र, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) छन् । एक मात्र सांसद रहेको समाजवादीले भने गठबन्धनकै उम्मेदवार भएपनि सभामुखलाई मत दिएन । उपसभामुखलाई भने समाजवादीले पनि मत दिएको छ । कर्णाली प्रदेशसभामा पाँच दलको प्रतिनिधित्व रहेको छ । सत्ता गठबन्धनका दलमध्ये माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक जना सांसद छन् ।
संसद्को नेतृत्वमा महिला आएपछि यसलाई राजनीतिक तथा महिला आन्दोलनकै उपलब्धिका रूपमा चर्चा गरिएको छ । राज्यका हरेक निकायमा महिलालाई दोस्रो तहको पदमा सीमित गरिने प्रवृत्तिमा ‘ब्रेक’ लागेको अधिकारकर्मीहरूको भनाइ छ । एमाले सुर्खेतकी नेतृ एवम् अधिकारकर्मी टीका विष्टले महिला सभामुख चयन भएपछि यसलाई विगतको प्रवृत्तिको परिवर्तित अंशका रूपमा लिइएको टिप्पणी गरेकी छिन् । संसद्को नेतृत्व नै महिलाले गर्ने भएपछि महिला सांसदहरू पनि निकै उत्साहित छन् । उनीहरूले कर्णाली प्रदेशसभामा ऐतिहासिक निर्णय भएको प्रतिक्रिया दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सन्तोषी शाहीले संसद्को नेतृत्वदायि भूमिकामा महिला आउँदा आफूहरूलाई काम गर्ने हौसला मिलेको बताएकी छिन् ।
कर्णाली प्रदेशसभाको सभामुख बनेकी गुरुङ संसद्मा नौलो भएपनि राजनीति र सामाजिक क्षेत्रमा लामो अनुभव संगालेकी व्यक्ति हुन् । २०४८ सालदेखि सक्रिय राजनीतिमा होमिएकी गुरुङले पार्टीका सबैजसो कमिटीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेकी छन् । महिला आन्दोलन र अधिकारका क्षेत्रमा समेत उनको लामो अनुभव छ । वडा सदस्यदेखि संसद्को नेतृत्व गर्ने ठाउँसम्म आइपुगेकी गुरुङले सभामुखको भूमिका प्राप्त भएकाले यसलाई निस्पक्ष र समन्वयकारी रूपमा निभाउने प्रतिबद्धता जनाएकी छिन् । उनी हाल एमालेको कर्णाली प्रदेश कमिटी सदस्यसमेत छिन् ।
उपसभामुख न्यौपाने २०५५ सालबाट विद्यार्थी राजनीति हुँदै मूलधारको राजनीतिमा लागेकी हुन् । माओवादी केन्द्रबाट राजनीतिमा अघि बढेकी उनले महिला संगठनदेखि पार्टीको केन्द्रीय तहसम्म विभिन्न जिम्मेवारी सम्हालिसकेकी छिन् । न्यौपाने हाल माओवादी केन्द्रकी केन्द्रीय कमिटी सदस्यसमेत हुन् । बुधवार निर्वाचित भएलगत्तै उपसभामुखको कार्यभार सम्हालेकी न्यौपानेले आफूलाई ऐतिहासिक जिम्मेवारी प्राप्त भएको प्रतिक्रिया दिइन् । उनले आफूले पाएको जिम्मेवारीलाई संविधानले दिएको क्षेत्राधिकार र भूमिकामा रहेर सक्रियता पूर्वक निभाउने जनाएकी छिन् । सबै दल र सांसदहरूसँग सहकार्य गरेर संसद्मा सन्तुलित रूपमा काम गर्ने उनको भनाइ छ ।
प्रकाशित मितिः ५ माघ २०७९, बिहीबार ०५:०५
साझा बिसौनी ।