निर्माण व्यवसायीद्वारा सरकारलाई ध्यानाकर्षण

सुर्खेत: नदी तथा खानीजन्य सामग्रीको उत्खनन्मा देखिएको समस्या समाधान गर्न नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै समाजले विगतदेखि नै पटक–पटक समस्या उत्पन्न हुँदा निर्माण क्षेत्र नै आक्रान्त बनेको जनाएको छ ।

निर्माण उद्योगका लागि अति आवश्यक कच्चा पदार्थ गिट्टी, बालुवा, ढुङ्गा, माटोलगायतका निर्माण सामग्रीहरू उत्खनन्, ओसारपसारमा देखिएका समस्याको दीर्घकालिन समाधान खोज्नसमेत सरकारसँग आह्वान गरिएको छ । ‘विभिन्न शक्ति केन्द्रहरूको आडमा निश्चित समूह विशेषले मात्र यस्ता खानीहरू सञ्चालन गर्दै आइरहेका छन्’ विज्ञप्तिमा लेखिएको छ, ‘जसले गर्दा यी उद्योगहरूको वैज्ञानिक तथा व्यवहारिक समस्या समाधान हुन सकेको छैन ।’

निर्माण सामग्रीहरूको कृत्रिम अभाव र कालोबजारी हुँदा उपभोक्ताहरू पनि मारमा परेका छन् । राज्यले क्रसर उद्योगहरूको नियमन नगर्दा निर्माण सामग्रीहरू उत्खनन, उत्पादन र ओसारपसारमै गम्भीर समस्या आएको जनाइएको छ । यसको असर राष्ट्रिय गौरवका आयोजना लगायत सम्पूर्ण निर्माण कार्यहरूमा परेको विज्ञप्तिमा उल्लेख छ । ‘निर्माण उद्योग प्रतिकूल रहेका सबै खाले समस्या तत्काल अन्त्य गरी निर्वाध रुपमा निर्माण व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन यस संघ नेपाल सरकारलगायतका सम्बन्धित सबै निकाय समक्ष जोडदार माग गर्दछ’ अध्यक्ष पदमबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मितिः   ५ माघ २०७९, बिहीबार ०५:०१