कर्णाली पहिलो खेलमै पराजित

सुर्खेत: प्रधानमन्त्रीकप राष्ट्रिय टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा कर्णालीले खराब सुरुवात गरेको छ । पहिलो खेलमै पराजित भएको छ ।

शनिवार लुम्बिनी प्रदेशसँग ९८ रनले पराजित हुन पुगेको हो । लुम्बिनीले दिएको एक सय ४८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णाली १८ ओभर एकबलमा अलआउट हुँदै ४९ रनमा समेटियो । कर्णालीका यमुना थारुले १३ रन जोडिन । किरण कुवँरले १० रन जोडिन भने अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् । कर्णालीका ६ खेलाडी सुन्य रनमा पेभेलियन फर्किएका थिए । लुम्बिनीका कृतिका मरासिनी र मधु डिसीले ३÷३ विकेट हातपारिन् । सुस्मिता भुसालले २ विकेट लिइन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४७ रन जोडेको थियो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३३ रन जोडिन । सरस्वती पुनले अविजित ३० रन बनाइन् । आश्मा पुलामी मगरले १४ रन जोड्दा रन्जु श्रेष्ठले १० रन जोडिन् । कर्णालीका यमुना थारु र बिना थापाले २÷२ विकेट हात पारिन् ।

प्रकाशित मितिः   १ माघ २०७९, आईतवार ०५:०१