सुविधा उपभोग गर्न नपाएको ज्येष्ठ नागरिकको गुनासो
सुर्खेत: जाजरकोटको भेरी नगरपालिका–३ का खड्कबहादुर केसी ७५ वर्षका भए । उनलाई सरकारले आफूजस्तै ज्येष्ठ नागरिकलाई राज्यले के–के सुविधा दिएको छ भन्नेबारे जानकारीसमेत छैन । राज्यबाट पाउने सुविधाबारे बेखबर हुँदा उनी थुप्रै सेवा लिनबाट वञ्चित छन् । सरकारले दिएको सामाजिक सुरक्षा सुविधामध्ये वृद्धभत्तामात्रै बुझ्दै आएका केसी त्यही लिन पनि निकै सास्ती हुने गरेको बताउँछन् । ‘शारीरिक अवस्था कमजोर छ, भत्ता बुझ्न जाँदा अरु सरह लाइनमा उभिनुपर्छ,’ उनले भने, ‘एउटै बैकबाट भत्ता वितरण गर्दा हामीजस्ता अशक्त ज्येष्ठ नागरिकलाई निकै सकस भएको छ ।’ बुढेशकालमा घरपरिवार र समाजबाट अपहेलित हुनुुपरेको तथा आफूले राज्यबाट पाउनुुपर्ने सबै सेवासमेत नपाएको उनको गुनासो छ । सार्वजनिक स्थलहरूमा ज्येष्ठ नागरिकमैत्री संरचना नहुँदा पनि समस्या झेल्नु परेको केसीले बताए । उनी भन्छन्, ‘हामीले स्थानीय सरकारसँग यो विषयमा धेरैपटक माग गर्दा सुनुवाइ भएन, अहिलेसम्म पालिकाले ज्येष्ठ नागरिक सेवा केन्द्र पनि स्थापना गरेको छैन ।’ सामाजिक सुरक्षा भत्ता वितरण सहज र स्वास्थ्य तथा यातायातका क्षेत्रमा सरकारले दिएको सहुलियत पूर्णरूपमा उपभोग गर्न पाउनुपर्ने उनको भनाइ छ ।
जुम्लाको चन्दनाथ नगरपालिका–१० का तुलाराम न्यौपाने पनि ज्येष्ठ नागरिक हुन् । उनले राज्यले दिएको सुविधा उपभोग गर्न नपाएको गुनासो गरे । ज्येष्ठ नागरिकहरूका लागि प्रदेशस्तरिय अन्तरपुुस्ता संवाद कार्यक्रमका लागि वीरेन्द्रनगर आएका उनले आफूहरूको उमेर समूहका लागि छुट्याएको सार्वजनिक बसको सीटसमेत नपाएको दुखेसो सुनाए । उनी भन्छन्, ‘बैंकमा सेवा लिन जाँदा लाइनमा बस्नुपर्ने, सार्वजनिक यातायातमा सुरक्षित तरिकाले यात्रा गर्न नपाउनेजस्ता समस्या छन्, यसतर्फ राज्यका निकाय गम्भीर बन्नुपर्छ ।’ हरेक गाउँ–टोलमा हुने विकास निर्माणका काममा पनि ज्येष्ठ नागरिकको सहभागितालाई सुनिश्चित नगरिएको न्यापौनेले बताए । राज्यले कागजी रूपमा ज्येष्ठ नागरिकको समस्या सम्बोधन गरेजस्तो देखिएता पनि कार्यान्वयनको अवस्था फितलो रहेको उनी बताउँछन् ।
ज्येष्ठ नागरिकहरूले सामाजिक सुरक्षाका नाममा केही पैसा मात्रै वितरण गरेर ज्येष्ठ नागरिकप्रति राज्यको दायित्व पूरा नहुने बताएका छन् । उनीहरूले ज्येष्ठ नागरिकको गाँस, बास र कपासको सरकारले व्यवहारतः ज्ञारेण्टी गर्नुपर्ने जनाएका हुन् । न्यौपानेले घरबाट सामाजिक सुरक्षा भत्ता लिन बैंकमा पुुग्नसमेत घण्टौँको पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको बताए । उनी भन्छन्, ‘सरकारले बैंकमार्फत दिने सेवा मलाई चित्त बुझेको छैन, बरु पहिला गाउँ विकास समिति हुँदा घर–घरमा भत्ता पुग्थ्यो, अहिले अरुको सहायतामा भत्ता बुझ्नु पर्दा धेरै कठिनाइ छन् । सामाजिक सुरक्षा भत्ता बैंकमा दिँदा सुरक्षित हुने भएपनि ग्रामीण भेकका नागरिकलाई असजिलो भइरहेको उनले बताए ।
वीरेन्द्रनगर–८ की ज्येष्ठ नागरिक देवीसरा चालिसेले उपचारका लागि अस्पतालमा जाँदा दिनभर लाइनमा बस्नुुपर्ने बाध्यता रहेको बताइन् । उनी भन्छिन्, ‘ज्येष्ठ नागरिकलाई उपचारमा सहज र छुट भनिएता पनि व्यवहारमा त्यस्तो पाइँदैन, अस्पतालबाट दिनुपर्ने निःशुल्क औषधि किन्न पनि मेडिकलमा सिफारिस गरिन्छ ।’ औषधि किन्दासमेत कुनै छुुट नपाइने गरेको उनको गुनासो छ । ज्येष्ठ नागरिकलाई सरकारले दिएका सहुलियत लिनै सास्ती भएको उनको भनाइ छ । वीरेन्द्रनगर–८ का गंगाराम भट्टराईले एकीकृत सेवाका लागि वृद्ध सेवा केन्द्र स्थापना र ज्येष्ठ नागरिकको पालनपोषणको रेखदेख सरकारले गर्नुपर्ने बताए । उनले ज्येष्ठ नागरिकले कुनै न कुनै बहानामा घरपरिवारबाट अपहेलित हुनुपरिरहेको भन्दै बुढेसकालको सहारा सरकार बन्नुुपर्ने जनाए ।
प्रदेशस्तरीय अन्तरपुस्ता संवाद कार्यक्रममा वीरेन्द्र नगरमा सहभागी ज्येष्ठ नागरिकले सरकारले आफूहरूलाई सामाजिक सुरक्षा भत्ता वितरणको प्रक्रिया सहज, स्वास्थ्य र यातायातका क्षेत्रमा दिएको सहुुलियत पूर्णरूपमा उपभोग गर्ने वातावरण बनाइनुपर्ने माग गरेका छन् । सामाजिक विकास मन्त्रालयले ज्येष्ठ नागरिकसँग गरेको अन्तरक्रियामा सहभागीहरूले यीसहित थुप्रै गुनासो गरेका छन् । ज्येष्ठ नागरिक ऐन र नियमावलीमा आफूहरूलाई यातायात सेवामा ५० प्रतिशत छुट, सरकारी अस्पतालमा निःशुल्क जाँच र औषधि उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि कार्यान्वनमा समस्या रहेको उनीहरूको गुनासो छ । सामाजिक सुरक्षा भत्ताका लागि प्रक्रिया झन्झटिलो भएको भन्दै हिँड्डूल गर्न नसक्ने ज्येष्ठ नागरिकलाई घरमै पुगेर सेवा दिने व्यवस्था मिलाइनुपर्ने जेष्ठ नागरिकहरूको माग छ ।
प्रकाशित मितिः २८ पुष २०७९, बिहीबार ०५:०१
साझा बिसौनी ।