दुई-चार दिनमै मुलुकले निकास पाउँछ : ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले केही दिनभित्रै मुलुकले निकास पाउने दाबी गरेका छन्। प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका ओलीले सोमबार अहिले जारी राजनीतिक गतिरोध केही दिनभित्रै समाधान बताएका हुन्।

एमालेको मोरङ जिल्ला अधिवेशन उदघाटन गर्न बिराटनगर पुगेका ओलीले भने, ‘गतिरोध छिट्टै समाधान हुन्छ, त्यसका लागि २र४ दिन कुरौं, सबैले देख्ने गरी मुलुकले निकास पाउनेछ।’

उनले जारी गतिरोध अन्त्यका लागि संसदको प्रकृयाबाटै विषय टुंग्याइने पनि दाबी गरे।

उनले अब दलीय स्वार्थलाई राष्ट्रिय स्वार्थभन्दा माथि राखेर अगाडि बढ्न सके मुलुकले निकास पाउने बताए।

ओलीले स्थानीय तहको निर्वाचन जसरी पनि गर्नुपर्ने भन्दै मधेसी दललाई संकेत गर्दै कसैले जिद्धी र अहंकारको कुरा गर्दैमा चुनाव नरोकिने दाबी गरे।

उनले लोकमानसिंह कार्कीबारे भने ‘गलत मान्छे नियुक्ति भएको भन्दै सर्वोच्च अदालतले उनलाई अख्तियार प्रमुखबाट हटाउने फैसला गरेपछि उनी ग्राउण्ड जिरोमा पुगेका छन्। अब गलत मान्छेका गलत कामको पनि राजनीतिक र कानुनी पाटो हेरिनु आवश्यक छ।’

प्रकाशित मितिः   २५ पुष २०७३, सोमबार १६:३५