घण्टाघरले दिन थाल्यो समयको जनाउ

सुर्खेत: सुर्खेतको पहिचानसँग जोडिएको वीरेन्द्रनगरस्थित पर्यटकीय स्थल घण्टाघरमा नयाँ घडी जडान गरिएको छ । घडी बिग्रिएपछि लामो समयदेखि अस्तित्वकै संकटमा रहेको घण्टाघरलाई फेरि पुरानै अवस्थामा फर्काइएको हो । वीरेन्द्रनगर नगरपालिकाले साढे ११ लाख रूपैयाँ खर्चेर नयाँ घडी जडान गरेको छ । योसँगै घण्टाघरले समयको जनाउ दिन थालेको छ । अब घण्टाघरका घडी र प्रत्येक घण्टामा बज्ने आवाज सुनेर स्थानीय तथा पर्यटकहरूलाई समय थाहा पाउन सहज हुनेछ । घण्टाघरमा बजेको घण्टीकै आधारमा समयको अड्कल लगाउन सहज हुने विश्वास गरिएको छ । विगतजस्तै घण्टाघरको चारै दिशामा एक एक वटा घडी जडान गरिएका छन् । बिग्रिएका तथा जीर्ण अवस्थामा रहेका पुराना घडी हटाएर नगरपालिकाले नयाँ घडी राखेको हो ।

घण्टाघरले १ देखि १२ बजेसम्म समयअनुसार धुनमार्फत कति बज्यो भनेर संकेत दिनेछ । घण्टाघरमा जडान गरिएका यी घडी भारतको हैदराबादबाट ल्याएका हुन् । सिटिजन कम्पनीले अमेरिकन टेक्नोलोजिबाट निर्माण गरेका उक्त घडी स्वचालित रूपमा सञ्चालन हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले बताए । घण्टाघरको धुन दुई किलोमिटरसम्म सुनिने दाबी गरे । धुन प्रष्ट सुनिनेगरी अझै प्राविधिक कामहरू भइरहेको तिवारीले बताए । यी घडी जडानका लागि प्राविधिक जनशक्तिसमेत भारतबाटै ल्याइएको छ । तिवारी भन्छन्, ‘नयाँ घडी जडान भएसँगै सुई चलेका छन् भने सोही समयअनुसार धुन पनि बज्न थालेको छ, पूर्णरूपमा सञ्चालन हुन अझै केही दिन लाग्नेछ, कतिपय प्राविधिक कामहरू भइरहेका छन् ।’

नगरपालिकाका अनुसार यसअघि मर्मतपछि बीचमा केही समय घडी सञ्चालनमा रहे पनि २०६४ सालदेखि यहाँका घडी बिग्रिएका थिए । झन्डै १५ वर्षपछि नगरपालिकाले घण्टाघरको संरक्षणमा चासो दिएको हो । घण्टाघरको संरक्षणमा उचित ध्यान नदिँदा यसको अस्तित्व नै संकटमा परेको स्थानीयले गुनासो गर्दै आएका थिए । ३४ वर्षअघि २०४५ सालमा चीन सरकारको सहयोगमा घण्टाघर निर्माण गरिएको थियो । पछिल्ला वर्षहरूमा घण्टाघरको चारवटै घडी बिग्रिएको अवस्थामा थिए । अहिले यसको मर्मत तथा नयाँ घडी जडानका लागि निजी क्षेत्रका संस्था तथा स्थानीयले दबाब दिँदै आएका थिए ।

प्रकाशित मितिः   २३ पुष २०७९, शनिबार ०५:०१