कथा

बित्यास

‘ल हाल्न एक गिलास अहिले पारेको ।’

‘भो पर्दैन । खाना खाएर पनि कति खानु सकेको रक्सी !’

‘के भो त खाएर बाहिर जानु छैन, आफ्नै स्वास्नीसँग सुत्नु त होनी ।’

‘ल हेरन कति जानेको छ कुरा ! किन खाइरनु मातेर बेहोस हुनलाई ।’

‘होसमा ल्याउने स्वास्नी छँदैछ के चिन्ता । अलिकति लेन हौ चाखुम् ।’

‘कत्रो काम छ बिहान, रातभर रक्सी मात्रै खाइ बस ।’ यसो भन्दै पविले उसको गिलासमा रक्सी हालिन् ।

‘मान्छे जुटेपछि त्यस्ता जाबा काम त एकछिनमा । तँ उठेर पानी तताइदिनु अरु म छँदैछु जिन्दावाद केको चिन्ता !’ डम्बरले गिलास उठाएर विस्तारै आफ्नो मुखमा जोड्यो ।

‘माझघरे जेठाले एक धार्नी भनेको छ है बिर्सेलानी ।’

‘आजको जमानामा कहाँ पाउनु धार्नीमा मासु मङ्स, किलो मा पो जोखिन्छ त । एक किलो पाउँछ त्यसले ।’

‘एक किलोमा चित्त बुझाउँदैनहोला, पछि रिसाउँछ ।’

‘रिसाए के त ! तीन किलो मासु गोपाललाई पैँचो तिर्नु छ । आफ्नु छिमेक इष्टमित्र सबलाई भाग पु¥याउनु प¥यो । चेलीबेटी पनि आउँछन् खुवाउनु पर्‍यो ।’

‘चेलीबेटी बोलाइ बोलाइ मासु खुवाउने जमना छैन बाबै ! यो मासेपछि अर्को पाठो किन्नु छ । उजेलीले मुबाइल फुन चाहियो भनेर जात्रा गरेकी छ… ।’

‘त्यसको मोबाइल फोन छँदैछ त फेरि किन चाहिने अर्को ?’

‘त्यो भाइ चाहिँलाई दिनेअरे, आफूलाई औंलाले तलमाथि सार्ने खालको चाहिनेअरे ।’

‘पोइल जा भन्दे त्यसलाई । त्यसको पोइले उतै किन्दिन्छ औंलाले तलमाथि धकेल्ने खाले फोन ।’

‘बोलेको हेरन ! छोराछोरीको ढिपी कस्तो छ व्यहोर्नुपर्ने होइन, झनक्क रिसायो पुगिहाल्यो …।’

‘मलाई भन्छेस् नी, तँ पो बिगार्दैछस् छोराछोरी । अहिले त्यसलाई त्यस्तो फोन किन चाहिने भन्त ?’

‘पढ्नलाई ल्याप्टो चाहियो भनेर आगो उठाकी थिइ त । बल्लतल्ल फकाएर त्यस्तो फुन किन्दिने भनेपछि थान्की बसेकी छ ।’

‘ल्यापटपले पढाउँछ ? ठूलो ठूलो हिसाब पो गर्ने हो त ।’

‘पढाइ लेखाइ सबै ल्याप्टोमै हुन्छअरे ग्वाँजे । ल्याप्टोको काम त्यो सार्ने खाले फोनमा पनि गर्न मिल्छअरे । सँगी साथीको हुँदा उलाई पनि चाइगोनी । जमना कहाँबाट कहाँ पुग्यो थाह छैन, त्यसै… ।’

‘लौ तेरो जमाना जहाँसुकै लैजा । त्यसोभए अलिकति रक्सी थप ।’

‘अहिले चिम्टाले टाउकोमा थप्दिन्छु अनि थाह हुन्छ ।’

‘चिम्टाले ? चिम्टाले कुटेपछी घाइते टाउको लिएर भोलि रमाइलोमा कसरी नाच्नु भन्त ?’

‘टाउकोले टेकेर नाच्ने हो र ?’

‘खुट्टैले नाचे पनि टाउको दुख्ता त गाह्रो पो होला घुम्नु र हल्लिनु ।’

‘नहल्लेर मिल्दैन नाच्न ?’

‘हल्लाउनुपर्छ हौ सबै, कस्तो नबुझे झैं गरेको । थप्न थोरै ।’ ‘ ….. ।’ नसुने झैं उता फर्की मुसुक्क हांसेर पविले चिम्टा समाइन् ।

‘आहा भोलि त खाँकर लगाएर मादलको तालमा नाच्नुपर्ला है आफ्नो स्वास्नीसँग हात समाइ समाइ ।’

‘इस् नाच्छु मान्छेको सामु हात समाएर, लाजैमर्दो ।’

‘ए, काखमा बोकेर पो नचाउँछु त म फेरि ।’

‘ओहो हेरुम्ला !’

‘लौ हेरुम्ला मेरो मायाले कसरी उचाल्छ तँलाई ।’ डम्बरले नजिकैको थाल टिपेर बजाउँदै गीतको लय हाल्योः लेखैमा पाटन चरने कस्तुरी होकि चौंरी फूलमा भुनभुन् गरने भमरा होकि मौरी …।

पविलाई डम्बरको गलो साह्रै मन पर्छ, ठट्यौली बानी पनि उत्तिकै जाति लाग्छ । रक्सी खाएपछि कहिलेकाहीँ अलि लठारिन्छ, त्यो पनि त्यति नजाती लाग्दैन । रोधिमा दोहोरी गाउँदागाउँदै दुवैलाई मायाले व्याकुल पारेपछि बिहा भएको हो । वैवाहिक सम्बन्धका सुरुवाती दिन आहा कति रमाइला थिए सम्झदा पनि आनन्द पो लाग्छ । तर जीवन सधै सरल बाटोमा मात्रै चल्दैन । भाइहरू छुट्टिएपछि आर्थिक संकटले घे¥यो, केटाकेटी पाल्न पनि मुस्किल मुस्किल हुन थाल्यो । कैयन कोशिसले पनि कतै पाइएन जागिर, ठाँउ–ठाँउ धाएर पनि भेटिएन रोजगार । बाध्यताले माइती र आफन्तसँग हार गुहार गरि हात जोडेर पसिना बेच्न डम्बर खाडी मुलुक पुग्नु पर्‍यो । यता घर पविले मेलापातमा रातदिन परिश्रम पोखेर छोराछोरीको पेट भरिन् हर ढाकिन् जीवन धानिन् । दुःखले पनि सिकाउँदो रहेछ जीवनसँग आशामुखी बन्न ।

डम्बर ओछ्यानमा गएपछि पविले बोतल बोतलमा रक्सी भरेर थन्काइन् । असरल्ल जुठा भाँडा माझिन् सबै धन्दा सकेपछि ढोका थुनेर आग्लो लगाइन् बत्ती निभाइन् । ओछ्यानमा पल्टेपछि पनि पविले सम्झिरहिन विगतका आफ्ना अप्ठ्यारा दिनहरू । तरकारी खेती गरेको किराले खायो, हाँस कुखुरा पालेको रोग लागेर सबै बर्बाद भयो । जीवन घाटाबाट पनि गुज्रनुपर्छ तब फाइदाको अनुभूत गर्न पाइन्छ भन्ने बुझायो समयले ।

बाहिरबाट ल्याएको कमाइले फाँटमा एउटा घडेरी जोडेको छ । पैसा खेर जान्छ भनेर माइतीले पक्की घर नबनाउने सल्लाह दिँदा त्यो पैसा छोराछोरीको भविष्य बनाउन साँच्नु परेको छ । स्वास्नी छोराछोरीको मायामा आशक्त डम्बरले एउटा अटो किनेर चलाएको हुँदा त्यो पेशाले पनि जीवन गुजारा तान्न चाँजो मिलाएको छ ।

‘सजिलो सुतन हौ । कति घुरेको त, रक्सी धोक्यो रातभरि घुरेर हैरान मुर्दार ।’ ओढ्ने तानेर पवि उता कोल्टे फेरिन् ।

‘त्यस्तो घुरेको त छैन हौ ।’

‘राँगो कराएको जस्तो के गरेको त नघुरेको भए ?’

‘कराउँछ राँगो ! काम नपाएर । बरु भैंसी पो कराउँछ राँगो खोजेर । हैन र ?’

‘खाली उल्टै उल्टो बोल्न जानेको छ । थुपुक्क सुत के ।’

‘केको सुत्छ थुपुक्क, सुतेको मन्छेलाई बिउँझाएपछि ।’

‘छि, नचल के । नचल भन्देकी छु त ….।’

‘कहाँको पुग्छ त्यसै भन्देर…. ।’

विरहले होकि खुसीले हो खोइ किन हो, यसै बखत स्याल अचम्म चिच्यायो, हुइयाँ हुइयाँ गरिरह्यो । टोलभरिका कुकुर एकै चोटि खैलाबैला गरे । जो जतिसुकै चिच्याएर खैलाबैला गरे पनि सृष्टि र प्रकृति न रोकिन्छ न छेकिन्छ । मध्यरातको चकमन्न कालो ओढेर अविश्राम हिँडिरह्यो समय ।

बिहान सबेरै आगनको डिलमा आगो बालेर पविले पानी तताइन् । ताउलोबाट थोरै तातोपानी झिकी चारो मुछेर उनी खोरतिर गइन् ।

‘ए उजेलीको बाउ उठ न उठ । लौन सुँगुर त खोर भत्काइ भागेछ ।’ आत्तिँदै कराइन् ।

सुन्ने बित्तिकै ओढ्नेलाई लात्तले फालेर जर्फराउँदै उठ्यो ।

‘कहाँ भाग्यो कहाँ ?’ भन्दै हतारमा तल झर्‍यो ।

‘होइन आज के बौलाउने बेला भयो र लुगा लगाउन पर्दैन आङमा ?’

‘आच्या ! खोइ मेरो जाङे ?’ फर्केर तुरुन्तमाथि चढ्यो ।

जाङे छिरायो । ‘कहाँ भाग्यो होला त्यो पड्के ?’

कमिजको टाँक लगाउँदै फेरि तल झर्‍यो ।

‘होइन, यसरी ज्यान छोडेर बिहान बिहानै किन दौडेको छ डम्बरे !’ लोटाको पानीले आगन छेउमा मुख धुँदै गरेका कार्की कान्छाले भने ।
‘सुँगुर फलियो फालेर राति भागेछ भेनाजु ।’

‘आज काट्ने भनेको होइन र ? लौ बर्बाद भयो ।’

‘यता आको भए तपाईंहरूले देख्नुपर्ने… ।’

‘नाइँ नाइँ, आएन यता । बरु पारी गयोकी हँ ?’ ‘पारी पो ? पारी पनि होला नहोला ।’ मन हतारिँदा घरमा आगो लागे झैं आत्तिएर उ फेरि पारी दौडियो । यता दौडियो उता दौडियो दौडादौडमै बिहान बित्यो तर सुँगुर भेट्टिएन ।

घरमा पानी तातिसक्यो होला, छिमेकीहरू आएर खुर्पा खुकुरी र कर्द उध्याइरहेका होलान् । मासु काट्ने भागविलो लगाउने बेच्ने मनसुबा कतै भत्किने पो होकि । खानपिन पछि साँझ नाच गानबाट रमाइलो गर्न आफन्तलाई निम्ता छ, बेइज्जतै पो हुने होकि ! कसैले सुँगुरलाई राति नै काटेर दामदुम पा¥यो कि, या कोहीले आफ्नो खोरमा थुनी राखेको पो छकी या चोरी लगेर टाढै पो पु¥यायोकी । मनमा अनेकन शंकाहरू उब्जिरहे ।

अन्तिम आशा लिएर डम्बर डहरतिर दौडियो । नभन्दै सुँगुर त यति टाढा आइसकेको रहेछ, एकचित्त भइ अंझ उँधो पो झर्दैछ ।

‘घीः ला ला । घीः आ आ आ ।’ उसले सुँगुरलाई बोलायो ।

घरपाला पशुले भाषा बोल्न नजाने पनि लामो संगतबाट मान्छेका केही भावना संकेत र इशारा त अवश्य बुझ्दाहुन भन्ने अन्दाज छ । किनकि उसँग पनि आवाज छ आँखा छ कान छ । तब त मान्छेले पशु पन्छीसँग पनि एकतर्फी कुरा गर्ने गर्छन् ।

‘चोँक् चोँक । हुँर्क् हुँर्क् ।’ सुँगुरले हिँडाइको गति बढायो ।

‘घी आ आ आ ।’ उसले फेरि बोलायो ।

‘हुँर्क् हुँर्क् । भो भो पर्दैन, आउँदैन म ।’ सुँगुरले भन्यो ।

‘होइन, कता जान्छस् त आज ?’

‘चोँक् चोँक् हुँर्क् हुँर्क । जता पो जाम् के मतलव !’

सुँगुर फर्किनु नमानेपछि डम्बरले छेकल काट्यो, ढुङ्गा समाइ हान्यो । ताकेर हानेको चोट लाग्ने सम्भावना हुन्छ, दौड्दै हान्दा चोट लाग्न सक्छ नलाग्न सक्छ । लागेन सुँगुर झन जल्केर भाग्यो । प्रतिस्पर्धामा दौँड्दा दाहिने चप्पलको फित्ता च्वाट्ट चुट्यो । चप्पल हातमा समाइ तागत झिकेर जोडले दौडियो किनकि सुँगुरले खोलो तर्न भ्यायो भने बित्यास पर्छ । छेक्ने कोशिस गर्दागर्दै सुँगुर त खोलामा पस्यो पसिहाल्यो, उसलाई जुन कुराको डर थियोे त्यही भयो ।

‘थुइया ! पापी साँइदुवा, बित्यासै पार्‍यो ।’ उभिएर लामो सास फे¥यो । सास रहुञ्जेल आश भने झैं उ पनि खोलामा जान बाध्य भयो । खोला तर्दातर्दै हातबाट एउटा चप्पल फ्यात्त खस्यो, छोप्दाछोप्दै टपरी झैं सलल बगाएर खोलाले तलै पु¥यायो । कस्तो आपत सुँगुरको पछि दौडनु कि चप्पल छोप्न जानू । सुँगुर र मान्छे दुबै खोला तरे ।

‘तेरीमा….मसान ।’ सुँगुरलाई आमाचकार्दै चुटेको चप्पलले झटारो हान्यो ।

‘हुँर्क् हुँर्क् । मलाई अब केको डर !’

डम्बरले पैतालोबाट काँढा झिक्न थाल्यो, यही मौका पारी थकित सुँगुर पनि एकछिन सुस्तायो । सुँगुर जंगल छिरेमा फेला पर्ने आशा पूर्णतया समाप्त हुने कुरा डम्बरलाई थाहा थियो ।

‘वनमा कति दुःख पाउँछ पछि थाहा हुन्छ ।’

‘चोँक् चोँक् हुँर्क् हुँर्क् । तिमीले के सुख दिएका छौ, छोरो बनाएर मलाई ओछ्यानमा सुताकोछौ र !’

‘बाघले भेट्यो भने तेरो घेक्राको रगत पिउँछ बुझिस् ?’

‘तिमीले के बाँकी राख्छौ ? मेरो आमालाई उत्तानो पारेर घाँटी रेटेको मैले नदेखेको होर !’

‘भो ढिपी नगर । हिँड बाबु हिँड खोरमा, चारो खालास ।’

‘खान्न चारो तिम्री स्वास्नीलाई देउ । म त जंगलतिर जान्छु बँदेल हुन्छु ।’

सुँगुर जंगलको झाडिमा छिरेको दृश्य डम्बरले चुपचाप हेरिरह्यो । मनमा वित्यास लिएर घर फर्कनु बाहेक अर्को उपाए थिएन ।

प्रकाशित मितिः   २३ पुष २०७९, शनिबार ०५:०४