नेतृत्व लिन शीर्ष तहमा दबाब

सुर्खेत: कर्णालीमा कसको नेतृत्वमा सरकार गठन हुन्छ भन्ने अझै टुँगो लागेको छैन । सरकार गठनका लागि आह्वान भइसक्दा पनि मुख्यमन्त्रीको भागबन्डा नमिलेको हो । नेकपा ‐एमाले) र नेकपा माओवादी ‐केन्द्र) ले सरकारको नेतृत्वका लागि दाबी गरिरहेका छन् । नयाँ सत्ता समीकरणअनुसार कर्णालीमा एमाले र माओवादीको सरकार बन्ने बलियो सम्भावना छ । तर, नेतृत्व कसले हत्याउने भन्नेमा टकराव देखिएको छ ।

संसदीय दलको नेता सर्वसम्मत चुनेका दुवै दलले आफ्नो पार्टीले नै मुख्यमन्त्री पाउनुपर्ने केन्द्रीय नेतृत्वमा दबाब बढाएका छन् । एमाले र माओवादी केन्द्रका जिल्लादेखि प्रदेशस्तरका नेताहरू यतिबेला आफ्नो दाबीसहित शीर्ष नेतृत्वलाई मुख्यमन्त्रीका लागि दबाब दिइरहेका हुन् । केही दिनयता एमालेका नेताहरू जम्बो टोलि लिएर अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट र पार्टी कार्यालय च्यासल धाइरहेका छन् । माओवादी केन्द्रका नेताहरू पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेतृत्व आफूहरूले नै पाउनुपर्ने भन्दै भनसुन गरिरहेका छन् ।

प्रदेश प्रमुखद्वारा सरकार गठनका लागि आह्वान

कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र एमाले सुर्खेतका जिल्ला पदाधिकारीहरूले बिहीवार बालकोट पुगेर ओलीको ध्यानाकर्षण गराए । यसपटक पनि कर्णालीमा एमालेले नेतृत्व नपाए पार्टीलाई नै अन्याय हुने भन्दै अध्यक्ष ओलीसँग मुख्यमन्त्री जसरी पनि लिनुपर्ने आग्रह गरिएको टोलिमा सहभागी एक नेताले बताए । यसअघि आइतवार माओवादी केन्द्रका नेताहरूले पनि प्रचण्डलाई भेटेर मुख्यमन्त्रीका लागि दबाब दिएका थिए । मुख्यमन्त्री नियुक्तिको समय नजिकिँदै गर्दा दुवै दलका नेताहरूले पार्टीका शीर्ष नेतालाई प्रदेशको भागबन्डा गर्दा कर्णाली आफ्नो दललाई पार्न अनुरोध गरिरहेका हुन् ।

बिहीवार प्रदेश प्रमुख तिलक परियारले अबको सात दिनभित्र कर्णालीमा सरकार गठनका लागि आह्वान गरिसकेका छन् । प्रदेश प्रमुखले दिएको समयअनुसार पुस २७ गते अपराहन्न ५ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्नुपर्ने हुन्छ । सरकार गठनको समयको चाप बढेसँगै नेतृत्व आफ्नो पक्षमा पार्न एमाले र माओवादी केन्द्रका नेताहरू शीर्ष तहमा भेटघाट र भनसुनमा छन् । ४० सदस्यीय कर्णाली प्रदेशसभामा पाँच दलको प्रतिनिधित्व छ ।

प्रकाशित मितिः   २२ पुष २०७९, शुक्रबार ०५:०१