मानव अधिकार पुस्तकका लागि पूर्व समीक्षा

सुर्खेत: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ मा समावेश गर्नुपर्ने घटनाहरूको पूर्व समीक्षा कार्यक्रम गरेको छ । पुस्तकमा समावेश गर्न संकलन गरिएका सुर्खेतका मानव अधिकार हनन्का घटनाबारे मंगलवार वीरेन्द्रनगरमा समीक्षा तथा सुझाव संकलन गरिएको हो । समीक्षा कार्यक्रममा सरोकारवाहरूसँग सुझावसमेत लिइएको छ । समीक्षाका क्रममा मानव अधिकारका घटना बढ्दै गएको र त्यसमाथि पनि महिला तथा बालबालिका बढी हिंसामा पर्ने गरेको बताइएको छ । मानव अधिकार हनन्का घटना बढेकोप्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले मानव अधिकार हनन्का घटनामा कमी ल्याउन सबैपक्ष जिम्मेवार बन्नुपर्ने बताए । उनले जनचेतनाका कार्यक्रममा जोड दिन सके यस्ता घटनामा कमी आउने अपेक्षा व्यक्त गरे ।

यस्तै, इन्सेक प्रतिनिधि प्रभा रावतले सन् २०२२ जनवरीदेखि डिसेम्बरसम्म सुर्खेतमा भएका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरूको विवरण प्रस्तुत गरेकी थिइन् । उनका अनुसार सन् २०२२ मा सुर्खेतमा मानव अधिकार हनन र ज्यादतीका ७२ वटा घटना भएका छन् । जिल्लामा घरेलु हिंसाका ४८, गिरफ्तारका दुई, बलात्कारसम्बन्धी नौ, अमानवीय व्यवहारको एक, कुटपिट चार, हत्या पाँच र अन्यमा तीन वटा घटना मानव अधिकारसँग सम्बन्धी रहेको बताइएको छ । छिटफुट अरु घटनाहरू भए त्यसलाई सुझावका आधारमा समावेश गरिने इन्सेकले जनाएको छ । सुर्खेतमा हत्या जस्तो गम्भीर प्रकृतिका घटनासमेत बढ्दो क्रममा देखिएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका थिए । मानव अधिकार आयोग, कर्णाली प्रदेशका सूचना अधिकारी एवम् मानव अधिकार अधिकृत मानबहादुर कार्कीले आर्थिक, सामाजिक, आवास रोजगार, शिक्षा, स्वास्थ्य र ज्येष्ठ नागरिकलगायतका अधिकार हनन्का घटनाहरू पनि समेटिनुपर्ने सुझाए । उनले मानव अधिकार हनन्का घटनामा पनि सबैभन्दा बढी पीडित महिला र बालबालिका रहेको भन्दै यस्ता घटनाहरू कम गर्न सबै गम्भीर भएर लाग्नुपर्ने धारणा राखे ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख ‐एसपी) योगेन्द्र सिंह थापाले मानव अधिकार हननका घटनामा कमी ल्याउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए । उनले जिल्लामा बढ्दो घरेलु हिंसा न्यूनीकरणमा प्रहरीले विशेष योजना बनाएर काम गर्ने जनाए । इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले वर्ष २०२२ मा संकलन गरिएका मानव अधिकार हनन्का घटनाहरू अभिलेख गरेर तुलना गर्ने र राज्यलाई झक्झकाउन पुस्तक प्रकाशन गर्ने गरिएको बताए । इन्सेकले घटनाहरूको अभिलेखीकरण, मानव अधिकारको संरक्षण, मानव अधिकार रक्षक सञ्जालहरू गठन र सचेतनाका कार्यक्रमहरू पनि गर्दै आएको छ ।

प्रकाशित मितिः   २० पुष २०७९, बुधबार ०५:०१