संसद् यात्रा उत्साहजनक

के छन् सांसदका योजना ?

सुर्खेत: नवनिर्वाचित कर्णाली प्रदेशसभा सदस्य गोमता विकले सोमवार पद तथा गोपनीयताको शपथ लिइन् । समानुुपातिक सांसद बनेकी उनको संसदीय फाँटमा यो नै पहिलो अनुभव हो । मुलुक र जनताका नाममा शपथ लिएकी उनी लक्षित वर्गका सवालमा संसद्मा आवाज बुलन्द गर्ने बताउँछिन् । उनी जनताको हितमा काम गर्ने उत्साहका साथ संसद्मा छिरेकी छन् । ‘संसद्मा मेरो भूमिका जनताको अपेक्षा र प्रदेशको आवश्यकता पूरा गर्नेतर्फ केन्द्रित हुनेछ,’ उनले भनिन्, ‘त्यसका लागि कतिपय विषयमा आफ्नै ज्ञानको दायरा पनि फराकिलो बनाउनुपर्नेछ ।’ उनले आफूले सिक्दै जनताको हितका सवालमा काम गर्ने बताइन् । सांसद विकमा विकास निर्माणको कामसँगै नीति निर्माणमा उल्लेखनीय योगदान गर्ने हुटहुटी छ । प्रदेशवासीको हित हुने जुनसुकै काममा आफू संसद्मा सक्रियतापूर्वक लाग्ने उनी बताउँछिन् ।

कर्णाली प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक्ली प्रदेशसभा सदस्य सन्तोषी शाहीले पनि शपथ लिएकी छन् । उनी पनि समानुपातिक सांसद हुन् । पार्टी राजनीतिमा सक्रिय शाहीको संसद्मा यो पहिलो अनुभव हो । आफ्नो दलका राजनीतिक एजेन्डालाई स्थापित गर्नेगरी प्रदेशसभामा सशक्त भूमिका खेल्ने उनले बताइन् । शाहीको पार्टीले प्रदेश संरचना खारेजी र हिन्दु राष्ट्रको माग गर्दै आएको छ । सोही एजेन्डाका पक्षमा संसद्मा आवाज उठाउने उनको योजना छ । ‘मेरो पार्टीका एजेन्डा र जनतासँग चुनावताका गरेका प्रतिबद्धता पूरा गर्ने प्रयास रहनेछ,’ उनी भन्छिन्, ‘अहिले जुन उत्साह छ यो कार्यकालभरी नै कायम रहनेछ ।’ शाही प्रदेशसभामा सुर्खेतबाट प्रतिनिधित्व गर्छिन् । संसदीय फाँटमा अनुभवी अग्रजहरूबाट सिक्दै सांसदको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिने उनले बताइन् । उनले भनिन्, ‘सांसदहरू अब नयाँ ढङ्गबाट अगाडि बढ्न जरुरी छ, त्यसका लागि जनताले ठाउँमा पुु¥याएका छन् ।’

कर्णाली प्रदेशसभामा नेकपा ‐एकीकृत समाजवादी) पार्टीकी एक्ली सांसद हुन, कल्याणी खड्का । प्रदेशसभामा उनको पनि पहिलो यात्रा हो । समानुपातिक सांसदमा चयन भएकी उनले जनताका आवाज बोकेर आएको बताइन् । उनी भन्छिन्, ‘जनताले काम गर्न प्रदेशसभामा पठाउनु भएको छ, उहाँहरूकै हितमा काम गर्न प्रतिबद्ध रहनेछु ।’ प्रदेशसभाको यात्रामा आफूलाई आशा र उत्साह दुवै रहेको खड्काले बताइन् । उनको पनि कानुन निर्माण र विकासका सवालमा काम गर्ने हुटहुटी छ । सिमान्तकृत समुदाय र महिलाका सवालमा आवश्यक नीतिगत व्यवस्थाका लागि पैरवी गर्ने उनी बताउँछिन् । सदनमा जनजीविकाका सवाल, महिलाका मुद्दा, लैङ्गिक विभेद र कुप्रथाजस्ता कुरितीको अन्त्यका लागि काम गर्ने उनले सुनाइन् ।

हुम्लाबाट कर्णाली प्रदेशसभामा समानुपातिक सांसद बनेकी नेकपा ‐माओवादी केन्द्र) की जुम्कित लामाले सोमवार पद तथा गोपनीयताको शपथ लिइन् । शपथ समारोहमा मौलिक भेषभूषामा सजिएर आएकी लामा निकै उत्साहित देखिन्थिन् । पहिलो पटक प्रदेशसभा सदस्य बनेकी उनले जनताले जुन अपेक्षा र आशाले आफूलाई संसद्सम्म पु¥याएका छन् सोहीअनुरूप काम गर्ने बताउँछिन् । जनजाति समुदायको प्रतिनिधित्व गर्दै संसद्मा आएकी उनी भन्छिन्, ‘जनताका अपेक्षाअनुसार काम गर्नेछु, मेरो भूमिकाबाट कसैले निराश हुनुपर्ने छैन ।’ हुम्लाजस्तो विकट ठाउँबाट आफूलाई पार्टी र जनताले विश्वासका साथ पठाएकाले जिम्मेवारीपूर्वक काम गर्ने लामाले बताइन् । संसद्मा जनताको आवाज बन्ने प्रतिबद्धतासहित आएको उनको दाबी छ । ‘उहाँहरूका अपेक्षा, आकांक्षा र विश्वासको ख्याल गर्नेछु,’ उनले भनिन्, ‘जनताको आवाज प्रदेशसभामा राख्नेछु ।’ उनले प्रदेशसभामा रहेर दलित, जनजाति, महिलालगायत पछि परेका वर्ग समुदायका सवालका लागि संविधानमा लेखिएका विषयलाई कार्यान्वयन गराउन ऐन÷कानुन निर्माणमा भूमिका खेल्ने बताइन् ।

दैलेख निर्वाचन क्षेत्र नं. २ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य घनश्याम भण्डारी कर्णाली प्रदेशमा सबैभन्दा कम उमेरका सांसद हुन् । उनीसँग यसअघि पाँच वर्ष स्थानीय सरकार हाँकेको अनुुभव पनि छ । नेपाली कांग्रेसबाट प्रदेशसभामा निर्वाचित भण्डारी भन्छन्, ‘मेरो मुख्य जोड नीतिगत कुरामा हुनेछ ।’ सांसदको प्रमुख दायित्व र जिम्मेवारी कानुन निर्माण भएकाले पहिलो प्राथमिकता यसमै रहने उनले जनाए । त्यसका साथ साथै जनताका आधारभूत आवश्यकताको परिपूर्ति र विकास निर्माणमा पनि आफ्नो भूमिका सशक्त रहने भण्डारी बताउँछन् । ‘जनताकाबीचमा विकास निर्माणका लागि केही बाचाहरू गरिएको छ, त्यसलाई पूरा गर्नेमा पनि म जिम्मेवार भएर लाग्नेछु,’ उनले भने । स्थानीय सरकार सञ्चालनको अनुभवलाई प्रदेशको विकासका लागि प्रयोग गर्ने उनको चाहना छ ।

जाजरकोट प्रदेशसभा ‘ख’ बाट निर्वाचित कांग्रेसका राजीवविक्रम शाह भने संसद्का अनुभवी हुन् । यसअघि संविधानसभाका सभासद भइसकेका शाह यसपटक प्रदेशमा झरेका छन् । उनले कर्णालीका बासिन्दाको हितमा काम गर्ने संकल्पसहित प्रदेश सांसद बनेको बताए । ‘मैले पाएको जिम्मेवारी र भूमिकालाई इमान्दारितापूवर्क पूरा गर्नेछु,’ उनले भने, ‘जनताप्रति प्रतिबद्ध भएर मुलुक परिवर्तनका लागि काम गर्नुपर्ने छ ।’ शाह विकाससँग जनतालाई जोड्ने अभियानका साथ काम गर्ने दाबी गर्छन् । पहिलो पटक प्रदेशसभा प्रवेश गरेका सुर्खेत क्षेत्र नं. १ प्रदेशसभा ‘ख’ बाट निर्वाचित कृष्णबहादुर जिसीले जनताको आशालाई मर्न नदिने बताए । उनले भने, ‘जनताले जुन अपेक्षाका साथ मलाई यस ठाउँमा उभ्याउनुभएको छ त्यो भरोसामा कमी हुन दिने छैन ।’ जनताको अनुकूल हुनेगरी सेवा–सुविधाको प्रबन्ध गर्न पहल गर्दै जनपक्षीय कानुन निर्माणमा आफूले सशक्त भूमिका निभाउने उनको भनाइ छ ।

जुम्ला प्रदेशसभा ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित नेकपा (एमाले) का टेकराज पछाईंले प्रदेशसभामा रहेर जनताको आवश्यकताअनुसार कानुन निर्माणमा जोड दिने जनाए । आफूले निकै उत्साहका साथ संसद्को यात्रा तय गरेको भन्दै उनले कर्णालीको विकासका लागि योगदान गर्ने बताए । ‘नीति निर्माण गर्ने र जनताका आवाज बोल्ने ठाउँमा आएको छु,’ यो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेछु,’ उनले भने । पछाईंले नीति र योजना निर्माणमा आफ्नो भूमिका केन्द्रित हुने बताए । ‘हामीले लडेर परिवर्तनका लागि ल्याएको यस व्यवस्थाको नीति निर्माण गर्ने तहमा आउँदा उत्साहित छौँ’, उनी भन्छन्, ‘जनताको पक्षमा काम गर्नेको विकल्प छैन, उहाँहरूकै आवश्यकता अनुसारका नीति र योजना बनाउन अबको पाँच वर्ष मेरो भूमिका रहनेछ ।’

कर्णाली प्रदेशसभाका सांसदहरूले सोेमवार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका हुन् । ३९ जना प्रदेशसभा सदस्यलाई ज्येष्ठ प्रदेशसभा सदस्य विनोदकुमार शाहले प्रदेशसभा सचिवालयमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ खुवाए छन् । त्यसअघि शाहलाई सोमवार बिहान ११ बजे प्रदेशप्रमुख तिलक परियारले शपथ खुवाएका थिए । ४० सदस्यीय प्रदेशसभामा पाँच दलको प्रतिनिधित्व रहेको छ । कर्णालीको संसद्मा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी तथा स्वतन्त्रबाट एक÷एक जना सांसद छन् । शपथ ग्रहण समारोहमा उत्साहका साथ उपस्थित भएका सांसदहरूले जनपक्षीय कानुन निर्माण र विकासका सवालहरूमा काम गर्ने बताएका छन् ।

प्रकाशित मितिः   १२ पुष २०७९, मंगलवार ०५:०५