पत्रकार महासंघको साधारणसभाको तयारी पूरा

सुर्खेत: वीरेन्द्रनगरमा यही पुस ८ र ९ गते हुने नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको तयारी पूरा भएको छ । महासंघले आगामी शुक्रवार र शनिवार वीरेन्द्रनगरमा गर्न लागेको साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । महासंघ केन्द्र र आतिथ्य शाखा सुर्खेतले मंगलवार पत्रकार सम्मेलन गरेर तयारीबारे जानकारी दिएका हुन् । महासंघका अनुसार साधारण सभा वीरेन्द्रनगरस्थित सुर्खेत सभागृह ‐सिटीहल)मा हुनेछ । उक्त साधारण सभाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन् । साधारण सभाका लागि सबै तयारी पूरा भएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए । साधारण सभामा देश तथा विदेशमा रहेका नेपाली पत्रकारहरूको सहभागिता रहने उनले बताए । महासंघका सात सय ५० जना राष्ट्रिय परिषद् सदस्य रहेकोमा तीमध्ये झन्डै पाँच सयको सहभागिता रहने आंकलन गरिएको छ । त्यस्तै, साधारण सभामा ७७ वटा जिल्ला शाखा, ३९ वटा प्रतिष्ठान, १२ वटा एसोसियट र १० वटा वैदेशिक शाखाको प्रतिनिधित्व हुनेछ । अतिथि, परिवेक्षक र पत्रकार गरी करिब सात सय हाराहारीको साधारण सभामा उपस्थिति रहने जनाइएको छ ।

महासंघले राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सूचना तथा सञ्चारमन्त्री, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, स्थानीय तहका प्रमुख र सञ्चार माध्यमसँग सम्बन्धित विभिन्न संघ–संगठनका प्रतिनिधिलाई पनि साधारण सभामा आमन्त्रित गरेको छ । यो साधारण सभालाई नीतिगत तथा विधान अधिवेसनका रूपमा लिइएको महासचिव पुरीले जनाए । साधारण सभामा महासंघको सांगठनिक संरचना र नीतिगत निर्णयका विषयमा पनि छलफल हुनेछ । साधारण सभा शुक्रवार बिहान नौ बजे उद्घाटन हुने र त्यसअघि ८ बजे स्थानीय मंगलगढीचोकबाट प्रभात फेरी गरिने महासंघले जनाएको छ ।

प्रकाशित मितिः   ६ पुष २०७९, बुधबार ०५:०१