बेवारिसे चौपायाले सास्ती

गाउँमा बाली नोक्सान, बजारमा दुर्घटनाको जोखिम

सुर्खेत: वीरेन्द्रनगरमा बेवारिसे चौपाया (गाई–गोरु) ले अन्न बालीमा नोक्सानी गरेका छन् । पशुचौपायाले बालीमा नोक्सानी पु¥याउन थालेपछि किसानहरू मर्कामा परेका छन् । बेवारिसे छोडिएका चौपायाको व्यवस्थापन गरिदिन भन्दै किसानहरूले नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । नगरपालिकाले उपत्यकाभित्र बेवारिसे रूपमा रहेका गाई–गोरु लगायतका चौपायाको व्यवस्थापन नगर्दा बाली जोगाउनै मुस्किल भएको किसानहरूको गुनासो छ । वीरेन्द्रनगर–१२ मा पशुचौपायाले बालीमा ठूलो नाोक्सानी गरेको किसानहरूले बताएका छन् । छाडा छोडिएका चौपाया व्यवस्थापनका लागि नगरपालिकामा ध्यानाकर्षण गराउन आएकी सोही वडाकी टीका गौतमले आफूले लगाएको तरकारीबारीमा पशुचौपाया पसेर सखाप पारेकी बताइन् । उनका अनुसार रातिको समयमा पशुचौपायाले बालीमा बढी क्षति गर्ने गरेका छन् । गौतम भन्छिन्, ‘धौधौ गरी जोगाएर हुर्काको तरकारी बारीमा गाई–गोरु पसेर सबै नोक्सान गरेका छन्, नगरपालिकाले छाडा चौपायाको व्यवस्थापनमा बेवास्ता गर्दा हामीलाई निकै समस्या भइरहेको छ ।’ बेवारिसे पशुचौपायाबाट तरकारी जोगाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनले सुनाइन् ।

पशुचौपायाले सास्ती दिन थालेपछि उक्त वडाका बासिन्दाले यसअघि पनि पटक–पटक वडा र नगरपालिका कार्यालयको ध्यानाकर्षण गराएका थिए । बारम्बार समस्या राख्दा पनि कतैबाट सुनुवाइ नभएको बताइएको छ । दिनभरी सडकमा रहने पशुचौपायाले रातिको समयमा खेतबारीमा पसेर बालीमा नोक्सानी गर्ने गरेका छन् । साँझ ८ बजेदेखि नै हातमा ‘टर्चलाइट’ लिएर चौपाया धपाउन खेतबारीमा बस्नुपरेको किसानहरूको गुनासो छ । वीरेन्द्रनगर–१२ कै यशोधा पौडेलको तरकारी बारी पनि बेवारिसे चौपायाले सखाप पारेका छन् । केही समययता दिनरात आफ्नो कामै पशुचौपाया धपाउने भएको उनले बताइन् । पशुचौपायाले सास्ती दिन थालेपछि उक्त वडाका किसानले शनिवार नगरपालिका परिसरमा एक घण्टा धर्ना दिएका छन् । पशुुचौपायाको व्यवस्थापनको माग गर्दै उनीहरूले दवावस्वरूप धर्ना दिएका हुन । किसानहरूको गुनासो सुनेपछि नगर उपप्रमुुख निलकण्ठ खनालले केही दिनभित्रमा बेवारिसे चौपायाको व्यवसथापन गरिने बताएका छन् । उनले भने, ‘यस्तो समस्या पटक–पटक आएको छ, अब हामी समस्याको दीर्घकालीन रूपमा समाधान हुनेगरी काम गर्दैछौँ ।’ पशुचौपायाको उचित व्यवस्थापनका लागि किसानहरूले स्थानीय सरकारसहित र प्रदेश सरकारको पनि ध्यानाकर्षण गराएको जनाएका छन् ।

वीरेन्द्रनगरका सबैजसो वडामा बेवारिसे पशुचौपायाले बालीमा नोक्सानी गर्दै आएका छन् । त्यस्तै, यहाँका सडकहरूमा बेवारिसे अवस्थामा ठूलो संख्यामा पशुचौपाया देखिन्छन् । तिनीहरूको व्यवस्थापन गर्न नसक्दा नगरपालिका आलोचित हुँदै आएको छ । नगरले पशुचौपाया व्यवस्थापनको प्रयास गरेपनि दिगो समाधान भने अझै दिन सकेको छैन । वीरेन्द्रनगरका सडकमा बेवारिसे चौपायाको संख्या बर्सेनि बढ्दै जाँदा दुर्घटनाको जोखिमसमेत धेरै छ । बेवारिसे छोडिएका गाईगोरुका कारण मुख्य बजार क्षेत्र पनि अव्यवस्थित बनिरहेको छ ।

प्रकाशित मितिः   ५ पुष २०७९, मंगलवार ०५:०१