प्रदेश सरकार गठनको बाटो खुल्यो
सुर्खेत: निर्वाचन आयोगले प्रदेशसभा निर्वाचन परिणामसहितको प्रतिवेदन कर्णाली प्रदेशका प्रमुख तिलक परियारलाई बुझाएको छ । प्रदेशसभाको हकमा प्रदेश प्रमुख समक्ष निर्वाचन परिणाम पेस गर्नुपर्ने प्रावधान छ । सोहीअनुसार गत मंसिर ४ मा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचन परिणामको प्रतिवेदन आयोगले शनिवार प्रदेश प्रमुखलाई बुझाएको हो ।
प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिकतर्फको निर्वाचन परिणामको प्रतिवेदन बुझाइएको छ । प्रदेश प्रमुखसमक्ष आयोगले प्रदेशको अन्तिम चुनावी प्रतिवेदन बुझाएसँगै प्रदेशसभा बैठक बोलाउने तयारीको लागि बाटो खुलेको छ । प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।
निर्वाचन परिणाम प्रदेश प्रमुखसमक्ष पेस
कर्णालीमा प्रत्यक्ष र समानुपातिकतर्फ गरेर ४० जना प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । २४ प्रत्यक्ष र १६ समानुपातिकतर्फबाट निर्वाचित भएका हुन् । जसमा २५ जना पुरुष र १५ जना महिलाको प्रतिनिधित्व रहेको छ । कर्णालीमा प्रत्यक्ष निर्वाचन प्रणालीमा १५ र समानुपातिकतर्फ २८ वटा राजनीतिक दलहरू चुनावी प्रतिस्पर्धामा सहभागी रहेका थिए । प्रदेशमा ६० प्रतिशत मतदाताले मतदान गरेका थिए । कर्णालीमा कूल १० लाख आठ हजार चार सय तीन मतदाता रहेकोमा ६ लाख १४ हजार सात सय १७ जना मतदाताले मतदान गरेका हुन् । खसेको मतमध्ये २५ हजार दुई सय ३३ अर्थात् चार दशमलव १० प्रतिशत मत बदर भएको थियो । आयोगको विवरणअनुसार कर्णालीमा समानुपातिकतर्फ ६० दशमलव ८४ प्रतिशत मतदान भएको थियो । उक्त निर्वाचन प्रणाली अन्तर्गत पाँच लाख ७७ हजार आठ सय २९ मत खसेकोमा ३५ हजार ६ सय ८० मत बदर भएका थिए । निर्वाचन आयोगका अनुसार कर्णाली प्रदेशसभामा पाँच वटा राजनीतिक दलको प्रतिनिधित्व हुनेछ । जसमा नेपाली कांग्रेस, नेकपा ‐एमाले), नेकपा ‐माओवादी केन्द्र), एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् । निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम शनिवार दिउँसो एकैसाथ सातवटै प्रदेशका प्रमुखसमक्ष पेस गरेको छ ।
प्रकाशित मितिः ३ पुष २०७९, आईतवार ०५:०१
साझा बिसौनी ।