सत्सङ्गमा जोड
सुर्खेत: मानिसहरूमा अज्ञानताका कारण गलत धारणा र संस्कार देखिएकाले त्यसलाई हटाउन सत्सङ्गमा जोड दिइनुपर्ने बताइएको छ । सन्त निरंकारी मण्डल मिसनका अन्तर्राष्ट्रिय विदेश विभाग प्रमुख विनोद बोहराले वीरेन्द्रनगर–१ स्थित सोलिघोप्टेमा सन्त निरंकारी मण्डलको भवनमा सत्सङ्ग कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । बिहीवार आयोजित सत्सङ्ग कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्म, सेवा, ज्ञान र खुसीले मानव जीवनमा हुने परिवर्तनहरूका बारेमा जानकारी गराए । ‘स्वस्र्फुत रूपमा तन, मन र धनबाट गरिने सेवाभावले जीवन सुखमय हुन्छ,’ उनले भने, ‘त्यसका लागि सत्सङ्गको आवश्यकता पर्दछ ।’
त्यस्तै, सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलले पनि सत्सङ्गले ज्ञानको ज्योति फैलाउन मद्दत पुग्ने जनाए । विश्व अशान्तितर्फ गइरहेको जिकिर गरेका उनले सन्त निरंकारी मण्डलले सत्सङ्ग र ज्ञान फैलाइरहेको दाबी गरे । सन्त निरंकारी मिसन आध्यात्मिक शान्ति विश्वबन्धुत्वका साथै सामाजिक सेवाको मार्गमा प्रयासरत संस्था रहेको रावलले जानकारी दिए । संस्थालाई कुनै धर्म वा समुदाय नभइ एक आध्यात्मिक विचारधाराका रूपमा अघि बढाइएको उनको भनाइ छ । मिसनको मूल उद्देश्य अनेकतामा एकता रहेको बताइएको छ । सत्सङ्ग कार्यक्रममा सुर्खेतका जिल्ला संयोजक सहवीर थापा, स्थानीय मुखी लिलाराम पुरी, सोलीघोप्टे सत्सङ्ग भवनका सेवा दल सञ्चालनक बलभद्र पुरीलगायत सहभागी थिए । उक्त कार्यक्रममा सयौँको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः १ पुष २०७९, शुक्रबार ०५:०४
साझा बिसौनी ।