विपन्न विद्यार्थीको सहयोगार्थ चिया बिक्री

सुर्खेतः सरकारी विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई आर्थिक सहयोग जुटाउन चिया बिक्री गरिएको छ । मध्यपश्चिम विश्वविद्यालय (एमयू) अन्तर्गत मुुसोमका विद्यार्थीले सोमवार बिहानदेखि वीरेन्द्रनगरका विभिन्न स्थानमा चिया बेचेर सहयोग संकलन थालेका छन् । गरिब तथा विपन्न विद्यार्थीको पढाइमा सहज पुगोस् भन्ने उद्देश्यले चिया तथा नास्ता बिक्री गरेर रकम संकलन थालेको बिबिए दोस्रो सेमेस्टारका विद्यार्थी हिमानी शाहीले बताइन् । उनका अनुसार यसरी संकलित रकम सरकारी विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार बालबालिकालाई प्रदान गरिनेछ । मुसोमका विद्यार्थीले सहयोग रकम जुटाउन चार ठाउँमा चिया स्टल राखेका छन् । वीरेन्द्रनगरको मंगलगढीचोक, यरीचोक, पिपलचौतारा र क्याम्पस रोडमा चिया पसल थापिएको हो । चिया स्टल नजिकै सहयोग पेटिका राखिएका छन् । चिया नास्ता खानेहरुले ती पेटीकामा स्वैच्छिक रुपमा रकम राख्ने व्यवस्था गरिएको छ । मुसोममा अध्यनरत बीबीएका १२ जना र एमबिएका दुुई जना विद्यार्थीले सुरु गरेको अभियान एक सातासम्म चल्नेछ ।

विद्यार्थीले ग्यास चुल्हो, भाँडा र प्लास्टिकका गिलास लगायतका सामान प्रयोग गरेर चोकहरुमा विपन्न विद्यार्थीको सहयोगार्थ चिया नास्ता बेचेका हुन् । गरिब तथा जेहन्दार बालबालिकाको सहयोगका लागि आफूहरुले चिया बेचेर रकम संकलनको प्रयास गरेको विद्यार्थीहरुले बताएका छन् । सोमवार पिपल चौतारबाट मात्र चार सय कप चिया वितरण गरिएको छ । चिया पिउने सबैजसोले एक सय रुपैयाँदेखि माथि सहयोग गरेको बताइएको छ । यसरी संकलन गरिएको रकम सम्बन्धित विद्यालयहरुमा लगेर शिक्षकलाई दिइनेछ । विद्यालयले आवश्यकताका आधारमा गरिब तथा जेहन्दार विद्यार्थीलाई सहयोग गर्ने जनाइएको छ ।

प्रकाशित मितिः   २७ मंसिर २०७९, मंगलवार १२:३३