कर्णालीबाट ६१ जना सांसद
सुर्खेत: कर्णाली प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी ६१ जना सांसद बन्ने भएका छन् । प्रत्यक्ष तथा समानुपातिकतर्फको गरेर सो संख्यामा संसद्मा प्रतिनिधित्व हुने भएको हो । जसमध्ये ३८ जना पुरुष र २३ जना महिला छन् । १० वटा जिल्ला रहेको कर्णालीमा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका १२ र प्रदेशसभाका २४ सीट छन् । मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा कर्णालीबाट १२ जना सांसद् निर्वाचित भएका छन् । प्रतिनिधिसभाका लागि दलहरूले पाएको मतका आधारमा समानुपातिकतर्फ कर्णालीबाट नौ जनाको नाम सांसदका लागि निर्वाचन आयोगमा सिफारिस गरिएको छ । योसँगै प्रतिनिधिसभामा यहाँबाट प्रत्यक्ष र समानुपातिक गरी २१ जना सांसद बन्नेछन् ।
प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ कर्णालीबाट नेपाली कांग्रेस र नेकपा ‐एमाले)ले तीन÷तीन जना, नेकपा ‐माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले एक/एक जना सांसदको सीट पाएका छन् । कांग्रेसले प्रतिनिधिसभामा प्रदेशबाट तीन जना महिलालाई सिफारिस गरेको छ । खसआर्यबाट कान्तिका सेजुवाल (जुम्ला), महिलाबाट महिना रावल (जाजरकोट), आदिबासी जनजातिबाट सीताकुमारी राना (दैलेख) सिफारिसमा परेका छन् । यस्तै, एमालेबाट महिला कोटामा दीपा शर्मा (दैलेख), आदीबासी जनजाती कोटाबाट सूर्यकुमारी श्रेष्ठ (दैलेख) र दलित कोटामा चन्द्रबहादुर विश्वकर्मा (रुकुम–पश्चिम) चयन भएका छन् । नेकपा ‐माओवादी केन्द्र)ले आदिबासी जनजाती महिला कोटाबाट छिरिङ ल्यामु लामा तामाङ (जुम्ला) लाई सिफारिस गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दलित कोटाबाट अनिषा नेपाली (सल्यान) र राष्ट्रिय स्वतन्त्र पार्टीले पिछडिएको क्षेत्रबाट विनिता कठायत (जुम्ला) लाई सांसदका लागि आयोगमा सिफारिस गरेको छ । प्रतिनिधिसभाका लागि कर्णालीबाट समानुपातिका नौ सीटमा आठ महिला र एक जना मात्रै पुरुष पर्ने भएका छन् ।
कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ २४ र समानुपातिक १६ गरी ४० जना सांसद बन्नेछन् । जसमध्ये २५ जना पुरुष र १५ जना महिलाको प्रदेशसभामा सहभागिता हुनेछ । प्रदेशसभाका लागि पनि दलहरूले समानुपातिकतर्फ आफूले प्राप्त गरेको सीटको आधारमा सूचि बुझाएका छन् । कर्णाली प्रदेशसभाका समानुपातिकतर्फका १६ सीटमध्ये कांग्रेस र एमालेले समान पाँच/पाँच, माओवादी केन्द्रले चार, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले एक÷एक सीट पाएका छन् । यसमध्ये एक जना पुरुषबाहेक अरु सबै महिलाको नाम सिफारिसमा परेको छ । प्रमुख दलहरूले प्रदेशमा प्रत्यक्षतर्फ महिला उम्मेदवार नै नबनाएका कारण प्रत्यक्षतर्फका सबै सीटमा पुरुष निर्वाचित भएका छन् । संसद्मा महिला सहभागिता ३३ प्रतिशत पुर्याउनु पर्ने संवैधानिक व्यवस्थाका कारण दलहरूले विभिन्न कलस्टरबाट महिलाहरू नै सिफारिस गरेका हुन् । नेकपा एमालेले मात्रै प्रदेशसभामा समानुपातिकतर्फ एक जना पुरुष सिफारिस गरेको छ । अरु दलबाट सिफारिस हुनेमा सबै महिला छन् । यसअघिको प्रदेशसभाको पहिलो कार्यकालमा समानुपातिकतर्फ १३ जना महिलाको प्रतिनिधित्व थियो । उक्त कार्यकालमा पनि प्रत्यक्षतर्फ महिला सहभागिता शून्य रहेको थियो ।
यसपटक प्रदेशसभामा समानुपातिकतर्फ कांग्रेसले पाएको पाँच वटै सीटमा महिलालाई सिफारिस गरेको छ । जसमा दलित कोटाबाट लक्ष्मी सुनार (सल्यान) आदीबासी जनजातीबाट बली माया बुढा (सुर्खेत), खसआर्यबाट जानकी सिंह (सुर्खेत), विजया बुढा (हुम्ला) र इन्द्रकुमारी शाही ( दैलेख) को नाम प्रदेशसभा सदस्यमा सिफारिस भएको छ । एमालेले पाएको पाँच वटा सीटमा चार जना महिला र एक जना पुरुष पठाएको छ । महिला कोटाबाट दक्षिणा शाही (कालीकोट), तुलसा मल्ल (रुकुम–पश्चिम), आदीबासी जनजाती कोटाबाट नन्दा गुरुङ (सुर्खेत), दलित कोटाबाट गमता विक (दैलेख) को नाम चयन भएको हो । पिछडिएको क्षेत्रबाट एमालेले हुम्लाका कलबहादुर हमाललाई प्रदेशसभा सदस्यका लागि सिफारिस गरेको छ ।
त्यस्तै, माओवादी केन्द्रले पाएको चार वटै सीटमा महिला पठाएको छ । माओवादी केन्द्रले दलित कोटामा उर्मिला विक (डोल्पा), आदीबासी जनजातीमा जुम्कित लामा (हुम्ला), खसआर्यमा यशोदा न्यौपाने (कालीकोट) र मिलन खड्का रोका (रुकुम–पश्चिम) लाई पठाएको हो । नेकपा ‐एकीकृत समाजवादी) ले खसआर्यबाट कल्याणी खड्का (रुकुम–पश्चिम) र राष्ट्रिय प्रजातन्त्र पार्टीले महिला कोटाबाट सन्तोषी शाही (सुर्खेत) लाई प्रदेशसभा सदस्यका लागि आयोगमा सिफारिस गरेको छ ।
सबैभन्दा धेरै सांसद दैलेखका
कर्णालीबाट प्रतिनिधिसभा र प्रदेशसभामा सबैभन्दा बढी सांसद पाउने जिल्ला दैलेख भएको छ । उक्त जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष तथा समानुपातिक गरी ११ जना सांसद्ले प्रतिनिधित्व गर्ने भएका छन् । दुई वटा प्रतिनिधिसभा र चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा ६ जना प्रत्यक्ष निर्वाचित भएका छन् । यहाँ पाँच जना समानुपातिकतर्फ सिफारिसमा परेका हुन् । दैलेखपछि धेरै सांसद पाउनेमा सुर्खेत छ । यो जिल्लामा प्रत्यक्ष र समानुपातिक गरेर १० जना सांसद बन्ने भएका छन् । दुई वटा प्रतिनिधिसभा र चार वटा प्रदेशसभाका निर्वाचन क्षेत्र रहेको सुर्खेतमा ६ जना प्रत्यक्ष निर्वाचित भइसकेका छन् भने चार जना समानुपातिकतर्फ सिफारिसमा परेका छन् । यसैगरी, प्रतिनिधिसभा र प्रदेशसभामा गरी रुकुम–पश्चिमबाट सात जना, जुम्ला र हुम्लाबाट ६÷६ जना, कालीकोटबाट पाँच जना, सल्यानबाट पाँच जना, डोल्पाबाट चार जना, जाजरकोटबाट चार जना र मुगुबाट तीन जनाले प्रतिनिधित्व गर्ने भएका छन् ।
प्रत्यक्षतर्फको नतिजा यसअघि नै आएपनि समानुपातिक निर्वाचन प्रणालीबाट सांसद चयन गर्न आयोगले अन्तिम गृहकार्य थालेको छ । सोहीअनुसार दलहरूले पार्टीले पाएको लोकप्रिय मतका आधारमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि नामावली सिफारिस गरेका छन् । आयोगले दलहरूले बुझाएको समानुपातिक सांसदको सूचिको आइतवारबाट छानबिन सुरु गरेको हो । छानबिनपछि क्लस्टरअनुसार सांसदहरूको सूचि नमिलेमा आयोगले दलहरूलाई मिलाउन समय दिनेछ । दलहरूलाई नामावली सच्याउन आज ‐सोमवार) सम्मको समय दिएको छ । आयोगमा दलहरूले बुझाएको सूचीभित्रैबाट समानुपातिक सांसदहरूको नामावली बुझाउनुपर्छ । त्यसको छानबिन पश्चात् आयोगले प्रमाणित गरेपछि मात्रै समानुपातिक सांसद चयन हुनेछन् ।
प्रकाशित मितिः २६ मंसिर २०७९, सोमबार ०५:०५
मुना हमाल ।