लैङ्गिक हिंसा विरुद्ध हातेमालो गर्न जोड

सुर्खेत: लैङ्गिक हिंसा विरुद्ध सबै एक हुनुपर्ने सरोकारवालाहरूले बताएका छन् । वीरेन्द्रनगर नगरपालिकाले शनिवार आयोजना गरेको कार्यस्थलमा हुने गरेका लैङ्गिक हिंसा तथा दुव्र्यवहारको न्यूनीकरण विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन । हिंसा न्यूनीकरणमा आ–आफ्नो ठाउँबाट हात्तेमालो गर्दै एक भएर लाग्नुपर्नेमा जोड दिइएको हो । कार्यक्रममा धारणा राख्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले लैङ्गिक हिंसा विरुद्ध सबै एकजुट हुन आवश्यक रहेको औल्याइन् । उनले लैङ्गिक हिंसा न्यूनीकरणका लागि नगरपालिका तत्पर र प्रतिबद्ध रहेको बताइन् । ढकालले जुनसुकै हिंसा विरुद्ध एक भएर समानताको अभियानमा निरन्तर लाग्न आग्रह गरिन् । उनले भनिन्, ‘लक्ष्यमा नपुग्ने बेलासम्म अभियान निरन्तर हुन आवश्यक छ । लैङ्गिक हिंसाका कारण महिला र बालिकाहरू अझै पीडित छन् । हिंसा विरुद्ध सबै एक हुनैपर्ने छ ।’

यस्तै, अधिकारकर्मी निशा पौडेलले लैङ्गिक हिंसाको चपेटामा महिला र बालिका बढी पीडित भएकाले त्यसको न्यूनीकरणका लागि सबैको भूमिका महŒवपूर्ण रहने बताइन् । उनले अब भौतिक विकासमा मात्र जोड नदिएर मानवीय विकासलाई पनि उत्तिकै महŒव दिनुपर्ने धारणा राखिन् । कानुनी सचेतनाका कुराहरू थाहा नपाउँदा हिंसा बढिरहेको भन्दै पौडेलले यसतर्फ सराोकारवालको ध्यान जान जरुरी रहेको जनाइन् । उनले भनिन्, ‘सहर बजारभन्दा पनि गाउँघरमा अधिकारका बारेमा थाहा नपाउँदा महिला तथा बालिकाहरू हिंसा भोग्न बाध्य छन्, अब सचेत गराउने कार्यक्रमको कार्ययोजना बनाएर अघि बढ्नुपर्छ ।’ कार्यक्रममा अधिकारकर्मी जरमाया बाँठाले कानुनी सचेतनासँगै कानुनको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिनुपर्ने बताइन् । हिंसा प्रभावितलाई सहयोग पुग्ने सीपमूलक तथा आत्मनिर्भरका कार्यक्रमहरू आवश्यक देखिएको उनको भनाइ थियो ।

प्रकाशित मितिः   २५ मंसिर २०७९, आईतवार ०५:०१