किशोरी आमा बन्दा स्वास्थ्य जोखिममा

सुर्खेत: कर्णाली प्रदेशमा गत आर्थिक वर्ष २०७८/०७९ मा सुत्केरी हुन नसकेर १७ जना महिलाको ज्यान गयो । त्यसमध्ये पाँच जना २० वर्ष मुनिका हुन् । बालविवाहका कारण कलिलै उमेरमा गर्भवती हुँदा यहाँ धेरै किशोरी आमाहरूको ज्यान खतरामा पर्ने गरेको छ । सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य शाखाकी सामुदायिक नर्सिङ अधिकृत कविता खत्री उमेर नपुगी विवाह गरेर गर्भवती हुँदा कर्णालीमा मातृ मृत्युदरमा कमी आउन नसकेको बताउँछिन् । ‘बाल विवाहका कारण महिलाको स्वास्थ्यमा ठूलो असर परेको छ,’ उनले भनिन्, ‘किशोरावस्थामै गर्भवती हुँदा आमा र शिशु दुवैको ज्यान जोखिममा पर्छ ।’ उनले कर्णालीमा अहिले पनि मातृ मृत्युदर धेरै नै रहेको जनाइन् । हरेक वर्ष यही हाराहारीमा सुत्केरी हुन नसकेर महिलाहरूको ज्यान गइरहेको छ । कलिलैमा आमा बन्दा पाठेघर खस्ने तथा अन्य शारीरिक समस्यासमेत देखिने गरेका छन् । जनस्वास्थ्यकर्मीहरूका अनुसार बालखैमा विवाह गर्दा आमा र बच्चा दुवै कुपोषित हुने समस्यासमेत अधिक छ । ‘कर्णालीको मातृ मृत्युको तथ्याङ्क हेर्ने हो भने अवस्था डरलाग्दो छ, सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माउने चलनका कारण स्वास्थ्य समस्या मात्र नभइ ज्यानै जोखिममा पर्ने गरेको छ,’ खत्रीले भनिन् ।

कर्णालीमा कम उमेरमै आमा बन्नको संख्या अहिले पनि धेरै छ । पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा २० वर्ष मुनीको उम्मेरमै आमा बन्नेकोहरूको सख्या ठूलो देखिन्छ । प्रदेशभर २०७६ यता १६ हजार सात सय एक जना २० वर्ष मुनिका किशोरीहरू गर्भवती भएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको विवरणअनुसार आर्थिक वर्ष २०७६/०७७ मा २४ हजार नौ सय ९९ जना गर्भवतीमध्ये पाँच हजार तीन सय २८ जना २० वर्ष मुनिका थिए । आर्थिक वर्ष २०७७/०७८ मा २८ हजार नौ सय १७ गर्भवतीमध्ये ६ हजार २० जना २० वर्ष मुनिका थिए । त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा २६ हजार तीन सय ४१ गर्भवतीमध्ये पाँच हजार तीन सय ५३ जना २० वर्ष मुनिका रहेको निर्देशनालयको तथ्याङ्क छ ।

२० वर्ष नपुगी विवाह गर्नस कानुनी रूपमा बर्जित भएपनि कर्णालीका अधिकांश जिल्लामा बालविवाह गर्ने प्रचलन अहिले पनि ब्याप्त छ । यसलाई रोक्न सरकारी तथा गैरसरकारी संघ संस्थाबाट विभिन्न अभियान तथा कार्यक्रमहरू सञ्चालन भइरहे पनि बालविहाह न्यूनीकरणमा अपेक्षित उपलब्धी हासिल हुन सकेको छैन । कर्णालीमा असहले पनि ५२ प्रतिशत बालविवाह हुने गरेको सरकारी तथ्याङ्क छ । गरिबी, अशिक्षा र पछिल्लो समय सामाजिक सञ्जालको दुरूपयोगले पनि बालविवाह न्यूनीकरणमा चुनौती रहेको अभियान्ताहरू बताउँछन् । बालविवाहका उजुरी प्रहरीसम्म भने निकै कम आउने गरेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीमा पछिल्लो साढे दुई वर्षको अवधिमा ३७ वटा बालविवाहका मुद्दा दर्ता भएका छन् । बालविवाह गर्ने प्रचलन अहिले पनि ब्यापक रहेको र त्यस्ता घटनाहरू गाउँ समाजमा लुकाइने गरिएको बालविवाह विरुद्धकी अभियानकर्मी रचना सुनुवारले बताइन् । बालविवाहका कारण खासगरी किशोरीहरूको स्वास्थ्य र भविष्य अन्धकार हुने गरेको उनको भनाइ छ । सामाजिक विकास मन्त्रालयका सामाजिक सुरक्षा तथा महिला विकास महाशाखा प्रमुख अनिता ज्ञवालीले कर्णालीमा बालविवाह न्यूनीकरणका लागि रणनीतिक योजना बनाउने तयारी थालेको बताइन् । बालविवाहका कारण ज्यान नै जोखिममा पर्ने गरेको भन्दै उनले त्यसकोे अन्त्यका लागि सरोकारवालाहरू एकजुट भएर प्रभावकारी अभियान सञ्चालन गर्नुपर्ने बताइन् ।

प्रकाशित मितिः   २१ मंसिर २०७९, बुधबार ०५:०१