पहिले पीडित, अहिले अभियान्ता

सुर्खेत: वीरेन्द्रनगर–१० की सञ्जुुमाया चौधरीले आठ वर्षसम्म घरेलुु हिंसाको सिकार हुुनुुप¥यो । उनले लामो समय घरपरिवारबाटै मानसिक तथा शारीरिक यातना पाइन् । हिंसा पीडित उनले न्यायका लागि विभिन्न निकाय धाइन् । परिवारबाटै हिंसामा परेकी उनलाई सामान्य जीवन जीउन पनि मुस्किल थियो । चौधरीले कैयन् वर्ष श्रीमान्को कुुटपिट र समाजको अपहेलना सहेर जसोतसो घर व्यवहार धानिन् । ‘अति नै हुन थालेपछि न्यायका लागि अड्डा अदालत धाउन थालेकी हुँ,’ उनले भनिन्, ‘त्यो बीचमा धेरै पटक आत्महत्याको प्रयास पनि गरेँ, छोरीको भविष्य सम्झेर मर्न सकिन ।’ कुनै बेला परिवारको अन्याय र हिंसाका कारण बाँच्ने आधार नै नदेखेकी चौधरी आफ्नो न्यायका लागि लड्दा लड्दै अहिले आफैँ हिंसा विरुद्धका अभियानकी अभियान्ता भएकी छन् । उनले आफूजस्तै हिंसाको सिकार भएका महिलाहरूलाई न्याय दिन पैरवी गरिरहेकी छन् ।

चौधरी अहिले श्रीमान्सँग सम्बन्धविच्छेद गरेर छुुट्टै बस्न थालेकी छन् । उनले भनिन्, ‘मैले श्रीमान्बाट पाउनसम्म यातना पाए, त्यस्तो बेला घरपरिवारका अरु सदस्यले पनि हेरेनन्, यस्तो अवस्थामा न्याय दिनुपर्छ भन्ने लागेर अहिले हिंसाका घटनामा पीडितहरूको न्यायका लागि काम गरिरहेकी छु ।’ चौधरी केही वर्ष पहिले अनौपचारिक सेवा केन्द्र ‐इन्सेक)को महिला रक्षक सञ्जालमा आवद्ध भइन् । त्यसपछि उनलाई लाग्यो आफूजस्तै हिंसा भोगेका पीडितहरूको पक्षमा काम गर्नुपर्छ । यही सञ्जालका माध्यमबाट उनी सामाजिक न्यायका अभियानहरूमा सक्रिय हुँदै गइन् । हिंसापीडित महिलाहरूलाई न्यायका लागि पैरवी गर्न थालिन् । चौधरीले विभिन्न संघ–संस्थाको सहयोगमा सीपमूलक तालिम लिइन् । त्यसै तालिमको सहारामा स्वरोजगार बनेपछि घर खर्च चलाउन सहज भयो । ‘आत्मनिर्भर भएपछि दैनिकी सहज बन्दै गयो,’ उनले भनिन्, ‘त्यसपछि अरु दिदीबहीनीहरूलाई पनि साथ दिन सकेँ ।’ उनी अहिले हिंसामा परेका महिलालाई परामर्श र कानुुनी लेखापढीमा समेत मद्दत गर्दै आएकी छन् । कुुनै बेला आफ्नै समस्या लुकाएर सहन बाध्य उनी अहिले हिंसापीडित महिलाहरूको सहारा बनेकी छन् । चौधरीले पीडितलाई न्यायको ढोका देखाउने अभियानका रूपमा परिचय बनाएकी छन् । अरुको हक, अधिकार र न्यायका लागि लड्ने उनी महिलाहरू आत्मनिर्भर नहुँदा पनि घरेलु हिंसाको सिकार हुनु परिरहेको बताउँछिन् । आत्मनिर्भर भए आत्मविश्वास पनि बढ्ने उनको भनाइ छ ।

वीरेन्द्रनगर–१ की तुुलसी गिरीले कलिलै उमेरमा विवाह गरिन् । त्योपनि बहुविवाह । उनलाई घरपरिवार र समाजले तिरस्कार ग¥यो । विहे गरेर गएको घरमा बस्न पाइनन् । उमेर नपुग्दै अञ्जानमा विहे गरेकी उनले अनेक कष्ट खेपिन । नौ वर्षसम्म परिवारको तिरस्कार खेपेकी गिरीलाई २०७९ वैशाखमा झनै ठूलो बज्रपात प¥यो । उनको श्रीमान्को मृत्युु भयो । परिवारको साथ नपाए पनि श्रीमान्सँग संघर्ष गरेर गुजारा चलाइरहेकी उनलाई साथ दिने अब कोही भएनन् । श्रीमान्को मृत्युु भएपछि पनि उनलाई घरपरिवारले स्वीकार गरेनन् । ‘ससुरा र नन्दबाट धेरै हिंसा खेपेँ,’ उनी भन्छिन्, ‘न्यायका लागि अहिले पनि विभिन्न निकाय धाइरहेकी छु ।’ २७ वर्षीया गिरीका पाँच वर्षका छोरा छन् । सन्तानको भविष्यको चिन्ताले सताउने गरेको उनी बताउँछिन् । उनले पछिल्लो समय आफूजस्तै हिंसामा परेका महिलाहरूका लागि पनि काम गर्दै आएकी छन् । ‘महिला हिंसा विरुद्धका विभिन्न अभियानहरूमा सरिक भइरहेकी छु, त्यस्ता अभियानमा जोडिदा आत्मविश्वास बढ्ने रहेछ,’ उनले भनिन् । बालखैमा विहे गरेकी उनले अहिले विद्यालयहरूमा बालिकाहरूलाई सचेतना फैलाउने कार्यक्रमहरू सञ्चालन गर्छिन् । लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउन थालेकी उनी महिलाहरू आर्थिक अभाव र शिक्षाको कमीका कारण हिंसामा पर्नुु परेको सुनाउँछिन् ।

दैलेखको दुल्लू नगरपालिका १० की कल्पना थापा (नाम परिवर्तित) ले २०६७ सालमा विवाह गरिन् । उनका श्रीमान्ले सात वर्षपछि बहुविवाह गरे । समाजका अगुवाहरू बसेर मिलापत्र गरे । सबैसँगै बस्ने सहमति भयो । उनकी दुई छोरी छन् । बहुविवाह गर्नुभन्दा पहिलेदेखि नै श्रीमान्को यातना खेप्दै आएकी उनीमाथि थप हिंसा हुन थाल्यो । श्रीमान्ले मानसिक र शारीरिक यातना दिइरहे । उनी न्यायका लागि थुप्रै पटक उजुरी गर्न प्रहरीमा गइन् । घरपरिवारले विभिन्न दवाव दिएर उजुरी दिनबाट रोके । थापा श्रीमान् र सासुबाट वर्षाैंसम्म हिंसामा परिन् । ‘मेरो चरित्रमाथि नै प्रश्न उठाइयोे, मानसिक र शारीरिक यातनाको कुरै नगरौँ,’ थापाले भनिन् । श्रीमान्ले मदिरा सेवन गरेर दैनिक यातना दिने गरेका थिए । परिवार र समाजको डर त्रास तथा दवावले उनले कानुुनी प्रक्रियामा जान पनि सकिनन् । जसले गर्दा थप हिंसा खेप्नु परिरह्यो । महिला तथा बालबालिकाका क्षेत्रमा कार्यरत आवाज संस्थाले उनको उद्धार ग¥यो । थापा अहिले सोही संस्थाको सहयोगमा सीपमूलक तालिम लिएर स्वरोजगार बनेकी छन् । आफूजस्तै हिंसामा परेकाहरूलाई उद्धार र परामर्श दिन्छिन् । आफूले भोगेका समस्या अरुले भोग्न नपरोस् भनेर विद्यालय, टोल र छरछिमेकमा सचेतनामूलक कार्यक्रमहरू गर्दै आएकी छन् ।

आफै हिंसामा परेर न्याय खोज्दै अरुको पनि सहारा बनिरहेका यी केही प्रतिनिधिमूलक पात्र हुन् । अहिले पनि थुप्रै महिलाहरू विभिन्न बहानामा घरपरिवार र समाजबाट अनेकन् हिंसाको सिकार भइरहेका छन् । महिलाहरू लैङ्गिक हिंसा, घरेलु हिंसा र बलात्कारजस्ता घटनामा पीडित छन् । समाजमा चेतनाको स्तर बढ्दै गए पनि हिंसाका घटनामा कमी आउनुको साटो झन्–झन् बढ्दै गएको अधिवक्ता गीता कोइराला बताउँछिन् । यतिबेला महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । सरकारी तथा गैरसरकारी निकायहरूले सञ्चालन गरेका यस्ता अभियान भने औपचारिकतामा मात्रै सीमित हुने गरेका छन् । तामझामका साथ हरेक वर्ष मनाइने महिला हिंसा विरुद्धका अभियानको प्रभाव भने न्यून देखिन्छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला वर्षहरूमा महिला हिंसाका उजुरीहरू बढ्दो क्रममा छन् । कर्णालीमा महिला हिंसा सम्बन्धिका उजुरी धेरै पर्ने गरेका हुन् । घरेलु, यौनजन्य र लैङ्गिक हिंसाका उजुरीहरू दैनिकजसो आउने गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   २० मंसिर २०७९, मंगलवार ०९:३८