स्थानीय सरकार हाँकेर संसद्को यात्रा

सुर्खेत: यसअघि स्थानीय तहको नेतृत्व गरिसकेका केही व्यक्तिहरू यसपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । कर्णालीमा स्थानीय सरकार हाँकेका दुई जना पालिका प्रमुख र दुई जना समन्वय प्रमुख प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । सल्यानको सारदा नगरपालिकाका निवर्तमान प्रमुख सुरेश अधिकारी र दैलेखको दुल्लू नगरपालिकाका निवर्तमान प्रमुख घनश्याम भण्डारी कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै, यसअघि जिल्ला समन्वय समितिको प्रमुख रहेका रुकुम–पश्चिमका राजकुमार शर्मा र डोल्पाका शेरबहादुर बुढा पनि प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । स्थानीय तह र जिल्लाको नेतृत्व सम्हालेर उनीहरूले प्रदेशको संसद् यात्रा तय गरेका हुन् ।

अधिकारी सल्यानको प्रदेशसभा ‘ख’ बाट निर्वाचित भएका छन् भने भण्डारी दैलेखको क्षेत्र नं. २ प्रदेशसभा ‘क’ बाट विजयी भएका हुन् । स्थानीय तहमा रहेर जनताको आवश्यकताका आधारमा ऐन कानुन निर्माणमा अनुभव लिइसकेकाले प्रदेशका नागरिकको जनजीविकाका सवालसँग जोडिएका सवालमा कानुन निर्माणमा आफूहरूले महŒवपूर्ण भूमिका खेल्न सक्ने प्रदेशसभा सदस्यमा निर्वाचित भण्डारी बताउँछन् । उनले स्थानीय सरकार सञ्चालन गरेको अनुभवले प्रदेशमा राम्रो योगदान गर्न सक्नेमा आफू ढुक्क रहेको बताए । संसद्मा ऐन कानुन निर्माणदेखि सरकार सञ्चालनसम्म आफ्ना अनुभवहरू काम लाग्ने उनको दाबी छ । ‘पछिल्लो समय प्रदेश सरकार खारेज हुनुपर्छ भन्ने आवाजहरू उठिरहँदा प्रदेशको संरचना आवश्यक छ भनेर त्यसको औचित्य पुष्टि हुनेगरी काम गरिनेछ,’ भण्डारीले भने, ‘खासगरी कानुन निर्माणमा मेरो भूमिका रहनेछ ।’

यस्तै, सारदा नगरपालिकाका निवर्तमान प्रमुख अधिकारी पनि जनताको आवश्यकतासँग जोडिएका ऐन कानुन बनाउन आफ्नो योगदान रहने बताउँछन् । उनले भने, ‘म नगरप्रमुख हुँदा नगरवासीको समस्या र उनीहरूको आवश्यकताका आधारमा थुप्रै नीति, नियम र कानुन बनाएर कार्यान्वयनमा लगिएको छ । त्यो अनुभव अब प्रदेशसभामा पक्कै काम लाग्नेछ ।’ अधिकारीले प्रदेशसभा सदस्यको मुख्य जिम्मेवारी कानुन निर्माण भएपनि स्थानीय सरकार सञ्चालन गरेको अनुभवका आधारमा समग्र कर्णालीको विकासका लागि पनि पहल गरिने बताए ।

प्रकाशित मितिः   १६ मंसिर २०७९, शुक्रबार ०५:०१