समानुपातिकमा विगतकै लोकप्रियता कायम

सुर्खेत: मंसिर ४ गते सम्पन्न संसदीय निर्वाचनको समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत परिणामअनुसार कर्णालीमा नेकपा ‐एमाले) पहिलो दल बनेको छ । एमालेले यसपटक पनि २०७४ को लोकप्रियतालाई कायमै राखेको हो ।

प्रदेशसभातर्फ एमालेले समानुपातिकमा एक लाख ८३ हजार नौ सय ५० मत प्राप्त गरेको छ । अघिल्लो निर्वाचनमा पनि एमाले पहिलो दल बनेको थियो । प्रदेशमा लोकप्रिय मतमा नेपाली कांग्रेस दोस्रो र नेकपा ‐माओवादी केन्द्र) तेस्रो भएको छ । चुनावी तालमेलका कारण प्रत्यक्षतर्फको ‘पोजिसन’ विगतभन्दा बदलिए पनि समानुपातिकमा भने मुख्य दलहरू आ–आफ्नै स्थानमा देखिएका छन् । कांग्रेसले प्रदेशमा यसपटक समानुपातिकमा एक लाख ७० हजार सात सय ५६ मत प्राप्त गरी दोस्रो स्थान सुनिश्चित गरेको छ । त्यस्तै, माओवादी केन्द्र एक लाख ३७ हजार ६ सय २९ मतसहित तेस्रो भएर पाँच वर्ष अघिकै लोकप्रियता जोगाउन सफल भएको छ ।

२०७४ मा कर्णालीमा समानुपातिकतर्फ चौथो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी ‐राप्रपा) यसपटक पाचौँ स्थानमा पुगेको छ । उसलाई नयाँ दल नेकपा ‐एकीकृत समाजवादी) ले उछिनेको हो । समानुपातिक मतमा प्रदेशमा चौथो बनेको एकीकृत समाजवादीले ३५ हजार आठ सय २६ मत ल्याएको छ । पार्टीले पाउने मतमा विगतकोभन्दा एक स्थान तल झरेको राप्रपाले २५ हजार एक सय ८६ मत प्राप्त गरेको छ । अघिल्लो निर्वाचनको तुलनामा यो पार्टीले मत संख्या भने झन्डै १० हजारले वृद्धि गरेको छ । राप्रपाले २०७४ को चुनावमा १५ हजार एक सय २९ मत ल्याएको थियो ।

कर्णालीमा समानुपातिकतर्फ पहिलो, दोस्रो र तेस्रो हुने दलहरूले पनि विगतको तुलनामा ठूलो संख्यामा मत वृद्धि गरेका छन् । यसपटक अघिल्लो चुनावभन्दा थप १० वटा दल बन्दसूचिमा परेका थिए । प्रदेशसभातर्फ पाँच वर्षअघि १८ दल सहभागी भएकोमा यसपालि २८ दलले प्रतिस्पर्धा गरेका हुन् । मत परिणामअनुसार कर्णालीमा साना दलहरूको समानुपातिकमा पनि प्रभाव न्यून देखिएको छ । समानुपातिक निर्वाचन प्रणालीमार्फत दलहरूको लोकप्रियता मापन हुने र सोही मतकै आधारमा सांसदको सीट पाइने हुँदा यसमा पनि प्रत्यक्ष निर्वाचनको नतिजा सरह चासो रहन्छ । प्रदेशसभा निर्वाचनका लागि समानुुपातिकतर्फ पाँच लाख ७७ हजार आठ सय २९ मत प्राप्त भएको छ ।

अघिल्लो निर्वाचनमा प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिक दुवैमा कर्णालीमा पहिलो बनेको एमाले यसपटक प्रत्यक्षमा भने क्षति ब्यहोर्नु परेको छ । एमालेले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा शून्य र प्रदेशसभामा पाँच सीटमा खुम्चिएको छ । यसअघिको संसदीय निर्वाचनमा उक्त पार्टीले प्रदेशमा प्रतिनिधिसभाका ६ र प्रदेशसभाका १४ सीट जितेको थियो । सत्तारुढ गठबन्धन दलको चुनावी तालमेलले एमालेलाई यसपटक चुनावी नतिजामा घाटा ब्यहोर्नुपरेको हो । उसो त २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रको पनि चुनावी तालमेल थियो । यसपटक एमालेले तीन दलसँग एक्लै प्रतिस्पर्धा गरेको हो । प्रत्यक्ष निर्वाचन प्रणालीमा प्रतिस्पर्धामा पछि परेपनि समानुपातिकतर्फ भने एमाले देशभरजस्तै कर्णालीमा पनि सबैभन्दा बढी लोकप्रिय दल बनेको छ । मतदाताले राजनीतिक दलहरूमध्ये एमालेलाई बढी रुचाएको मतपरिणामले देखिएको मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक कमल लम्साल बताउँछन् । पार्टीका नीति, कार्यक्रम र विचार तथा त्यसले नागरिकमा पारेको प्रभावका आधारमा समानुपातिक मत प्राप्त गर्ने गरेको पाइएको उनले बताए । ‘प्रत्यक्षमा केही सीट कम आए पनि एमालेप्रतिको उत्साहमा कमी नआएको नतिजाबाट देखिन्छ,’ उनले भने । समानुपातिक मत तलमाथि हुनुको कारण दलहरूले लिने नीति र त्यसले पारिरहेको प्रभावले निर्धारण हुने उनको भनाइ छ ।

२०७४ को निर्वाचनमा कर्णाली प्रदेशमा पहिलो पार्टी बनेको एमालेले समानुपातिकमा एक लाख ६९ हजार सात सय ५५ मत प्राप्त गरेको थियो । यसपटक पार्टी विभाजन हुँदा पनि झन्डै १५ हजार मत बढाएको छ । सो निर्वाचनमा समानुपातिकमा दोस्रो दलको रूपमा रहेको कांग्रेसले एक लाख ६२ हजार तीन र माओवादी केन्द्रले एक लाख १७ हजार दुुई सय ९८ मत ल्याएर तेस्रो स्थान बनाएको थियो । अघिल्लो निर्वाचनमा कर्णाली प्रदेशसभामा कांग्रेसले प्रत्यक्षतर्फ एक र समानुपातिकमा पाँच सीट प्राप्त गरेको थियो । माओवादी केन्द्रले प्रत्यक्षमा नौ र समानुपातिकमा चार सीट ल्याएको थियो । प्रदेशसभाको पहिलो कार्यकालमा चौथो दलको रूपमा रहेको राप्रपाले समानुपातिकतर्फ मात्रै एक सीट पाएको थियो ।

प्रत्यक्षतर्फका २४ सीट सुनिश्चित भइसकेकाले अब समानुपातिकबाट १६ जना प्रदेशसभा सदस्यमा चुनिनेछन् । अहिलेको समानुपातिक मत परिणामले एमाले र कांग्रेसले समान पाँच÷पाँच, माओवादी केन्द्र चार तथा एकीकृत समाजवादी र राप्रपाले एक÷एक सीट पाउने आकलन गरिएको छ । निर्वाचन आयोगका अनुसार प्रदेशसभातर्फ कूल सदर मतको एक दशमलव पाँच प्रतिशत भोट प्राप्त गरेमा दलहरूले सीट पाउने सुनिश्चितता हुन्छ । हालै सम्पन्न निर्वाचनमा कर्णालीको ४० सदस्यीय प्रदेशसभामा २४ जना प्रत्यक्ष निर्वाचित भइसकेका छन् । प्रत्यक्षमा कांग्रेस र माओवादी केन्द्रले नौ÷नौ सीट जितेका छन् भने एमालेले पाँच र स्वतन्त्र एक जना निर्वाचित भएका छन् ।

र्वाचन आयोगका अनुसार प्रदेशको समानुपातिकमा नेपाल मजदुर किसान पार्टीले आठ हजार नौ सय ८३ र नेपाल कम्युनिष्ट पार्टी ‐माक्र्सवादी लेनिनवादी) ले तीन हजार ९९ मत ल्याएको छ । कर्णालीमा समानुपातिकमा २१ वटा दलले भने दुई हजार मत पनि कटाएका छैनन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले एक हजार आठ सय ७१ मत, राष्ट्रिय जनमोर्चाले एक हजार आठ सय ३६, हाम्रो नेपाली पार्टीले एक हजार ६ सय ६२ र जनता समाजवादी पार्टीले एक हजार एक सय २४ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ६ सय ६, मंगोल नेशनल अर्गनाइजेशनले पाँच सय ७४, नेपाली कांग्रेस ‐बीपी) ले पाँच सय ३८, विवेकशील साझा पार्टीले चार सय ८९ मत पाएका छन् । प्रदेशमा समानसपातिकतर्फ सबैभन्दा थोरै नेपाल संघीय समाजवादी पार्टीले ४० मत प्राप्त गरेको छ ।

प्रकाशित मितिः   १४ मंसिर २०७९, बुधबार ११:२१