छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम प्रभावकारी

सुर्खेत: प्राविधिक विषयको उच्च शिक्षामा महिलाहरूको पहुँच बढाउने उद्देश्यले कर्णाली सरकारले सञ्चालन गरेको ‘छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७५/०७६ देखि सुरु भएको कार्यक्रम अन्तर्गत हालसम्म चार सय बढी छोरी–बुहारीले प्राविधिक तीन वर्षे डिप्लोमा अध्ययनको अवसर पाएका छन् । प्रत्येक वर्ष दिइने छात्रवृत्तिबाट प्रदेशका दशवटै जिल्लाका छात्राहरू लाभान्वित भएको शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दिपा हमाल बताउँछिन् । उनले लक्षित वर्गका लायि कार्यक्रम निकै प्रभावकारी बनेको जनाइन् ।

यो कार्यक्रम प्रदेशभर एकैसाथ लागू गरिएको थियो । प्रदेश सरकारले सुरुको आर्थिक वर्षमा कार्यक्रम कार्यान्वयनका लागि एक करोड ५० लाख बजेट विनियोजन गरेकोमा एक करोड ३२ लाख ८८ हजार खर्च भएको थियो । उक्त आर्थिक वर्षमा एक सय ५० जना छोरी र बुुहारीहरू छात्रवृत्तिमा समेटिएका थिए । उक्त वर्ष सुर्खेतमा २९, दैलेखमा २५, हुम्लामा २४, डोल्पामा २१, जुम्लामा १८, सल्यानमा १४, जाजरकोट र कालीकोटमा आठ÷आठ, रुकुुम–पश्चिममा दुुई र मुगुमा एक जनाले प्राविधिक विषय अध्ययनका लागि छात्रवृत्ति पाएका थिए ।

निर्देशनालयका अनुसार त्यसको पछिल्लो आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशभर एक सय १० जना छोरी र बुुहारीले छात्रवृत्ति पाए । सो आर्थिक वर्षमा सरकारले एक करोड बजेट छुट्याएको थियो । जसमध्ये ७६ लाख १६ हजार आठ सय रूपैयाँ कार्यान्वयन भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा एक सय ४१ जनाले छात्रवृत्ति प्राप्त गरेका थिए । उक्त वर्ष एक करोड ३० लाख ७१ हजार बजेट छात्रवृत्तिमा खर्च गरिएको थियो । हरेक वर्ष सञ्चालन भइरहेको कार्यक्रमले यसपटक पनि निरन्तरता पाएको छ । चालु वर्षका लागि झन्डै एक करोड बजेट विनियोजन गरिएको छ । यो वर्ष सुर्खेतका २० जना छात्रा छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्राविधिक विषय पढ्नका लागि छनोट भएका छन् ।

सरकारले स्वास्थ्य, कृषि, इन्जिनियरिङ्गलगायतका प्राविधिक विषयमा छोरी र बुहारीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । हालसम्म चार सय एक जनाले छात्रवृत्ति पाएका छन् । छात्रवृत्ति पाउनेहरूमा बाली विज्ञान विषय पढ्नेहरू धेरै छन् । एक सय ४४ जनाले बाली विज्ञान अध्ययनको अवसर पाएका हुन् । ७१ जनाले नर्सिङ, ३३ जनाले हेल्थ असिस्टेन, ६० जनाले इन्जियरिङ्ग, ३४ जनाले पशुु विज्ञान र नौ जनाले फार्मेसी अध्ययन गरिरहेका छन् । ६ जनाले रेडियोलोजी, ६ जनाले ल्याब टेक्निसियन, १२ जनाले वन विज्ञान, १३ जनाले कृषि विज्ञान तथा दुई जनाले सर्भे इन्जिनियरिङ्ग र दुई जनाले कम्प्युटर विषय अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेका छन् ।

कार्यक्रमको प्रभावले उच्च शिक्षामा छोरी र बुुहारीहरू आकर्षित बन्दै गएपछि कार्यक्रमले निरन्तरता पाइरहेको हमालले बताइन् । व्यावसायिक शिक्षामा महिला सहभागिता उल्लेखनीय रुपमा बढाउन छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम ल्याइएको उनले जनाइन् । उनी भन्छिन्, ‘व्यावसायिक तथा प्राविधिक शिक्षामा छात्राहरूको संख्या वृद्धि गर्न र छोरी–बुहारीले पढ्ने अवसर पाउन भनेर नै सरकारले यस्तो नीति तथा कार्यक्रम ल्याएको हो ।’ सुर्खेतमा निर्देशनालय र प्रदेशका अन्य नौ जिल्लामा सम्बन्धित सामाजिक विकास कार्यालयमार्फत प्रत्येक वर्ष छात्रवृत्ति वितरण हुँुदै आएको छ ।

प्रकाशित मितिः   १३ मंसिर २०७९, मंगलवार ०५:०१