कर्णालीमा कहाँ कसले जिते ?
सुर्खेत: गएको आइतवार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । कर्णालीमा प्रतिनिधिसभाका १२ र प्रदेशसभाका २४ निर्वाचन क्षेत्रमध्ये केहीको मात्रै अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । बुधवार साँझ यो समाचार तयार पार्दासम्म प्रतिनिधिसभाको एक र प्रदेशसभाका पाँच वटा निर्वाचन क्षेत्रको मात्रै अन्तिम मतपरिणाम सार्वजनिक भएको थियो । प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नं. २ को अन्तिम मतपरिणाम आएको छ भने प्रदेशसभातर्फ जुम्ला र जाजरकोटका दुई÷दुई तथा दैलेखको एक निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । अन्य अधिकांश निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ ।
सुर्खेत निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका हृदयराम थानी विजयी भएका छन् । उनी ३४ हजार ६ सय २५ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । सत्ता गठबन्धनका उम्मेदवार थानीले एमालेका जिल्ला अध्यक्ष अमृतकुमार बिसीलाई पाँच हजार ६७ मतान्तरले पराजित गरेका छन् । विसीले २९ हजार पाँच सय ५८ मत प्राप्त ल्याएका छन् । यो निर्वाचन क्षेत्रमा ७६ हजार तीन सय ५२ मत खसेको थियो । थानी यसअघि २०५६ र २०७० को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । उनी पूर्वसहकारी तथा गरिबी निवारण मन्त्रीसमेत हुन् । सुर्खेत क्षेत्र नं. १ मा मंगलवार रातिदेखि सुरु भएको मतगणना जारी छ । त्यहाँ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सुरुदेखि नै अग्रता कायमै राखेका छन् । त्यस्तै, प्रतिनिधिसभातर्फ दैलेख, जुम्ला, जाजरकोट, कालीकोट, सल्यान, रुकुम–पश्चिम र मुगुमा पनि धमाधम मतगणना भइरहेको छ ।
प्रदेशसभातर्फ जाजरकोटमा नेपाली कांग्रेसले दुवै निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको छ । एक मात्रै निर्वाचत क्षेत्र रहेको जाजरकोटमा प्रदेशसभा ‘क’ मा वेदराज सिंह र ‘ख’ मा राजीविक्रम शाह निर्वाचित भएका छन् । सिंहले नेकपा ‐एमाले) का डम्बरबहादुर सिंह र शाहले एमालेकै खिमबहादुर शाहीलाई पराजित गरेका हुन् । कांग्रेसका सिंहले १८ हजार पाँच ४३ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका डम्बरबहादुर सिंहले १२ हजार चार सय ७० मत पाएका छन् । कांग्रेसका शाहले १६ हजार ४० मत ल्याउँदा उनका प्रतिस्पर्धी शाहीले १० हजार ३० मत प्राप्त गरेका छन् । त्यस्तै, दैलेख क्षेन नं. १ ‘क’ मा कांग्रेसका पूर्णबहादुर खत्री विजयी भएका छन् । उनले नौ हजार चार सय ६४ मत ल्याएका छन् । खत्रीले एमालेका धर्मराज रेग्मीलाई एक हजार तीन सय ९२ मतान्तरले पराजित गरेका हुन् । रेग्मीले आठ हजार ७२ मत प्राप्त गरेका छन् । ३५ हजार चार सय ९९ मतदाता भएको यो क्षेत्रमा १९ हजार नौ सय ९८ मत खसेको थियो ।
जुम्लाका पनि प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रको मतपरिणाम आइसकेको छ । उक्त जिल्लाको प्रदेशसभा ‘क’ मा स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट बागीका रूपमा स्वतन्त्र उम्मेदवारी दिएका शाही नौ हजार ६ सय ५४ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीले सात हजार सात सय ५५ मत ल्याएर पराजित भएका छन् । जुम्ला ‘ख’ मा नेकपा ‐एमाले)का टेकराज पछाई विजयी भएका छन् । उनले एक हजार ९३ मतान्तरले नेकपा ‐एकीकृत समाजवादी)का पदमबहादुर रोकायलाई पराजित गरेका हुन् । २० हजार ६ सय १६ मत खसेकोमा विजयी पछाईले सात हजार आठ सय १५ मत प्राप्त गरेका छन् । रोकायले ६ हजार सात सय २२ मत ल्याए । पराजित रोकाया कर्णाली सरकारका बहालवाला भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री र एकीकृत समाजवादीको जुम्ला जिल्ला इन्चार्जसमेत हुन् । पछाई एमाले कर्णाली प्रदेश कमिटीका उपसचिव हुन् ।
यस्तै, सुर्खेतमा क्षेत्र नं. २ मा प्रदेशसभातर्फको मतगणना बुधवारबाट मात्रै थालिएको छ । प्रतिनिधिसभाको मतगणना सकेर बुधवार बिहानबाट प्रदेशसभा ‘क’ को मत गन्न सुरु गरिएको हो । अन्य जिल्लाहरूमा पनि मतणना धमाधम चलिरहेको छ । मुगु, डोल्पा र हुम्लामा मतदान भएको चार दिनपछि बुधवारबाट मात्रै मतगणना सुरु भएको छ । ती जिल्लामा भौगोलिक विकटताका कारण तीन दिनसम्म मतपेटिका संकलनमा समय लागेकाले मतगणना ढिलो भइको हो । हिमाली क्षेत्रका केही ठाउँको मतपेटीका संकलन कार्य बुधवारसम्म पनि भइरहेको थियो ।
प्रकाशित मितिः ८ मंसिर २०७९, बिहीबार ०५:०१
साझा बिसौनी ।