हुम्ला पठाउने चामल नेपालगञ्जमै थन्कियो

सुर्खेत: हुम्ला पठाउने सरकारी अनुदानको चामल नेपालगञ्जमै थन्किएको छ । स्थलमार्गबाट लैजान समस्या भएकाले चामल ढुवानी हुन नसकेको हो । सडकमार्गबाट एक हजार पाँच सय क्विन्टल चामल ढुवानी गर्ने जिम्मा एलबी सप्लायर्स हुम्लाले पाएको छ । तर, सडक मार्ग बिग्रेको भन्दै सप्लायर्सले अझै ढुवानी नगरेको हो । असोज तेस्रो साता आएको अविरल वर्षाले विभिन्न स्थानमा सडक बिग्रिएकाले ढुवानीमा समस्या भएको जनाइएको छ । सरकारले यस वर्ष नेपालगञ्जबाट हुम्लामा तीन हजार पाँच सय क्विन्टल चामलको कोटा निर्धारण गरेको छ । उक्त चामलमध्ये दुई हजार क्विन्टल हवाई मार्गबाट पु¥याउने लक्ष्य लिइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेका अनुसार सडक मार्गबाट ढुवानी गर्न सम्झौता गरिएको फर्मले चामल ढुवानी नगरेको हो । कार्यालयले निर्वाचनपछि ढुवानी हुने विश्वास लिएको छ ।

हवाइ मार्गबाट ढुवानीका लागि भदौ १ गते खोलिएको टेण्डरमा कुनै पनि हवाई सेवा प्रदायकले मापदण्डअनुसार बोलपत्र नहालेको प्रमुख लामिछानेले जानकारी दिए । नेपालगञ्जदेखि हुम्लाका लागि हवाई मार्गबाट ढुवानीका लागि टेण्डर आह्वान गर्दा पहिलो पटक मापदण्डअनुसारको बोलपत्र नपरेको हो । त्यसपछि पुनः टेण्डर आह्वान गर्दा प्रक्रियामै धेरै समय लागेको छ । उनले भने, ‘दोस्रो पटक आह्वान गरिएको टेण्डरमा तारा एयरले ढुवानी गर्न पाउने ठेक्का परे पनि सम्झौता भएको छैन ।’ सम्झौताका लागि यही मंसिर २० गतेसम्मको समय तोकिएको छ । कम्पनीले ढुवानीकर्तालाई चाँडोभन्दा चाँडो सम्झौताका लागि आउन ताकेता गरिरहेको छ ।

प्रकाशित मितिः   ४ मंसिर २०७९, आईतवार ०५:०१