७२ सीटे विमानको सफल परीक्षण

सुर्खेत: निजी वायु सेवा कम्पनी बुद्ध एयरले सुर्खेतमा ठूलो सीटे जहाजको परीक्षण उडान गरेको छ । हाल एटिआर ४२ मार्फत नियमित उडान गर्दै आएको बुद्धले बुधवार एटीआर ७२ विमानमार्फत विमानस्थलमा परीक्षण उडान गरेको हो । परीक्षण उडान सफल भएको र प्राधिकरणको प्रतिवेदनपछि आउँदो पुसदेखि नियमित उडान गर्ने बुद्ध एयरका पाइलट प्रमोद थापाले जनाए । अहिले सानो जहाजको मात्रै नियमित उडान हुँदा हवाई भाडा महँगो छ । यस्तो बेला एटीआर ७२ सञ्चालनमा आए यात्रुलाई निकै सहज हुने अपेक्षा गरिएको छ । सुर्खेत काठमाडौंको भाडादर महँगो भएपछि कर्णालीवासीले विमान चढ्न नेपालगञ्ज नै पुग्नुपर्ने बाध्यता छ ।

बुधवार परीक्षण उडानमा चालकदलका सदस्यसहित बुद्ध एयरका कर्मचारी र नेपाल नागरिक उड्डयन प्राधिकरणको टोली नेपालगञ्जबाट सुर्खेत विमानस्थलमा अवतरण गरेको थियो । थोरै सीट क्षमताको जहाजबाट उडान गर्दा भाडादर महँगो भएकाले यात्रुहरूको मागअनुसार ठूलो क्षमताको जहाजबाट सेवा दिन परीक्षण उडान गरिएको बुद्ध एयरले जनाएको छ । सुर्खेत विमानस्थल उडान अनुकूल रहेको अवस्थामा एटीआर ७२ जहाजमार्फत दैनिक दुई उडान गर्ने र न्यूनतम् भाडादर सात हजार पाँच सय कायम गरिने बताइएको छ ।

यसअघि यहाँ थुप्रै पटक विभिन्न विमान कम्पनीहरूले ठूलो क्षमताका जहाजको परीक्षण उडान गरेपनि नियमित भने हुन सकेनन् । २०७७ माघ २६ गते श्री एयरलाइन्सले ८० सीटे जहाजको काठमाडौं–सुर्खेत सफल परीक्षण उडान गरेको थियो । त्यसबेला प्राविधिक टोलीले सुर्खेत विमानस्थल ठूलो सीट क्षमताको उडानका लागि उपयुक्त भएको समेत बताएका थिए । थप प्राविधिक अध्ययन गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेपछि मात्रै नियमित उडान हुने भनियो । तर, हालसम्म उडानको टुँगो लागेको छैन । अहिले बुद्ध एयरले ७२ सीटे जहाज नियमित उडान भर्ने तयारी गरिरहेका बेला स्थानीय भने उक्त सेवा सञ्चालन हुनेमा विश्वस्त हुन सकेका छैन ।

प्रकाशित मितिः   १ मंसिर २०७९, बिहीबार १२:२२