विद्यार्थीलाइ गुणस्तरहीन खाजा

यहाँका १८ गाविसका प्राथमिक र निम्न माध्यमिक विद्यालयमा वितरण गरिएको पौस्टिक आहार तितो भएपछि विद्यार्थीले खान छाडेका छन्। शिक्षाका लागि खाद्य कार्यक्रमद्वारा वितरण गरिएको पौस्टिक आहार गुणस्तरहीन भेटिएपछि शिक्षक, अभिभावक दुबै आक्रोशित भएका छन्।

विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि बल पुगोस् भनी यो कार्यक्रम लागू गरिएको हो। तितो पौस्टिक आहार खाँदा विद्यार्थीको पेट दुख्ने, उल्टी गर्नेगरेको शिक्षकको भनाइ छ। पौस्टिक आहार अर्थात दिवा खाजा सुरुका दिनमा राम्रो भएपनि विस्तारै यसको गुणस्तरमा समस्या आएको प्रयोग गर्ने विद्यालयले बताएका छन्।

हिमालय प्रावि, मङ्सिरीका बाल शिक्षामा पढाउने शिक्षिका मनिषा सिंहका अनुसार सुरुका दिनमा यहाँका बालबालिकाले पौस्टिक आहार रमाइरमाइ खाने गरेका थिए, अहिले तितो भएपछि पौस्टिक आहारको नाम नै लिन चाहँदैनन्।

त्यस्तै, भगवती प्रावि भगवतीका विद्यार्थीले पनि तितो भएको भन्दै खान छाडेका छन्। तितो भयो भनी सरोकारवाला निकायलाई खबर गरेपनि सुनुवाइ नभएको विद्यालयले बताएका छन्।

पौस्टिक आहार ढुवानी गरी बाटोमा लाँदा र राख्दा ठाउँको अवस्था राम्रो नभएको पाइएको छ। कहिलेकाहीँ पौस्टिक आहार पिठोको रङ नै बदलिएको आउने गरेको समेत विद्यालयले बताएका छन्।

नेपालखबर/ रासस

प्रकाशित मितिः   २२ पुष २०७३, शुक्रबार १४:३३