सडक निर्माण वर्षाैंदेखि अलपत्र

सुर्खेत: प्रदेश राजधानी वीरेन्द्रनगरमा सडक स्तरोन्नतिका काम अलपत्र परेका छन् । वीरेन्द्रनगरका थुप्रै मुख्य सडकहरूको सुधार–विस्तार थालिए पनि लामो समयदेखि प्रगति सुस्त छ । वर्षाैदेखि निर्माण कार्य लथालिङ्ग भएको मध्ये एक हो, मंगलगढी–शिवमन्दिर सडकखण्ड । मंगलगढी चोकदेखि काँक्रेविहार संरक्षित क्षेत्र जोड्ने यो सडक विस्तार गर्न लागेको तीन वर्षभन्दा बढी भयो । आर्थिक वर्ष २०७६/०७७ देखि सुरु भएको स्तरोन्नतिको काम अझै अधुरै छ । उक्त सडकखण्डमा सुरुमा वीरेन्द्रनगर नगरपालिकाले नाला निर्माणको काम थालेको थियो । नाला निर्माणमै झन्डै दुई वर्ष समय लाग्यो । गत आर्थिक वर्षदेखि सोही सडकको निर्माण कार्य कर्णाली प्रदेश सरकारले अघि बढाएको छ । प्रदेश सरकारको १२ करोड ७७ लाख लगानीमा सडक निर्माण थालिएको हो । हालसम्म कामको प्रगति भने निकै सुस्त छ । यसअघि एउटा निर्माण कम्पनीले काम बेवारिसे छोडेपछि ठेक्का तोडेर अर्कोलाई दिइएको छ । गएको आर्थिक वर्षदेखि सडक स्तरोन्नतिको जिम्मा सिस्ने कन्ट्रक्सन निर्माण सेवाले लिएको छ । निर्माण व्यवसायीको लापरबाहीकै कारण अहिले पनि सडक विस्तारको काम रोकिएको छ ।

सडक निर्माणको काम अहिले पनि अपेक्षित रूपमा अघि बढ्न नसकेको वीरेन्द्रनगर–९ का वडा अध्यक्ष ऋषि गिरीले बताए । उनी भन्छन्, ‘निर्माण कार्य लामो सयदेखि अलपत्र छ । स्तरोन्नति समयमै नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् ।’ पछिल्लो ठेक्का सम्झौता गरेको एक वर्ष बितिसक्दा पनि कामले गति लिएको छैन । निर्माण कार्यको रेखदेखको जिम्मा भौतिक पूर्वाधार निर्देशनालय छ । यो आर्थिक वर्षको असारमा काम सक्नेगरी सम्झौता गरिएको पूर्वाधार निर्देशनालयका इन्जिनियर सूर्य शाही बताउँछन् । उनका अनुसार मंगलगढी चोकदेखि लाटीकोइलीको शिव मन्दिरसम्म दुई हजार चार सय मिटर सडक निर्माणको सम्झौता भएको छ । वडा अध्यक्ष गिरीले यसअघि निर्माणको ठेक्का पाएको कम्पनीले मजदुरहरूको पारिश्रमिकसमेत अझै भुक्तानी नगरेको जनाए । ठेकेदारले श्रमिक र सामग्री खरिद गरेको ठाउँमा भुक्तानी नगर्दा स्थानीय आक्रोशित छन् । ‘नयाँ ठेकेदारले छठ पर्वलगत्तै काम सुरु गर्ने भनेका थिए । न अहिलेसम्म काम थालियो न त श्रमिकले पुरानो काम गरेको ज्याला नै पाए,’ लाटीकोइलीका एक स्थानीयले भने । निर्माण व्यवसायीको चरम लापरबाहीले सडक विस्तारको कामले गति नलिएको उनको भनाइ छ । निर्माण व्यवसायी रणबहादुर शाहीले भने आइतवारदेखि नै काम सुरु हुने दाबी गरे । ‘भोलिबाटै कामले गति लिन्छ,’ उनले भने, ‘त्यसका लागि पाँच वटा निर्माण इक्यूमेन्ट सुर्खेत पठाइसकिएको छ ।’ सडकमा ग्राबेल हाल्ने काम तत्कालै थालिने भन्दै उनले श्रमिकहरू भने मंसिर ४ को चुुनावपछि मात्र काममा फर्कने जनाए ।

वीरेन्द्रनगर नगरपालिकाले सुरुवातीको नाला निर्माणको काम गरेपछि बजेट अभावमा प्रदेश सरकारलाई सडक स्तरोन्नतिका लागि अनुरोध गरेको थियो । नगरपालिकाका इन्जिनियर हरि केसीले हाल आफूहरूले समन्वय मात्रै गर्दै आएको जनाए । कहिले बजेट अभाव र कहिले ठेकेदार फेरबदल भइरहँदा वीरेन्द्रनगरका मुख्यमध्येको एक यो सडकको अवस्था वर्षाैंदेखि बिजोक छ । हिउँदमा धुलाम्य र वर्षात्मा हिलाम्य सडकका कारण निकै सास्ती हुने गरेको स्थानीय राजुु लामाले बताए । उनको घरछेउमै ठेकेदारले विगत दुुई वर्षदेखि निर्माण सामग्री छरपष्ट रूपमा थुुपार्दा आउँजाउँ गर्न पनि समस्या भइरहेको छ । लामाले सडक समयमै स्तरोन्नति नहुुँनुुमा स्थानीय सरकार पनि जिम्मेवार रहेको जनाए । ‘नगरवासीको घरदैलोमै निर्माणको काम अस्तव्यस्त छ, यस्तो विषयमा पनि नगरपालिका मूकदर्शक बनेको छ,’ उनले भने, ‘कुनै पहलकदमी हुुन सकिरहेको छैन ।’ सडक धुुलाम्मे हुँदा सडक छेउका व्यवसाय चौपट भएका छन् । स्थानीयलाई धुलोका कारण स्वास्थ्यमा समस्या देखिने गरेको छ ।

वीरेन्द्रनगर उपत्यकाभित्रकै अर्को सडकको निर्माण कार्य पनि लामो समयदेखि अलपत्र छ । वडा नं. १ स्थित सोलीघोप्टेदेखि प्रहरी चौकीसम्मको सडक स्तरोन्नतिमा ढिलाइ भएको हो । आर्थिक वर्ष २०७७/०७८ बाट मर्मतको काम सुरु गरिएता पनि हालसम्म काम अधुरै छ । यो सडक पनि प्रदेश सरकारको लगानीमा स्तरोन्नति गर्न ठेक्का सम्झौता गरिएको थियो । हाल कामको प्रगति भने शून्य छ । सडक गतिलो नहुँदा दैनिक आवतजावत मै कठिनाइ भइरहेको स्थानीयहरूको गुनासो छ । वीरेन्द्रनगर–१ का दिपक खड्काले साँघुरो र जीर्ण सडकमा ठाउँ–ठाउँमा खाल्डाखुुल्डी हुुँदा सवारी साधन गुडाउन जोखिम रहेको बताए । उनले सडकको दुर्दशाले सास्तीसँगै दुर्घटनाको जोखिम पनि उच्च रहेको जनाए । वडा नं. १ का अध्यक्ष दिनेश खत्री ठेकेदारको लापरबाहीले सडकको काम अघि बढ्न नसकेको बताउँछन् । उनले भने, ‘यो सडक निर्माणको काम कोरोना महामारीका कारण रोकिएको थियो । चालु आर्थिक वर्षको सुरुवातदेखि नै निर्माण कार्यअघि बढाउने समझदारी भएको हो । ठेकेदार कम्पनीले ढिलासुस्ती गरिरहेको छ ।’ वडाले स्तरोन्नतिको काम थाल्न निरन्तर पहल गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मितिः   २७ कार्तिक २०७९, आईतवार ०५:०५