मदिरा बिक्रीमा रोक

सुर्खेत: जिल्ला प्रशासन कार्यालयले शुक्रवारदेखि सुर्खेतमा मदिरा बिक्री–वितरण तथा सेवनमा रोक लगाएको छ । निर्वाचन अवधिभर मदिराजन्य पदार्थ बिक्री र सेवनमा पूर्ण रोक लगाइएको प्रशासनले जनाएको हो । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार प्रसार तीव्र भइरहेका बेला अवाञ्छनीय गतिविधि नहुन भन्ने उद्देश्यले यस्तो कदम चालिएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । निर्वाचन सम्पन्न नहुञ्जेलसम्मका लागि मदिराजन्य पदार्थको बिक्री तथा सेवनमा रोक लगाइनेछ । त्यस्तै, निर्वाचनको मतपरिणाम घोषणा नभएसम्म मेला, पर्व, महोत्सव, खेलकुद प्रतियोगिता र मनोरञ्जनसम्बन्धी कार्यक्रमहरू आयोजना नगर्न भनिएको छ । मंसिर ४ गते मतदान कार्य सुरु हुनभन्दा २४ घण्टा अगाडिदेखि ग्यास सिलिण्डर, पाइप, सकेट, प्रेसर कुकरजस्ता सामग्री पनि बिक्री वितरण र ओसारपसारमा रोक लगाइएको छ । विष्फोटनमा प्रयोग हुनसक्ने भएकाले प्रशासनले यी वस्तुको बिक्रीमा कडाइ गर्ने भएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित, शान्तिपूर्ण र भयरहित बनाउन मदिरा बिक्री–वितरण र सेवनदेखि मेला महोत्सव सञ्चालनमा रोक लगाउने निर्णय गरिएको प्रशासनको भनाइ छ ।

प्रकाशित मितिः   २६ कार्तिक २०७९, शनिबार ०७:३१