कँडेलको प्रतिबद्धता–पत्र सार्वजनिक

सुर्खेत: आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि प्रदेशसभा सदस्य उम्मेदवार बनेका यामलाल कँडेलले चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् । नेकपा (एमाले) बाट सुर्खेत क्षे नं. २ ‘क’ को उम्मेदवार बनेका उनले शुक्रवार एक कार्यक्रमकाबीच २८ बुँदे प्रतिबद्धता–पत्र सार्वजनिक गरेका हुन् । एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली इञ्जार्जसमेत रहेका कँडेलले प्रदेश राजधानी वीरेन्द्रनगरको पूर्वाधार विकासलाई प्रतिबद्धतामा जोड दिएका छन् । प्रतिबद्धतामा वीरेन्द्रनगरलाई व्यवस्थित, सुरक्षित र आधुनिक सहरका रूपमा विकास गर्ने योजनाहरू समेटिएका छन् । नेता कँडेलले वीरेन्द्रनगरको चक्रपथ निर्माणलाई पूर्णता दिने, सुर्खेत विमानस्थलको स्तरोन्नति गरी कर्णालीका हिमाली जिल्लामा नियमित उडानको व्यवस्था गर्न पहल गर्ने, प्रदेशस्तरीय बसपार्कको सम्भाव्यता अध्ययन गरी निर्माणका लागि पहल थाल्ने प्रतिबद्धता–पत्रमा उल्लेख गरेका छन् । त्यसका साथै मेडिकल कलेजको पूर्वाधार तथा प्रदेशस्तरीय रंगशाला समयमै निर्माण सम्पन्न गर्न पहल थालिने उनले जनाए ।

कँडेलले चुनावी प्रतिबद्धतामा मध्यपश्चिम विश्वविद्यालयसँगको समन्वयमा वीरेन्द्रनगरमा ‘साइन्स पार्क’ स्थापना गर्ने, वीरेन्द्रनगरको एक स्थानमा आधुनिक प्रविधिसहितको पुस्तकालय स्थापना र मुख्य सार्वजनिक स्थलहरूमा ‘फ्रि वाइफाई’ को व्यवस्था मिलाइने दाबी गरेका छन् । भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्न जग्गाधनी पुर्जा वितरणमा पहल गर्ने, वीरेन्द्रनगरमा रहेको सार्वजनिक जग्गाको संरक्षण गर्दै नगरवासीको हितअनुकूल प्रयोगको नीति बनाइने, उपत्यकाको ढल निकासका लागि गुरुयोजना बनाइ कार्यान्वयन गर्ने तथा हालको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयलाई स्वरोजगार तालिम केन्द्रको रूपमा विकास गरिने उनको प्रतिबद्धता–पत्रमा जनाइएको छ । प्रतिबद्धता–पत्र सार्वजनिक कार्यक्रमा बोल्दै कँडेलले आफू निर्वाचित भए जारी गरिएका प्रतिबद्धता पूर्णरूपमा कार्यान्वयन गर्ने दाबी गरे ।

प्रकाशित मितिः   १९ कार्तिक २०७९, शनिबार ०८:३६