दुई जिल्लामा वैकल्पिक व्यवस्था गरी बिजुली

सुर्खेत: मुगु र हुम्लामा अब डिजेलबाट उत्पादन हुने बिजुली बल्ने भएको छ । राष्ट्रिय प्रसारण लाइन नपुगेका ती जिल्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत आपूर्ति गर्न लागिएको हो । गत असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण साना जलविद्युत गृहहरूमा ठूलो क्षति भएपछि नेपाल विद्युत प्राधिकरणले त्यहाँ विद्युतको वैकल्पिक व्यवस्था गरेको हो । जेनेरेटरमार्फत विद्युत उत्पादन गरी सेवा दिँदा डिजेल ढुवानी गर्नुपर्ने भएकाले बिजुलीको मूल्य भने महँगो पर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार एक युनिट बिजुलीको लागत ८० रूपैयाँ पर्नेछ । पहिरोले क्षति पुर्‍याएका विद्युत गृहहरू पुननिर्माण तथा मर्मत नगरी त्यस क्षेत्रमा विद्युत उपलब्ध नहुने अवस्था आएपछि प्राधिकरणले मुगु र हुम्लामा जेनेरेटर पु¥याइसकेको छ ।

गएको असोज १९ देखि २५ गतेसम्म निरन्तर वर्षासँगै आएको बाढीपहिरोले मुगुस्थित चार सय किलोवाटको गमगाढ र हुम्लास्थित पाँच सय किलोवाटको हेल्दुङ साना जलविद्युत गृहको नहरमा ठूलो क्षति पुगेको छ । नहरमा क्षति पुगी विद्युत उत्पादन बन्द भएपछि मुगु र हुल्ला जिल्ला विद्युतविहीन भएका थिए । भौगोलिक कठिनाइ तथा विकटताले गर्दा अझै पनि यी दुई जिल्लामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छैन । हाल क्षति पुगेका विद्युत गृहरूका संरचनाको पुनर्निर्माणको काम पनि भइरहेको छ । प्राधिकरणले गमगढी र आसपासका क्षेत्रमा विद्युत आपूर्तिका लागि कालीकोटमा रहेको तीन सय केभीए क्षमताको जेनेरेटर मुगुमा लगेको छ । हुल्लाको सिमिकोट र आसपासका क्षेत्रमा विद्युत आपूर्तिका लागि एक सय २५ र एक सय केभिएका जेनेरेटरहरूको व्यवस्था गरिएको छ ।

प्राधिकरणका मुगुमा तीन हजार एक सय र हुम्लामा दुई हजार तीन सय ग्राहकहरू छन् । जेनेरेटहरू कुलेखानी विद्युत गृह र नयाँ बुटवल सबस्टेसनबाट सिमिकोट लगिएका छन् । प्राधिकरणले ती जेनेरेटहरू सडकबाट ढुवानी गरी मुगुको गमगढीसम्म पु¥याएको हो । राष्ट्रिय सडकले अहिलेसम्म नजोडिएको हुम्लामा गमगढीबाट जेनेरेटर र त्यसका लागि आवश्यक पर्ने डिजेल हेलिकोप्टरमार्फत ढुवानी गरी सिमिकोट लगिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियत यादव सम्मिलित टोली जेनेरेटर लिएर सिमिकोट पुगेको थियो । कार्यकारी निर्देशक घिसिङले साना विद्युत गृहको पुनर्निर्माण भइरहेको र यसका लागि अझै कम्तिमा एक महिना लाग्ने बताए । यस अवधिमा त्यस क्षेत्रको विद्युतविहीनताको अवस्थाप्रति संवेदनशील भइ तत्कालका लागि हेलिकोप्टरमार्फत जेनेरेटर र डिजेल ढुवानी गरी वैकल्पिक रूपमा विद्युत आपूर्तिको व्यवस्था मिलाइएको उनले जनाए । घिसिङले कर्णाली प्रदेशमा पर्ने जिल्लाहरूको विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको समेत बताए । प्राधिकरणले कर्णाली प्रदेशका सुर्खेत, दैलेख, सल्यान, रूकुम–पश्चिम, जाजरकोट, कालिकोट र जुल्लामा राष्ट्रिय प्रसारण प्रणालीमार्फत (ग्रिड) र हुम्ला, मुगु र डोल्पामा लघु जलविद्युतमार्फत विद्युत आपूर्ति गरिरहेको छ । मुगुमा यस वर्षभित्रै राष्ट्रिय प्रसारण लाइन पुग्ने प्राधिकरणको दाबी छ । कर्णालीमा हालसम्म ५६.७९ प्रतिशत विद्युतीकरण भएको छ ।

प्रकाशित मितिः   १८ कार्तिक २०७९, शुक्रबार ०५:०१