अब संशोधन प्रस्ताव पारित हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको फैसलापछि संविधान संशोधन प्रस्ताव पारित भएर राजनैतिक गत्यावरोध अन्त्य भएर जाने विश्वास व्यक्त गरेका छन्। पार्टीको आन्तरिक संगठनात्मक कार्यविधिका बारेमा आज बिहान माओवादी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

बैठकपछि माओवादी केन्द्रका नेता अग्नि सापकोटाले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘अध्यक्षले अदालतको फैसलापछि राजनैतिक सहमतिको वातावरण बन्दै गएको विचार राख्नुभयो।’

बैठकपछि बोल्दै माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बैठक भोलीसम्मका लागि स्थगित गरिएको जानकारी दिइन्। आजको बैठकमा कार्यालयका केही सदस्यहरुले पछिल्लो राजनीतिक अवस्थाकाबारेमा आफ्नो धारणा राखेका थिए। प्रवक्ता भुसालले भनिन्, ‘छलफल जारी छ, बैठक भोली बिहान ८ बजे फेरि बस्ने गरी स्थगित भएको छ।’

लामो समयदेखि अवरोध भइरहेको संसद सूचारु हुन दिने एमालेको संकेत पश्चात आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेशी मोर्चाबीच बैठक हुँदैछ।

प्रकाशित मितिः   २१ पुष २०७३, बिहीबार १३:१३