विकासका एजेन्डा खोज्दै मतदाता

चुनावी प्रतिबद्धताविनै घरदैलोमा उम्मेदवार

सुर्खेत: वीरेन्द्रनगर नगरपालिका–१ का पदम दाहाल यो पटकको चुुनावमा दल नहेरी उम्मेदवारका एजेन्डाका आधारमा मत दिने मनसायमा छन् । पार्टी र व्यक्तिलाई नहेरी उनीहरूले उठाएका एजेन्डालाई भोट दिने तयारी गरेका उनी ६० वर्षका भए । यसअघि दाहालले चुनावमा थुप्रै व्यक्ति र दल चुने । तर, उनलाई ती सबै चुनावमा आफ्नो मत खेर गएजस्तो लाग्छ । दाहाल भन्छन्, ‘जनताको हितमा कुनै नेताले काम गरेनन्, प्रतिबद्धताअनुसार काम भइदिए विकासको यस्तो दुर्दशा पक्कै हुने थिएन ।’ दाहाल कर्णाली प्रदेशको राजधानीका बासिन्दा हुन् । उम्मेदवारसँग उनका गुनासै गुनासा छन् । उनको घरको धारमा महिनौँ दिनसम्म पानी आउँदैन, भरपर्दो बिजुली छैन । ‘बत्ती न पानी के को राजधानी ?,’ दाहालले भने, ‘आधारभूत सेवा सुविधा नै नहुँदा आफूलाई राजधानीबासी भन्न पनि सरम लाग्छ ।’ वीरेन्द्रनगरको विकासको स्पष्ट योजना भएको नेता नपाउँदा ठाउँ नै पछि परेको उनको बुझाइ छ । त्यही भएर पनि उनी यसपाली उम्मेदवारका एजेन्डा हेरेर भोट हाल्ने बताउँछन् । दाहालले राजनीतिक पार्टीहरूको टिकट वितरणको शैली पनि ठीक नभएको टिप्पणी गरे । उनी भन्छन्, ‘जनताको मन जितेको मान्छेले टिकट पाउँदैन । जसले टिकट पाउँछ उसले जनताको हितमा काम गर्न सक्दैन ।’ राजधानीको विकास गर्नलाई यहाँको आधारभूत आवश्यकता परिपूर्ति गर्नुपर्ने भन्दै दाहालले ठूला भाषण गर्ने तर काम सिन्को नभाँच्ने नेतालाई यो पटक भोट नदिइने बताए ।

वीरेन्द्रनगर–६ का रामबहादुुर केसी बहुदल पछिका नेतृत्वले अपेक्षित विकास गर्न नसकेको बताउँछन् । वीरेन्द्रनगरको विकास गर्न कतिपय योजनाहरूमा नेताहरूले ध्यान दिनैपर्ने देखिएको उनले सुझाए । केसीका अनुसार पहिलो वीरेन्द्रनगरको चक्रपथ ‐रिङ्गरोड) लाई पूर्णता दिने योजनासहितको नेतृत्व आवश्यक छ । वर्षाैँदेखि अलपत्र उक्त योजना अघि नबढाए प्रदेश राजधानीको विकासमा ठूलो बाधा पुग्नेछ । उनले वीरेन्द्रनगरभित्रका अन्य सडकको स्तरोन्नति हुुनुुपर्ने र प्रदेश अस्पताल र विश्वविद्यालयको सेवालाई व्यवस्थित बनाइनुपर्ने औँल्याए । नेताहरूले भोट माग्दा लिखित रूपमा प्रतिबद्धता पत्र बोकेर आउनुुपर्ने भन्दै केसीले मतदातालाई सधैँ झुक्याउने प्रवृत्ति नेताहरूले त्याग्नुपर्ने बताए । उनी भन्छन्, अहिले पनि धेरैजसो उम्मेदवारका पुुरानै अनुुहार छन् । ‘यसपाली पार्टी र नयाँ पुराना अनुहारभन्दा पनि एजेन्डाका आधारमा भोट दिइनेछ,’ उनले भने ।

वीरेन्द्रनगर–६ की स्मिता आचार्यले यसअघिका थुप्रै चुनावमा आफूले आस्था राख्ने पार्टीले उठाएको उम्मेदवारलाई भोट दिइन । यस पटक उनी पनि एजेन्डा राम्रो ल्याउने उम्मेदवारलाई भोट दिने तयारीमा छन् । ‘पटक– पटक धेरैलाई भोट हालियो, चुनाव पनि जिते । परीक्षण पनि गरियो । जनताको दुःख–सुखमा साथ दिन कसैले सकेनन्,’ उनले भनिन्, ‘अहिले विकासको स्पष्ट योजना भएको उम्मेदवार मेरो रोजाइँमा पर्नेछन् । चाहे जनसुकै दल र आस्थाका किन नहुन् ।’ वीरेन्द्रनगरलाई सुरक्षित व्यवस्थित र सुविधा सम्पन्न राजधानीको रूपमा विकास गर्न पूर्वाधारमा जोड दिने नेता आवश्यक रहेको उनको भनाइ छ । वीरेन्द्रनगर–३ की चन्द्रा कार्कीले यस क्षेत्रका उम्मेदवारसँग वीरेन्द्रनगरको मुहार फेर्ने योजना हुनुपर्ने बताइन् । राजधानीको पूर्वाधार विकासका लागि भिजन भएको नेता आवश्यक रहेको बताउने कार्की भन्छिन्, ‘उम्मेदवार दैनिकजसो भोट माग्न आइरहेका छन् । हातमा प्रतिबद्धता छैन मौखिक रूपमा राखेको कुराको कसरी भर मान्नु ।’ उनले संघीयतापछि विकासको गति झन् सुस्त भएको बताइन् । आँगनमै सरकार आए पनि विकासको अनुभूति गर्न नपाएको उनको गुनासो छ । वीरेन्द्रनगर–९ का सुवास शाक्य पनि राजधानीको अवस्था देखेर दिक्क लाग्ने गरेको बताउँछन् । ‘यो ठाउँको विकास नहुनुमा नेतृत्वकै कमजोरी हो, जसले अवसर पाएर पनि काम गर्न सकेनन्,’ उनले भने । जनप्रतिनिधिसँग विकास अवधारणाको अभाव रहेको शाक्यले बताए ।

मतदाताले चुनावी एजेन्डाका आधारमा प्रतिनिधि चुन्ने बताइरहेका बेला उम्मेदवारहरू भने खाली हात मतदाताको घरदैलोमा पुगेका छन् । चुनावी प्रतिबद्धताविनै अधिकांश उम्मेदवारले घरदैलो गरिरहेका छन् । मौखिक रूपमा प्रतिबद्धता जनाएर उनीहरूले भोट माग्ने गरेका हुन् । लिखित रूपमा प्रतिबद्धता पत्र ल्याएर वचन दिए मात्रै विश्वास गर्न सकिने आधार रहेको मतदाताहरू बताउँछन् । खासगरी प्रमुख राजनीतिक दलका उम्मेदवारले अहिलेसम्म आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छैनन् । सुर्खेत क्षेत्र नं. १ ‘क’ मा नेकपा एमालेका प्रदेशसभा सदस्यका उम्मेदवार ठम्मर विष्ट घरदैलो अभियानमा छन् । लिखित प्रतिबद्धताविनै उनी घरदैलोमा पुगेर भोट मागिरहेका छन् । त्यस्तै, सुर्खेत क्षेत्र नं. १ ‘क’ मै वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका खड्क पोखरेल पनि मतदाताको घरदैलोमा व्यस्त छन् । उनले मौखिक रूपमा मतदातालाई चुनावी एजेन्डा र प्रतिबद्धता भन्ने गरेको बताए । ‘केही दिनमा लिखित प्रतिबद्धतापत्र लिएर पनि हामी घरदैलोमा पुग्ने छौँ,’ उनले भने, ‘यस क्षेत्रको आवश्यकता र मतदाताको मागअनुसारका योजना समेटेर प्रतिबद्धतापत्र बनाउने काम भइरहेको छ ।’ सुर्खेत क्षेत्र नं. १ ‘ख’ मा नेकपा ‐एमाले)बाट प्रदेशसभा सदस्यको उम्मेदवारमा डण्डीप्रसाद शर्मा उम्मेदवार बनेका छन् । घरदैलो अभियानमा रहेका उनले अबको दुुई÷तीन दिनमा लिखित प्रतिबद्धता लिएर मतदातासमक्ष पुग्ने जनाए । सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका कृष्ण जिसीले १७ गतेपछि चुनावी प्रतिबद्धतासहित मतदाताका माझमा जाने तयारी भइरहेको बताए ।

प्रकाशित मितिः   १५ कार्तिक २०७९, मंगलवार ०८:२०