एकीकृत समाजवादीको चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक
सुर्खेत: नेकपा ‐एकीकृत समाजवादी) बाट सुर्खेत क्षेत्र नं. २ प्रदेशसभा ‘क’ का उम्मेदवार शिवप्रसाद उपाध्यायले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । उनले बुधवार पत्रकार सम्मेलन गरेर प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । प्रदेशसभा सदस्यका उम्मेदवार उपाध्यायले प्रतिबद्धता पत्रमा खानेपानी र सरसफाइलाई पहिलो प्राथमिकतामा राखेका छन् । २० बुँदे प्रतिबद्धतामा शिक्षा, स्वास्थ्य, खेलकुुद, सामाजिक सुुरक्षा, भूूमिहीन, सुकुुम्वासी तथा अव्यवस्थित बसोबास र सुुशासन एवम् भ्रष्टाचारमुक्त समाज निर्माणमा जोड दिइने उल्लेख छ । प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उपाध्यायले आफ्ना एजेण्डा भौतिक पूर्वाधारको विकासँगै सामाजिक सुरक्षाका सवालहरू रहेको जनाए । ‘प्रतिबद्धता पत्र लिएर अब जनताको घरदैलोमा मत माग्न जानेछु,’ उनले भने ।
प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा मंसिर ४ गते हुने संसदीय निर्वाचमा उम्मेदवार बनेकामध्ये औपचारिक रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गर्ने उनी पहिलो हुन् । अन्य दल र उम्मेदवारहरुले घोषणा तथा प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छैनन् । चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्ने अन्तिम चरणमा रहेको अरु दलका उम्मेदवारहरुको भनाइ छ । एकीकृत समाजवादी सत्तारुढ गठबन्धनमा भएपनि सुर्खेतका प्रदेशका दुई वटा क्षेत्रमा समाजवादीले अलग्गै उम्मेदवारी दिएको छ । अन्यत्र गठबन्धनसँग तालमेल भएपनि यी क्षेत्रमा मित्रवत प्रतिस्पर्धा हुने समाजवादीले जनाएको छ ।
प्रकाशित मितिः ३ कार्तिक २०७९, बिहीबार ०५:०१
साझा बिसौनी ।