कर्णालीमा अलपत्र हवाई यात्रुको उद्धार हुने

सुर्खेत: उडान कटौतीका कारण कर्णाली प्रदेशमा अलपत्र परेका यात्रुको उद्धार हुने भएको छ । मंगलवार वायुसेवा सञ्चालक संघका अध्यक्षतामा काठमाडौंमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा दुर्गम भेगमा जहाज उडाउने कम्पनी समिट एयर, तारा एयरका प्रतिनिधि, कर्णाली प्रदेशका जनप्रतिनिधिसहितको उपस्थिति थियो ।

बैठकले कर्णाली प्रदेशमा अलपत्र परेका सम्पूर्णलाई चाडोभन्दा चाडो उद्धार गर्ने निर्णय गरेको संघले जनाएको छ । कर्णाली प्रदेशमा हालको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै वायुसेवा कम्पनीहरूसँग भएका स्रोत साधनको पूर्ण उपयोग गर्ने निर्णयसमेत बैठकले गरेको छ । हवाई यातायात निर्वाध रूपमा सञ्चालन गर्न शान्ति सुरक्षाको प्रत्याभूति गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराउने निर्णयसमेत भएको छ । वायुसेवा कम्पनीहरूले यथाशिघ्र ई–टिकेटिङको व्यवस्था गर्नुगर्ने निर्णयसमेत उक्त बैठकमा भएको छ ।

वायुसेवा कम्पनीहरूले यतिबेला पर्यटकीय सिजन भएका कारण धेरै उडान लुक्लामा केन्द्रित गरेका छन् । जसले गर्दा कर्णाली तथा सुदूरपश्चिमका विमानस्थलहरूमा नियमित उडान प्रभावित बनेको छ ।

यसैबीच कर्णाली प्रदेशको एक टोलीले हवाइ उडानसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ । कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ भेट गरी हवाइ समस्या समाधान गर्न माग गरेको हो ।

टोलीले कर्णालीमा उडान गरिरहेका निजी सेवा प्रदायक कम्पनीको उडानलाई नियमित बनाउन उनीहरूसहितको बैठक बोलाउन पनि मन्त्री श्रेष्ठसँग आग्रह गरेको छ । केही दिनअघिको वर्षात्का कारण सडकमार्ग, विद्युत र टोलिफोन सेवा समेत अवरुद्ध भएपछि अहिले कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला र कालीकोट जिल्ला सम्पर्क विच्छेद अवस्थामा छ । पूर्वमन्त्री भण्डारीले कर्णालीमा यस्तो खालको अघोषित नाकाबन्दी भइरहेका बेला हवाइ सेवा समेत नियमित नहुँदा त्यहाँका जनताले ठूलो पीडा भोग्नुपरेको गुनासो समेत गरे ।

मन्त्री श्रेष्ठले कर्णालीमा देखिएका हवाई उडानको समस्या समाधान हुने गरी दुई वटा विमान खरिद गर्ने योजना अघि सारिएको जवाफ दिए । त्यस्तै निजी क्षेत्रका सेवा प्रदायक कम्पनीलाई बोलाएर सो क्षेत्रमा उडान सेवा नियमित गर्न निर्देशन दिने आश्वासनसमेत दिएका छन् ।

प्रकाशित मितिः   २ कार्तिक २०७९, बुधबार ०५:०१