कृषि मन्त्रीलाई किसानको प्रश्नः राहत कहिले पाइन्छ ?

सुर्खेत: गतवर्ष कार्तिक पहिलो साताको बेमौसमी वर्षाले वीरेन्द्रनगर नगरपालिका–१० का किसान जयानन्द गौतमको धानबालीमा ठूलो क्षति ग¥यो । भिœयाउने बेलाको बाली अविरल वर्षाका कारण भएको ढुबानले सखाप पारेको थियो । एक वर्षदेखि उनी राहतका लागि विभिन्न निकायमा धाए । तीन तहकै सरकारबाट आश्वासन पनि पाए । तर, राहत भने कतैबाट मिलेन । संघीय र प्रदेश सरकारले क्षतिको विवरण संकलन गरेर राहत उपलब्ध गराउने भनेपनि न्यून संख्यामा मात्र प्रभावित किसानले उक्त सहयोग पाएका थिए । त्यो पनि क्षतिको तुलनामा साह्रै कम । आइतवार वीरेन्द्रनगरमा आयोजित ‘खाद्य अधिकार, ग्रामीण महिला कृषि र नीति तथा ऐनमा सरोकारवालाहरूको भूमिका’ विषयक कार्यक्रममा गौतम पनि सहभागी थिए । उनले सोही कार्यक्रमका अतिथि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीलाई किसानहरूले बुझाएको क्षतिको तथ्याङ्क कहाँ पुुग्यो ? भन्दै विवरण मात्र संकलन गर्ने कि राहत पनि दिने हो ? भनेर प्रश्न गरे । गतवर्षको क्षतिको राहत अहिलेसम्म पाउन नसकेको बताएका गौतमले स्थानीय र प्रदेश सरकार दायित्वबाट पन्छिएको आरोप लगाए । गौतमको १३ कट्ठा जमिनमा लगाएको धान बाली नोक्सान भएको थियो । उनले भने, ‘मन्त्रीज्यू हामीले राहत र क्षतिपूर्ति कहिले पाउँछौँ ?

यो वर्ष पनि असोज १९ गतेदेखि एकसाता परेको अविरल वर्षाले पोहोरकै अनुुपातमा धानमा क्षति पुगेको किसानहरूले बताएका छन् । गतवर्ष स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयले क्षतिको विवरण संकलन गरेको भएपनि यो वर्ष खेतबारीमा सोधिखोजी गर्न समेत कोही नगएको किसानहरूको गुनासो छ । गत वर्ष राहत उपलब्ध गराउने भन्दै किसानका बैंकिङ खाता नम्बर, नागरिकता र लालपुुर्जाको प्रतिलिपी मागिएको थियो । गौतम भन्छन्, ‘अनेक झन्झट दिइयो, खोइ राहत भने आएन ।’

वीरेन्द्रनगर–९ की लक्ष्मी शाहको धानबालीमा पनि गत वर्ष ठूलो क्षति भयो । ठाउँठाउँमा क्षतिको विवरण बुझाएकी उनले पनि राहत पाइनन् । ‘अहिलेसम्म राहत र क्षतिपूर्ति केही पाइएको छैन,’ उनले भनिन् । शाहको १२ कट्ठा जमिनका लगाइएको धान खेति पूर्णरूपमा नोक्सान भएको थियो । यसवर्ष पनि धान खेतिमा धेरै क्षति भएको उनी बताउँछिन् ।

वीरेन्द्रनगर–९ कै किसान लक्ष्मी रावल सरकार किसानका समस्यामा बेखबर बन्ने गरेको गुनासो गर्छिन् । त्यस्तै, बराहताल गाउँपालिका–२ की पदमा पुुनमगरले यसपालिको वर्षाले भेरी किनारको बस्तीसहित खेतियोग्य जमिन बगरमा परिणत भएको सुनाइन् । उनले मन्त्री शाहीलाई लक्षित गर्दै भनिन्, ‘प्रदेश सरकारको नजर त्यता कहिले पर्छ ? कार्यक्रममा सहभागी किसानहरूलाई सम्बोधन गरेका मन्त्री शाहीले राहतबारे प्रष्ट जवाफ दिन सकेनन् । उनले उल्टै किसानले राहत नपाउनुमा संघीय सरकारमाथि दोष थुपारे । ‘संघीय कानुुन किसानका समस्या समाधानको बाधक बनेको छ,’ उनले भने, ‘कृषकको जमिन पनि छैन । लगाएको बाली पनि छैन । तर, वास्तविक कृषकलाई हामीले जग्गा उपलब्ध गराउने अधिकार छैन ।’ मन्त्री शाहीले ग्रामीण भेकमा कृषिकर्म गरिरहेका महिलाको प्रोत्साहन तथा अनुदानका कार्यक्रमका लागि आवश्यक कानुन निर्माण गरिने आश्वासन दिए । उनले किसानलाई सेवा उपलब्ध गराउन खोज्दा कानुनको अभावमा कठिनाइ हुने गरेको उनको भनाइ थियो ।

प्रकाशित मितिः   ३१ आश्विन २०७९, सोमबार ०२:०१