पुरानै एजेण्डामा उम्मेदवार

आगामी मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन एकैपटक हुँदैछ । निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भइसकेको छ । राजनीतिक दल र उम्मेदवारहरू चुनाव केन्द्रित अभियानमा जुटिसकेका छन् । टोलटोलमा पुगेर मतदाता रिझाउन लागिसकेका छन् । जनतामाझ विकासका प्रतिबद्धता बाँड्ने होडबाजी सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारहरूले यस पटकको ठोस चुनावी प्रतिबद्धतापत्र सार्वजनिक भने गरिसकेका छैनन् । तर, नेताहरूले सञ्चारमाध्यम र मतदातासँगको भेटघाटमा आफ्ना निर्वाचन लक्षित योजना सुनाउन थालेका छन् । घरदैलो अभियान सुरु नभएपनि उम्मेदवारहरू पार्टी कमिटीका आन्तरिक बैठक तथा भेला र सञ्चारमाध्यमहरूमा आफ्ना चुनावी एजेन्डाबारे बताइरहेका छन् ।

निर्वाचनमा होमिएसँगै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले यसपालि पनि पूर्वाधार विकासका पुरानै एजेन्डालाई प्राथमितामा राखेको देखिन्छ । सांसदहरूको मुख्य जिम्मेवारी कानुन निर्माण हुने भएपनि उम्मेदवारहरूले जनतासँग भौतिक पूर्वाधार विकासका सवालहरू आफ्ना प्रतिबद्धता केन्द्रित गरेका छन् । यतिबेला प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार बनेकाहरू जनतामाझ ठूला–ठूला सपना बाँडिरहेका छन् । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकास सँगसँगै पूर्वाधार निर्माणका योजनालाई आफ्नो एजेण्डा बनाएका छन् । उम्मेदवारहरू जनता रिजाउन फेरि गाउँगाउँ र टोलटोलमा पसेका छन् । जुन दलका उम्मेदवार भएपनि उनीहरू सबैका एजेन्डा र प्रतिबद्धता लगभग उस्तै छन् । पूर्वाधार विकासलाई बढी जोड दिएका उम्मेदवारहरूको चासो सामाजिक मुद्दामा भने निकै कम देखिन्छ । लोकप्रियता कमाउने ध्याउन्नमा उम्मेदवारहरूले पूरा गर्न सम्भव नभएका योजनालाई प्रतिबद्धतामा समेट्ने गरेको कतिपय मतदाताको भनाइ छ ।

नेताहरूले हरेक चुनावमा ठूलठूला विकास योजना अघि बढाउने प्रतिबद्धता जनाउने गरेका छन् । तर सोहीअनुसारको काम नहुने गरेको देखिन्छ । पछिल्लो तीन दशकदेखि लगातार चुनाव लडिरहेकाहरूले समेत उनै र उस्तै एजेण्डा लिएर जनतामाझ जाने गरेका छन् । नेताहरूले पूरा गर्नलाई भन्दा चुनाव जित्नलाई मात्रै प्रतिबद्धता जनाउने गरेका छन् । प्रदेशसभा सदस्य वा प्रतिनिधिसभा सदस्यका रूपमा उनीहरूको मुख्य भूमिका कानुन निर्माणमा हुन्छ । संसद्मा सक्रिय भूमिका निर्वाह गरेर आवश्यक कानुन निर्माणको प्रमुख दायित्व हुने सांसदका उम्मेदवारहरू झुठा आश्वासन बाँडेर मतदतालाई झुक्याउन उद्यत देखिन्छ । यसले पछिल्लो समय जनता आजित भइसकेका छन् । उम्मेदवारले आफ्नो भूमिका, जिम्मेवारी र गर्नसक्ने कामसहितका योजना र एजेण्डा मतदातामाझ लैजानुपर्ने हुन्छ । निर्वाचन केवल व्यक्ति छनोटको प्रक्रिया मात्रै नभएर नीति, योजना, कार्यक्रम र नेतृत्व छनोटको अवसर हो । यसलाई दुरूपयोग गर्नु हुँदैन ।

प्रकाशित मितिः   ३१ आश्विन २०७९, सोमबार ०५:०३