प्रत्यक्षमा महिलालाई उपेक्षा

ठूला दलबाट प्रत्यक्षतर्फ चुनाव लड्ने मौका पाएनन् महिलाले

सुर्खेत: आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ आइतवार उम्मेदवारहरूको मनोनयन दर्ता भइसकेको छ । मनोनयन दर्ताको विवरण हेर्दा महिलाको संख्या निकै कम देखिएको छ । मुख्य राजनीतिक दलहरूमा महिला उम्मेदवारको हिस्सा नगन्य छ । सत्तारुढ गठबन्धन र नेकपा (एमाले) ले कर्णाली प्रदेशसभाका प्रत्यक्षतर्फका २४ मध्ये एक सीटमा पनि महिलालाई टिकट दिएका छैनन् । सत्तारुढ गठबन्धनबाट कर्णालीमा एक जना महिलाले मात्रै प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ टिकट पाएकी छन् । जुम्लामा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले गठबन्धनबाट मनोनयन दर्ता गरेकी हुन् । नेकपा (एमाले)ले भने प्रतिनिधिसभाका १२ सीटमा एक जना महिलालाई पनि उम्मेदवार बन्ने अवसर दिएको छैन ।

कर्णालीमा प्रदेशसभा सदस्यका लागि सत्तारुढ गठबन्धन र नेकपा (एमाले)बाट प्रत्यक्षतर्फ महिला उम्मेदवार शून्य, प्रतिनिधिसभाका लागि जुम्लामा गठबन्धनबाट एक जना महिलाको मनोनयन दर्ता

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दैलेख क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यमा कुन्ति शाहीको उम्मेदवारी परेको छ । उक्त दलले प्रदेशको प्रत्यक्ष निर्वाचनमा पनि केही क्षेत्रमा महिलाहरूलाई उम्मेदवार बनाएको छ । कर्णालीमा प्रत्यक्ष अर्थात् पहिलो हुने निर्वाचन प्रणालीका लागि प्रतिनिधिसभाका १२ र प्रदेशसभाका २४ वटा सीट छन् । तीमध्ये निकै थोरै स्थानमा मात्रै महिलाले चुनाव लड्ने मौका पाउने भएका छन् । कर्णाली प्रदेशसभाको पहिलो कार्यकालमा पनि १३ जना महिला सांसद रहेकोमा ती सबै समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएर आएका थिए । २०७४ को निर्वाचनमा पनि कर्णालीमा मुख्य दलले महिलालाई प्रत्यक्षतर्फ चुनाव लडाएका थिएनन् । यसपटक पनि प्रदेशसभामा आउने सबैजसो महिला सांसद समानुपातिकतर्फको हुने निश्चित प्रायः छ ।

खासगरी मुख्य राजनीतिक दलहरूले प्रत्यक्ष निर्वाचनका लागि महिलाहरूको नाम सिफारिस नै कम गरेका थिए । छिटफुट निर्वाचन क्षेत्रबाट महिलाका नाम सिफारिसमा परेपनि पार्टी केन्द्रले टिकट भने पुरुषकै नाममा पठाएका हुन् । कर्णालीमा माओवादी केन्द्रले प्रतिनिधिसभामा एक जना महिला उम्मेदवारको मनोनयन दर्ता गरेपनि अन्य ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले एक जनालाई पनि उम्मेदवारमा अघि बढाएका छैनन् । आउँदो मंसिरमा हुने संसदीय निर्वाचनमा सत्ता गठबन्धन र नेकपा (एमाले) बीच नै मुख्य चुनावी प्रतिस्पर्धामा हुने देखिन्छ । जसले गर्दा साना दलबाट उम्मेदवार बनेका महिलाहरू पनि निर्वाचित हुने कमै सम्भावना छ ।

प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा सत्ता गठबन्धन र नेकपा (एमाले) बाट मनोनयन दर्ता गर्ने सबै पुरुष छन् । नेकपा (एमाले) ले सुर्खेत क्षेत्र नं. १ मा प्रतिनिधिसभाका लागि दुई जना पुरुष र एक जना महिलाको नाम सिफारिस गरेको थियो । टिकट भने पुरुषकै नाममा आयो । त्यहाँ निर्वतमान प्रतिनिधिसभा सदस्य धुव्रकुमार शाही, शान्ति छन्तेल र चन्द्रलाल पौडेलको नाम सिफारिस गरिएकोमा शाहीले टिकट पाएका हुन् । त्यस्तै, नेकपा (एमाले)बाट प्रतिनिधिसभा क्षेत्र नंंं. २ मा एक जना महिलासहित तीन जनाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको थियो । जिल्ला पार्टी अध्यक्ष अमृतबहादुर विसी, उपाध्यक्ष कुलमणि देवकोटा र जिल्ला कमिटी सदस्य तुल्सी कँडेल सिफारिसमा परेपनि विसीले टिकट पाए । सुर्खेत क्षेत्र नं. १ प्रदेशसभा ‘ख’ बाट नेपाली कांग्रेसले प्रत्यक्षतर्फ सात जना उम्मेदवारको नाम सिफारिस गर्दा निवर्तमान प्रदेशसभा सदस्यसमेत रहेकी अमृता शाहीलाई उम्मेदवार सिफारिस गरेको थियो । उनले अन्तिममा टिकट पाइनन् । उक्त क्षेत्र गठबन्धनको भागबण्डा हुँदा माओवादी केन्द्रले लियो । माओवादी केन्द्रका कृष्ण जिसी (जितेन्द्र) ले टिकट पाए । यस्तै, माओवादी केन्द्रले सुर्खेत क्षेत्र नं. २ प्रदेशसभा ‘ख’ मा पञ्चा सिंहको नाम उम्मेदवारमा सिफारिस गरेको थियो । उनको नाम सिफारिसमै सीमित भयो । सो क्षेत्रबाट निवर्तमान प्रदेशसभा सदस्य बिन्दमान विष्टले दोस्रो पटक पनि टिकट हात पारे ।

दैलेखमा प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार वटा निर्वाचन क्षेत्रमा गठबन्धन र नेकपा (एमाले) बाट मनोनयन दर्ता गराउनेमा सबै पुरुष छन् । उक्त जिल्लामा पनि प्रमुख राजनीतिक दलबाट महिलाको नाम सिफारिसमा परेपनि टिकट भने नदिइएको हो । एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभाका निर्वाचन क्षेत्र रहेको कालीकोटमा ठूला दलबाट एक जना महिलाको पनि मनोनयन दर्ता भएको छैन । सल्यानमा एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभाका निर्वाचन क्षेत्र छन् । सत्ता गठबन्धन र नेकपा (एमाले) ले यी तीन वटै क्षेत्रमा तीनै जना पुरुषलाई उम्मेदवार बनाएको छ । सल्यानमा गठबन्धनबाट प्रतिनिधिसभातर्फ नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वाला, प्रदेशसभा ‘क’ मा नेकपा (माओवादी केन्द्र) का भिमप्रकाश शर्मा र प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका सुरेश अधिकारीको उम्मेदवारी परेको छ । नेकपा (एमाले) ले पनि तीन वटै क्षेत्रमा पुरुषलाई नै उम्मेदवारका लागि अघि बढाएको छ ।

प्रतिनिधिसभाको एक र प्रदेशसभाका दुई निर्र्वाचन क्षेत्र रहेको डोल्पामा नेकपा (एमाले) ले तीन वटै सीटमा पुरुषको मनोनयन दर्ता गराएको छ । सो पार्टीले डोल्पामा प्रतिनिधिसभातर्फ बद्मी क्वारी बोहोरालाई सिफारिस गरेपनि उनले अन्तिममा टिकट भने पाइनन् । त्यस्तै, रुकुम–पश्चिममा सत्ता गठबन्धनका दल र नेकपा (एमाले) ले महिला उम्मेदवार बनाएका छैनन् । सत्ता गठबन्धनका दलहरूले एक्लाएक्लै उम्मेदवारी दर्ता गर्दासमेत एक जना महिलाको पनि मनोनयन दर्ता भएको छैन । हुम्ला र जाजरकोटमा पनि ठूला राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभातर्फ एक जना महिलाको पनि मनोनयन दर्ता गराएका छैनन् । कर्णालीमा मात्र नभइ संसदीय निर्वाचनको देशभरकै उम्मेदवारीको तथ्यांक हेर्दा यसपटक पनि महिलाहरू आरक्षित कोटामा मात्रै सीमित हुने देखिएको छ । संविधानले प्रतिनिधिसभा र प्रदेशसभामा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । आइतवार मनोनयन गराएका उम्मेदवारमध्ये १० प्रतिशत पनि महिला छैनन् । मुख्य राजनीतिक दलहरूले महिलालाई टिकट दिन कन्जुस्याइँ गरेका छन् ।

प्रकाशित मितिः   २५ आश्विन २०७९, मंगलवार ०५:०५