निर्णयकर्ता मतदाता

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आइतवार निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गरिएको हो । देशभर प्रतिनिधिसभाका एक सय ६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका तीन सय ३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता सुरु भएको थियो । आयोगका अनुसार प्रतिनिधिसभातर्फ कूल दुई हजार पाँच सय दुई जनाले मनोनयन दर्ता गरेका छन् । जसमा पुरुष दुई हजार दुई सय ६९ जना छन् भने महिलाको संख्या दुई सय ३३ मात्रै छ । यसैगरी प्रदेशसभातर्फ कूल तीन हजार चार सय ३६ जनाको मनोनयन दर्ता हुँदा पुरुषको संख्या तीन हजार एक सय ३९ र महिला दुई सय ९६ रहेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ उम्मेदवारी दिने महिलाको संख्या अत्यन्तै न्यून देखिएको छ ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा उम्मेदवारी दिने दलहरूमा कांग्रेस, एमाले, माओवादी, जसपा, लोसपा, राप्रपा, राप्रपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, जनमुक्ति पार्टी, जरोकिलो पार्टी, कांग्रेस बीपीलगायत छन् । यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा मूलतः कांग्रेस र एमालेले आ–आफ्नै गठबन्धन बनाएका छन् । कांग्रेसले माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चासँग गठबन्धन गरेर उम्मेदवारी दिएको छ । एमालेले राप्रपा, राप्रपा नेपाल र जसपासँग तालमेल गरेर उम्मेदवारी दिएको छ । तर, देशका विभिन्न ठाउँमा कांग्रेस, एमाले, माओवादी र जसपाबाट बागीसमेत उठेका छन् । उम्मेदवारी मनोनयन दर्तासँगै उम्मेदवारहरू चुनावी प्रचारका लागि जुटेका छन् । यद्यपि, उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक हुन भने बाँकी नै छ ।

उम्मेदवारहरूको सूचि हेर्दा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् । थोरै संख्यामा नयाँ अनुहार छन् । २०४८ देखि निरन्तर चुनाव लड्नेहरू पनि सातौं पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पुरानै अनुहारलाई मतदाताले अनुमोदन गर्छन् या गर्दैनन् त्यो भने निर्वाचनको परिणामले देखाउनेछ । अब मत माग्न उम्मेदवारहरू गाउँ–टोल र मतदाताका घरघरसम्म पुग्नेछन् । आफ्नो योजना र आश्वासन बाँड्नेछन् । यतिबेला मतदाताहरूले उम्मेदवारहरूलाई परीक्षण गर्नुपर्ने समय आएको छ । सक्षम उम्मेदवार छान्ने दायित्व मतदाताको हो । सक्षम प्रतिनिधिको छनोटले मात्रै नीति निर्माणमा होस् या सरकार सञ्चालनको भूमिकामा योग्य व्यक्ति पुग्न सक्दछन् । कस्ता उम्मेदवारलाई निर्वाचित गराउने भन्ने निर्णयकर्ता भने आम मतदाता नै हुन् ।

प्रकाशित मितिः   २५ आश्विन २०७९, मंगलवार ०५:०३