पाँच सय बढीमा डेंगी संक्रमण

सुर्खेत: कर्णालीमा डेंगी संक्रमितको संख्या पाँच सय नाघेको छ । प्रदेशमा १० वटै जिल्लामा डेंगीको संक्रमण फैलिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको पछिल्लो विवरणअनुसार डेंगी भाइरल ज्वरोबाट प्रदेशभर पाँच सय ४१ जना संक्रमित भएका छन् । सुर्खेत र त्यसमा पनि वीरेन्द्रनगर डेंगी संक्रमणको उच्च जोखिममा छ । सबैभन्दा धेरै डेंगीका संक्रमित वीरेन्द्रनगरमा भेटिएका छन् । सुर्खेतमा चार सय २२ जनामा संक्रमण देखिएको छ । त्यस्तै, जुम्ला र सल्यान २२÷२२ जना, कालीकोट २१ जना, रूकुमपश्चिम १८ जना, दैलेख १४ जना, हुम्ला र डोल्पामा एक–एक जना, मुगुमा आठ जना र जाजरकोटमा १२ जनामा संक्रमण पुष्टि भएको हो । निर्देशनालयका डेंगी रोग नियन्त्रण फोकलपर्सन श्याम आचार्यले वीरेन्द्रनगर क्षेत्र डेंगी संक्रमणको रेडजोनमा रहेको बताए । उनका अनुसार वीरेन्द्रनगरमा हालसम्म दुई सयभन्दा बढीलाई डेंगी संक्रमण भेटिएको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगी नियन्त्रणका लागि उपचार र आवश्यक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मितिः   १४ आश्विन २०७९, शुक्रबार ०७:५५