पाँच वर्षमा बदलिएको शक्ति सन्तुलन
२०७४ लाई फर्केर हेर्दा
संघीयताको कार्यान्वयनसँगै नेपालमा पहिलो पटक २०७४ सालमा तीन तहको निर्वाचन भयो । मुगुमा नेपाली कांग्रेसले तीन स्थानीय तह जितेर पहिलो दल बन्यो । तर दुई ठूला दल नेकपा (एमाले) र माओवादी केन्द्रबीच गठबन्धन भएपछि प्रतिनिधि सभा र प्रदेश सभातर्फ भने कांग्रेस नतिजाशून्य भयो ।
स्थानीय चुनावमा एउटा मात्रै पालिका जितेको एमालेले माओवादीको साथ पाएपछि प्रतिनिधि सभासहित प्रदेश सभाका दुई वटै निर्वाचन क्षेत्रको नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । पालिका प्रमुख तथा उपप्रमुख जित्न नसकेको माओवादी प्रदेश र प्रतिनिधि सभामा एमालेको सहयोगी बन्यो । प्रतिनिधि सभा सदस्यमा एमालेका गोपालबहादुर बम विजयी भए । उनले १३ हजार ३४ मत पाउँदा कांग्रेसका हस्तबहादुर मल्लले नौ हजार आठ सय ६१ मत पाएका थिए ।
पहिलो पटक भएको प्रदेश सभा सदस्य निर्वाचनमा पनि जिल्लाका दुई वटै क्षेत्रमा एमालेले बाजी मा¥यो । क्षेत्र नं. १ (क) मा दानसिंह परियारले पाँच हजार ६ सय ५३ पाएर विजयी हुँदा कांग्रेसका तिलकबहादुर मल्लले पाँच हजार दुई सय ९९ मत पाएका थिए । निर्वाचन क्षेत्र नं. १ (ख) मा एमालेकै चन्द्रबहादुर शाही निर्वाचित भए । उनले ६ हजार आठ सय ४५ मत पाए । निकटम् प्रतिद्वन्द्वी कांग्रेसका खड्ग शाहीले चार हजार ६ सय १२ मत पाए ।
२०७९ मा आइपुग्दा
स्थानीय तहले गत वैशाखमा भएको निर्वाचनबाट नयाँ जनप्रतिनिधि पाइसकेका छन् भने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आगामी मंसिर ४ गते एकैचरणमा निर्वाचन हुँदैछ । आगामी निर्वाचनको नतिजा आँकलन गर्न २०७४ को निर्वाचनलाई फर्केर हेरिसकेपछि वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको नतिजालाई पनि हेर्नुपर्ने हुन्छ ।
यसपटकको स्थानीय निर्वाचनमा भने दलहरूबीच गठबन्धन बन्यो । मुगुका चार पालिकामध्ये दुई वटामा नेपाली कांग्रेसले जित हात पार्दा माओवादी र एकीकृत समाजवादीले एक/एक पालिका जितेका छन् । एमालेले स्थानीय निर्वाचनमा कुनै पनि पालिका जित्न सकेन । यसहिसाबले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धन कायम रहँदा मुगुमा गठबन्धन नै बलियो हुन्छ, एमाले कमजोर अवस्थामा देखिन्छ ।
प्रतिनिधि सभाको परिदृष्य
प्रतिनिधि सभातर्फ मुगुमा एउटै निर्वाचन क्षेत्र हो । अघिल्लो पटक एमालेबाट प्रतिनिधि सभा सदस्य जितेका गोपालबहादुर बम यतिखेर भने एमालेमा छैनन् । उनी एमालेबाट टुक्रिएर बनेको नेकपा (एकीकृत समाजवादी) मा छन् । बम यसपटक पनि प्रतिनिधि सभा सदस्यका सम्भावित उम्मेदवार हुन् । पार्टीले उनलाई प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको छ ।
एमालेले पूर्वमन्त्री मोहन बानियाँलाई उम्मेदवार सिफारिस गरेको छ । २०७४ मा भने उनी मानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य भएका थिए । त्यसअघि २०७० मा उनी संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । यसपटक भने प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् ।
नेपाली कांग्रेसले जिल्ला पार्टी सभापति ऐनबहादुर शाहीलाई प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ ।
जिल्लामा जनमत कमजोर रहेको नेकपा (माओवादी केन्द्र) ले भने प्रतिनिधि सभामा बलियो दाबी गरेको छैन । त्यसैले प्रतिनिधि सभा सदस्यका लागि सत्तारुढ गठबन्धनभित्र कांग्रेस र समाजवादीबीच प्रतिस्पर्धा हुनेछ । अघिल्लो पटक जसले जितेको छ, त्यहाँ सोही दललाई दिने समझदारी बनेमा भने मुगुबाट गठबन्धनको उम्मेदवार निवर्तमान प्रतिनिधि सभा सदस्य गोपालबहादुर बम नै हुनेछन् । उनको प्रतिस्पर्धा एमाले उम्मेदवार मोहन बानियाँसँग हुनेछ ।
स्थानीय निर्वाचनको मतलाई आधार मान्ने हो भने मुगुमा सत्तारुढ गठबन्धनको मत १६ हजार पाँच सय ६१ छ भने एमालेको मत नौ हजार आठ सय ५१ मात्रै छ । झन्डै दोब्बर मत भएको गठबन्धनसँगको प्रतिस्पर्धामा जित निकाल्न एमालेलाई निकै कठिने हुनेछ । गठबन्धन भने सहज अवस्थामा छ ।
प्रदेशको हिसाबकिताब
प्रदेश सभातर्फ जिल्लाका दुई वटै निर्वाचन क्षेत्रमा पनि सत्तारुढ गठबन्धन नै बलियो अवस्थामा छ । क्षेत्र नं. १ (क) मा रहेका दुई पालिकामध्ये मुगुम कार्मारोंग गाउँपालिका गठबन्धनबाट नेपाली कांग्रेसले जितेको छ । भने छायानाथ रारा गाउँपालिका कांग्रेस एक्लैले जितेको छ । दुवै स्थानीय तहमा एमाले दोस्रो स्थानमा छ । यद्यपि, गठबन्धनको मत जोड्दा भने एमालेको भन्दा निकै धेरै हुनजान्छ । सो क्षेत्रमा स्थानीय चुनावमा पालिका प्रमुखले पाएको मतअनुसार गठबन्धनको मत सात हजार चार सय ५० छ । एमालेको पाँच हजार तीन सय ४१ छ ।
यो क्षेत्रका लागि एमालेले जितबहादुर मल्ल, पूर्णबहादुर रोकाया, कृष्णबहादुर सेजुवाल र खिउली भामलाई उम्मेदवार सिफारिस गरेको छ । अघिल्लो पटक निर्वाचित दानसिंह परियार यसपटक प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतपर्फ सिफारिस भएका छन् ।
कांग्रेसबाट खगेन्द्रबहादुर मल्ल, हरिजङ्ग शाही र तिलकबहादुर मल्ल सिफारिसमा परेका छन् । माओवादीले केवल मल्लको नाम पठाएको छ । गठबन्धनको अर्को घटक एकीकृत समाजवादीले भने तीन जनाको नाम सिफारिस गरेको छ । चन्द्र बुढा, पारशमणी मल्ल र अछामपुरा भामलाई सिफारिस गरिएको हो ।
प्रदेश सभा क्षेत्र नं. १(ख) मा पनि गठबन्धन नै अगाडि देखिन्छ । वैशाखमा भएको स्थानीय चुनावमा यो क्षेत्रमा रहेका दुई वटा पालिकामध्ये सोरु गाउँपालिकामा गठबन्धनसहित एकीकृत समाजवादीले जितेको छ । खत्याड गाउँपालिका माओवादी केन्द्रले जितेको छ । दुवै पालिकाका प्रमुखहरूले पाएको मतअनुसार सत्तारुढ गठबन्धको नौ हजार एक सय २१ मत छ । एमालेको जम्मा चार हजार पाँच सय १० मत मात्रै छ ।
दोब्बरभन्दा बढी मतले अघि रहेको गठबन्धनविरुद्ध एमालेका उब्बजनबहादुर शाही, राजबहादुर कार्की, कर्णबहादुर मल्ल र मथुरा कार्कीमध्ये एक जनाले प्रतिस्पर्धा गर्नेछन् । पार्टीले चारैजनालाई उम्मेदवारका लागि सिफारिस गरेको छ ।
कांग्रेसबाट पनि तीन जनाको नाम सिफारिस भएको छ । खड्कबहादुर शाही, रतनबहादुर शाही र लेकविक्रम शाहलाई प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको हो । सत्तारुढ गठबन्धनभित्र माओवादी केन्द्रले पनि दाबी गरेको क्षेत्र हो, यो ।
मुगुमा माओवादीले दाबी गरेको क्षेत्र हो, यो । यसले केन्द्रीय सदस्य मंगलबहादुर शाहीसहित चार जनाको नाम उम्मेदवारका रूपमा अघि सारेको छ । बर्खबहादुर थापा, शुकवीर बुढा र कालिबहादुर रावललाई पनि सिफारिस गरिएको हो ।
एकीकृत समाजवादीले जयानन्द रावल, जर्मन नेपाली र नरजित विकलाई उम्मेदवार सिफारिस गरेको छ । अघिल्लो पटक यही क्षेत्रबाट निर्वाचन एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यसमेत रहेका चन्द्रबहादुर शाहीको नाम भने सिफारिस गरिएको छैन । यद्यपि सत्तागठबन्धनमा भागबण्डा हुँदा यो क्षेत्र समाजवादीको भागमा परेको खण्डमा शाही नै उम्मेदवार हुने नेताहरू बताउँछन् । समाजवादीले मुगुबाट प्रतिनिधि सभामा बलियो दाबी गरेकाले प्रदेशको भागबण्डा टुँगिएपछि मात्रै उम्मेदवारको हुने भनेर निक्र्यौल गर्ने तयारी गरेको छ । सिफारिसमा अन्य तीन जना परेपनि भागबण्डामा समाजवादीले पाए कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शाही नै उम्मेदवार हुनेछन् ।
भिडियोसहित
प्रकाशित मितिः १० आश्विन २०७९, सोमबार १६:५८
नमराज उपाध्याय ।